बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव

‘पार्टी एकतामा माओवादीबाट अलमल’
बिहीबार, १० माघ २०८१, १९ : ००
बिहीबार, १० माघ २०८१

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कुनैबेला बन्दुककै नालबाट राज्यसत्ता कब्जा गर्ने सोच्थे । तर, बिस्तारै उनको सोचमा परिवर्तनमात्र आएको छैन, संसदीय राजनीतिमै भाग लिएर देशको नेतृत्वमा पुग्ने सपना बोकेका छन् ।

उनको हातमा अहिले बन्दुक हैन, कोदालो छ । उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइ समाजवादको यात्रामा हिँड्ने बताउँछन् उनी । जनता आत्मनिर्भर नभइ आर्थिक समृद्धि नआउने उनको भनाइ छ । त्यसैले आत्मनिर्भरताका लागि आफैँबाट पहल सुरु गर्नुपर्छ भन्ने उद्देश्यले देशका विभिन्न भागमा गरी झण्डै ३०० बिघा जमिनमा उनले खेती गरिरहेका छन् । आफ्नो पार्टी तीन वर्षभित्र आत्मनिर्भर बन्ने उनको दाबी छ ।

केही दिनअघि सुर्खेत आउँदा रातोपाटीसँगको कुराकानीमा विप्लवले आफ्नो पार्टीमा मागेर खाने प्रवृत्ति हट्दै गएको बताए । अब आर्थिक समृद्धिका लागि नयाँ सोच र मार्ग आवश्यक रहेको प्रस्ट पार्दै उनले आगामी चुनावमा आफ्नो पार्टी पनि सहभागी हुने जानकारी दिए ।

चुनावको तयारीकै क्रममा उनी ‘बुद्धिजीवीसँग विप्लव’, ‘विप्लवसँग विद्यार्थी’ देखि कृषि अभियानका कार्यक्रम लिएर देशका विभिन्न ठाउँमा पुग्ने गरेका छन् । कार्यक्रमा उनी ‘नेपालको अर्थ राजनीतिक संकट र निकास’ का विषयमा बहस गर्छन् । जनताको चाहना बुझ्छन् ।

केही दिनअघि विप्लव कर्णालीका बौद्धिक वर्गसँग अन्तरक्रिया गर्न सुर्खेत आएका थिए । त्यही बेला उनीसँग रातोपाटीका लागि पंखबहादुर शाहीले समसामयिक विषयमा  कुराकानी गरेका छन् ।

प्रस्तुत छ– विप्लवसँग गरिएको कुराकानीको सम्पादित अंशः      

  • समाजवादी मोर्चा र पार्टी एकताको विषयबाट, तपाईंहरू माओवादीसँग कहिले मिल्दै हुनुहुन्छ ?

— अहिले हामी समाजवादी मोर्चामै छौँ । बैठकहरू बस्ने काम भइरहेको छ । तपाईं आउनुअघि (अन्तरवार्ता अघि) मात्रै मोर्चाको कर्णाली प्रदेशस्तरीय बैठक बस्यौँ । कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइसकेकै छ । आगामी कार्यक्रम कसरी गर्ने भन्ने विषयमा पनि छलफल चलेकै छ । साथै मोर्चाको नेतृत्व प्रणालीको विषयमा पनि समीक्षा भइरहेको छ ।

यद्यपि, एकतामा केही अलमल हुनुका साथै केही कमी–कमजोरी छन् । जुन गतिमा हामीले मोर्चालाई अगाडि बढाउन सक्नुपर्थ्यो, त्यो अनुसार गर्न सकेको अवस्था छैन ।

  • एकताको विषयमा अलमल कहाँ भयो ?

—अहिले समग्रमा मोर्चाकै तर्फबाट कमजोरी भए भन्ने छ । यद्यपि, मसिना कुरा पूरा गर्न बाँकी छ । अहिले सबै ‘पोजेटिभ’ कुरा भइरहेको अवस्था हो । निष्कर्ष आउला ।

  • पार्टी एकताका लागि कुरा नमिलेको ठ्याक्कै कुन विषयमा हो ? सोच, विचार वा साङ्गठनिक परिचालन, केमा कुरा मिलेन ?

—साङ्गठनिक परिचालनमा हो । बाँकी विषयमा खासै समस्या छैन । १५ गते हाम्रो काठमाडौँमा एउटा अन्तरक्रिया पनि छ । त्यसपछि हामी अरु कार्यक्रम अगाडि बढाउने छौँ । यद्यपि, तपाईंले भनेजस्तै केही समस्या छन् । ती मिल्दै जान्छन् भन्ने लाग्छ । सबै मिल्दै जाने, सहकार्य गर्दै जाँदा कम्युनिस्ट पार्टीहरूबिच एकता गर्ने उद्देश्य हामीले कायम राखेको हो ।

  • तपाईंको सुरुवाती पार्टी एकता त माओवादीसँग हो भन्ने सुनिन्छ, तर तपाईंले केन्द्रीय कमिटीको संख्या बढाएकाले नेताहरूको व्यवस्थापनमा समस्या भएर एकता प्रक्रियामा ढिलाइ भएको भन्ने सुनिन्छ नि ?

—त्यस्तो हैन । सङ्गठनात्मक क्षेत्रमा प्रस्टै भइसकेको अवस्था छैन । हामीले तीन वटा विषयमा छलफल गरिरहेका छौँ । एउटा राजनीतिक विचार, दोस्रो कार्यदिशा र तेस्रो सङ्गठनात्मक व्यवस्थापन । यसमा हामीभन्दा पनि बढी अलमल माओवादीमा देखिएको छ ।

  • त्यो अलमल प्रचण्डबाट वा माओवादीका अन्य नेताहरूबाट भएको हो ?

— नेतृत्वमा भएका कारण प्रचण्ड कमरेडले त्यसलाई एकीकृत र केन्द्रीकृत गर्न नसकेको देखिन्छ । खैर, त्यो उहाँहरूको कुरा हो । हामीले त एकताका लागि केन्द्रीय कमिटीबाट पास नै गरेर आएको हो । अहिले उहाँहरू पनि छलफल गर्दै हुनुहुन्छ । राम्रै होला भन्ने लाग्छ ।

नेपाललाई आफ्नै शक्ति, आफ्नै खुट्टामा उभ्याउने चाहना छ । नयाँ राज्य व्यवस्था निर्माण गरी समाजवादी यात्रामा देशलाई अगाडि बढाउने चाहना हो । त्यसका लागि हामीले सबैखाले प्रयत्न गरेका छौँ ।
  • एकता–एकता भनेको धेरै समय भइसक्यो, अब एकता हुन कति समय लाग्छ ? ०८४ को चुनावभन्दा अघि वा पछि ? तपाईंहरूबिच केही समयसीमा त होला नि ?

—हाम्रो एकता पहिला माओवादीसँगै हो । यदि माओवादी पार्टीभित्र जिम्मेवारीपूर्वक छलफल भयो र एकीकृत बुझाइ बन्यो भने ०८४ भन्दा अगाडि नै एकता हुन सक्छ । त्यसो नभएको खण्डमा मोर्चामार्फत काममा जाने र एकताको विषयलाई निरन्तर छलफलमा राखिराख्ने पनि हुन सक्छ ।

हाम्रो जोड त ०८४ अघि नै एउटा निष्कर्षमा पुगौँ भन्ने हो ।

  • तपाईंको पार्टी चुनावमा पनि जाने कुरा गरिरहेको छ, ०८४ अघि नै माओवादीसँग एकता गरेर चुनावमा जाने होइन ?

— त्यो हो । चुनावसँगै एउटा उद्देश्य पनि छ– राजनीतिक रूपले समाजवादी यात्रा तय गर्ने ।

समाजवादी उद्देश्यतर्फ देशलाई मोड्ने अनि माओवादी र कम्युनिस्टहरूलाई नयाँ राजनीति प्रस्तावमा हिँडाउने सोच हो ।

  • त्यो सम्भव छ ?

— सम्भव हुने भएरै हामी लागेको हो ।

  • पछिल्लो समय तपाईं उत्पादन अभियानमा लाग्नुभएको छ । सबैले प्रशंसा गरिरहेका बेला तपाईंसँगै रहेका धर्मेन्द्र बास्तोलाले त विप्लवले पार्टीलाई जोगीको हण्डी अर्थात् मागीखाने भाँडो बनाए भन्ने टिप्पणी गरेछन् नि !

— उहाँको कुरै नगरौँ, उहाँलाई नेपाली क्रान्तिको बारेमा खासै ज्ञान पनि छैन । उहाँसँग पनि जमिन छ । श्रीमतीको नाममा पनि राख्नुभएको छ । धेरै गैर–जिम्मेवार कुरा हो ।

  • उहाँसँग एकता गर्ने योजना छ ?

—हामीले समाजवादलाई केन्द्रमा राखेर माओवादीहरूलाई एबताबद्ध गरेर जानुपर्छ भनेका हौँ । तर उहाँहरू बिचमा हामीलाई छाडेर जानुभयो । गइसकेपछि पनि बिचमा कुरा भएको हो । छलफल ठिकै भएको थियो । आउनुहोस्, एकीकृत भएर गए हुन्छ, समय र क्षमतालाई खेर नफालौँ भनेर मैले नै भनेको हो । तर उहाँहरू किरण (मोहन वैद्य) कमरेडतिर जानुभयो । अहिले फेरि अलग्गै हुनुहुन्छ । बाँकी कुरा उहाँहरूको हो ।

  • अहिले तपाईंहरू पूर्ण रूपमा कृषि क्रान्तिमा लागेको देखिन्छ, यो वर्ष कति उत्पादन गर्नुभयो ?

—आत्मनिर्भरतालाई सबैले आत्मसात् गरौँ भन्ने उद्देश्यसहित हामीले कृषि क्रान्तिलाई अगाडि बढाएको हो । तीन वर्षभित्र हामीले पार्टीलाई चन्दामुक्त बनाउने लक्ष्य छ । कम्तीमा खान र बस्नका लागि चन्दा माग्ने काम अन्त्य गरिन्छ । हामी अहिले पूर्ण रूपमा उत्पादनमा केन्द्रित छौँ । डेढ वर्षकै अवधिमा हामीले खानेभन्दा धेरै उत्पादन गरिसकेका छौँ । माघ महिनाभित्रै काठमाडौँमा ‘सी व्यापार केन्द्र’ पनि खोल्दैछौँ । उत्पादन भएको खाद्यान्न हामी बिक्री गर्छौं । झण्डै तीन सय बिघा जमिनमा हामीले खेती गरिरहेको अवस्था छ । अझै थपिनेक्रम जारी छ । विद्यालय तथा क्याम्पसहरूले पनि बाँझो रहेको जमिन प्रयोग गर्ने भए दिन्छौँ भनेका छन् । हामी त्यसमा पनि खेती गर्नेछौँ । १०० बिघाभन्दा बढीमा १७ सय क्वीन्टल धान उत्पादन गरेका थियौँ । त्यसमा दाल, महदेखि गार्मेन्ट उद्योग पनि खोलिएको छ । सबै नाफामै छ ।

अहिले हाम्रो झण्डै १ करोड बराबरको आलु उत्पादन हुने देखिन्छ । विनोद चौधरीजीले हाम्रो आलु किन्ने भन्नुभएको छ । हामी उत्पादनलाई हरेक वर्ष बढावा दिने र आत्मनिर्भर बन्ने अभियानमा सक्रिय छौँ । यसले सबैतिर सकरात्मक सन्देश पनि दिएको छ ।

  • विप्लव भन्ने बित्तिकै बन्दुक, क्रान्तिसँग जोडिने नाम हो । अहिले सर्लक्कै कृषि उत्पादनमा रमाइरहनु भएको छ । बौद्धिक वर्गसँग पनि छलफल गर्दै हिँड्नुभएको छ । हिजो बन्दुकसँगको लडाइँ र आजको अवस्थामा के फरक रहेछ ? एक्कासी रुपान्तरण कसरी सम्भव भयो नि ?

—बन्दुक बोके पनि, उत्पादन गरे पनि, व्यापार गरे पनि, उद्योग खोले पनि उद्देश्य एउटै हो–समाजवाद ल्याउने ।

अहिले अस्थिरता, अराजकता, परनिर्भरता जो छ, यसलाई हामीले अन्त्य गर्न चाहेको हो । त्यसको निकास वैज्ञानिक समाजवाद हो । तर वैज्ञानिक समाजवादमा पुग्नुभन्दा पहिले यदि सबै दलको बिचमा ‘समाजवाद’ भन्नेमा सहमत भइन्छ भने नेपाली विशेषताको समाजवाद ल्याउँ न भन्ने हाम्रो तर्फबाट प्रस्ताव छ ।

नेपाललाई आफ्नै शक्ति, आफ्नै खुट्टामा उभ्याउने चाहना छ । नयाँ राज्य व्यवस्था निर्माण गरी समाजवादी यात्रामा देशलाई अगाडि बढाउने चाहना हो । त्यसका लागि हामीले सबैखाले प्रयत्न गरेका छौँ । जुन ठाउँमा राज्यलाई क्षति हुने, जनतालाई अन्याय हुने काम हुन्छ, त्यहाँ हाम्रो सङ्घर्ष पनि चलिरहेको छ । सङ्घर्षका क्रममा कहिलेकाहीँ हामीलाई उग्रवादी पनि भन्लान् । तर केवल सङ्घर्षको कुरामात्र होइन, आर्थिक मोर्चाबाट काम पनि अगाडि बढाएका छौँ । यो कुरा जनतालाई ठिकै लागिरहेको छ ।

हाम्रो देश कसैले अतिक्रमण गर्छ भने त्यतिबेला हामी प्रतिरोधपूर्ण सङ्घर्ष गर्न तयार छौँ । जनताका अधिकारहरू कुल्चिन्छन् भने त्यहाँ पनि प्रतिरोध हुन्छ । हामी सबै गर्न सक्छौँ । म युवाहरूलाई भन्न चाहन्छु । यो वर्ष हामी अनुसन्धान केन्द्र पनि खोल्ने तयारीमा छौँ । त्यहाँ युवाहरूले विभिन्न विषयमा अध्ययन, अनुसन्धान गर्न सक्ने छन् ।

कृषि, आधुनिक प्रविधिदेखि सबै क्षेत्रमा पार्टीलाई अब्बल बनाउँदै लगिने छ । हामीलाई यो देशमा केही गरेर देखाउने चाहना छ । मान्छेहरू देश खत्तम भयो भनेर भनिरहेका छन् । राम्रो वातावरणमा काम गर्न सक्यौँ भने देशलाई माथि उठाउन सकिन्छ भन्ने हाम्रो दृढ सङ्कल्प छ ।

  • तपाईंहरू चुनावमा पनि जाने कुरा गर्नुहुन्छ, संसदवादी हुन खोज्नु भएको हो ?

—कसैले उग्रवादी भन्लान्, कसैले संसदवादी भन्लान् । यी अलग–अलग कुरा हुन् । देशलाई निकास दिने, परिवर्तन गर्ने चाहना हो हाम्रो । जताबाट पनि हामीले हाम्रो देश र समाजलाई रुपान्तरण गर्ने हो । रुपान्तरणको आधार समाजवाद नै हो । हामीले सङ्घर्ष पनि गर्‍यौँ र अहिले सबै जनताका सुझाव सुनिसकेपछि एक पटक चुनावमा जाने निर्णय गरेको हो । तर यही संसदीय व्यवस्था पूर्ण रूपमा ठिक भन्ने कुरा होइन । कम्तीमा त्यो थलो (संसद्)मा समाजवादको बहस गर्ने चाहना हाम्रो हो । संसदमा केवल भागबण्डा लगाएर खाने, स्वार्थ पूरा गर्नेमात्र होइन, जनताको पक्षमा सुविधाहरूलाई रुपान्तरण गर्न सक्ने सम्भावना हुन्छ । त्यसका लागि हामी अब चुनावबाटै लडौँ भन्ने हो । हामीले पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउनुपर्छ । संसदमा जाने साथीहरूले पनि जनताको पक्षमा काम गर्नुपर्छ भनेर अगाडि बढेको हो ।

  • सबै खालका चुनावमा भाग लिने हो कि के हो ?

—सबै तहका चुनावमा हामी भाग लिने हो । जनयुद्ध लड्दा स्वायत्त प्रदेश र केन्द्रीय जनवादी सत्ता भन्ने थियो । अहिले सङ्घीयतासहितको समाजवाद हाम्रो उद्देश्य हो । समाजवादी सङ्घीयता राज्य प्रणालीको खाका हो ।

  • सबैजसो निर्वाचनमा भाग लिनका लागि उम्मेदवार पाउनुहुन्छ त ?

—हामीले उम्मेदवारनै नपाउने भन्ने हुन्छ त ! पुराना दल, पुराना नेताबाट देशको परिवर्तन होला भन्ने कुरामा मान्छेले सोच्न छाडिसके । केही महिना यतामात्र म देशका धेरै जिल्लामा पुगेँ । सबैतिर बुझ्दा मान्छेहरू अब पुरानो तरिकाले सोच्नेवाला छैनन् । ०८४ को चुनाव अर्कै तरिकाको हुन्छ ।

  • जुन उद्देश्यसाथ चुनावमा भाग लिने भन्नुभयो, परिणाम आफ्नो पक्षमा आउला भन्ने विश्वास छ ?

—निश्चित पनि । हामी एक पटक यो देशको नेतृत्व गर्न चाहन्छौँ । त्यो धेरै टाढाको विषय छैन ।

  • त्यो कसरी सम्भव छ ?

—सम्भवमात्र हैन, अपरिहार्य छ ।

  • यति ठुला पार्टीहरू त एक्लै चुनाव जित्न हम्मेहम्मे भएर गठबन्धन गर्ने, गठबन्धनबाटै राज्य चलाइरहेका छन् । तपाईं एकै पटक चुनावमा भाग लिएर देशको नेतृत्व गर्ने कुरा गर्नुहुन्छ, यो त अलि असम्भव कुरा हैन र ?

— असम्भव होइन । जनताले कुरा नबुझे असम्भव हो । अहिले मैले सबै ठाउँका विद्यार्थीहरूसँग छलफल गरेँ । उनीहरू कोही पनि पुरानो दलसँग खुसी छैनन् । मान्छेहरू दलभन्दा केही बाहिर आएर कसले राम्रो गर्न सक्छ त भन्ने तरिकाले हेरिरहेका छन् । मेरो चाहना के छ भने एउटा पूरै ‘फ्रेस’ टिम लिएर चुनाव लड्ने । ६ हजार वडामा लड्ने हो, सबै स्थानीय तहमा लड्ने हो ।

उम्मेदवारको विषय जुन चासो राख्नुभयो, तपाईंले कल्पना गरेकोभन्दा राम्रो हुन्छ, हेर्नुहोला । यही सुर्खेत, वीरेन्द्रनगरमा तपाईंले कल्पना गरेकोभन्दा फरक हुन्छ । शासकीय स्वरुप नै बदल्ने चाहना हो । नेपालमा अस्थिरता रहेसम्म कुनै उन्नति, प्रगति सम्भव छैन । १÷१ वर्षमा सरकार फेरिने कुराले कसैको मनस्थिति शान्त छैन । यो देशमा कोही पनि आफ्नो कामप्रति निश्चिन्त छैन । यसरी देशको परिवर्तन सम्भव हुँदैन । त्यसैले हाम्रो सोच शासकीय स्वरुपदेखि व्यवस्थापकीय प्रणालीमा पनि चेञ्ज गर्नुपर्छ । हरेक कुरामा चुनौती हुन्छ, हरेक मोर्चामा जसले चुनौतीका साथ लडाइँ लड्छ, त्यही सफल हुने हो ।

हामी हिजोदेखि चुनौतीसँग लड्दै आएको हो । त्यसैले चुनावमा हामी प्रतिस्पर्धा गरेरै, जितेरै जाने हो । त्यो कुरामा हामी स्पस्ट छौँ ।

  • संसदवादी हुन खोजेकाले तपाईंहरूले भन्ने गरेको ‘वैज्ञानिक समाजवाद’को नारा अहिले हराएको हो ? ‘वैज्ञानिक’ शब्द नभनेर अचेल प्रायः ‘समाजवाद’ मात्र भनेको सुनिन्छ नि ?

— हराएको हैन । अहिले अस्थिरता, अराजकता, परनिर्भरता जो छ, यसलाई हामीले अन्त्य गर्न चाहेको हो । त्यसको निकास वैज्ञानिक समाजवाद हो । तर वैज्ञानिक समाजवादमा पुग्नुभन्दा पहिले यदि सबै दलको बिचमा ‘समाजवाद’ भन्नेमा सहमत भइन्छ भने नेपाली विशेषताको समाजवाद ल्याउँ न भन्ने हाम्रो तर्फबाट प्रस्ताव छ । त्यो कतिसम्म सम्भव हुन्छ, हेरौँ ! त्यो हुँदै गएपछि वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप