काठमाडौँ । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत छ ।
गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमान्ले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा झल्काउन खोजिएको छ । गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ ।
भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ नै भिडियोले झन् पीडा देखाएको छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरेको बताउँछन् ।
फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन् । उनले ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए । उनले भने, ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई फिल्मले अन्त्य गर्छ ।’
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्म बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले मिलेर गर्दैछन् ।
प्रतिक्रिया