बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

कोभिड लकडाउनको समयमा घटेको थियो चन्द्रमाको तापमान ?

बिहीबार, १० माघ २०८१, १६ : ४३
बिहीबार, १० माघ २०८१

वासिङ्टन डिसी । २०१९ को अन्त्यतिर चीनमा कोभिड–१९ को महामारी सुरु भयो । बिस्तारै यो विश्वभर फैलियो । यसलाई रोक्न विश्वका कयौँ देशले लकडाउन गरे । कयौँ व्यावसायिक गतिविधिहरू बन्द भयो । 

विश्वको आधा भन्दा बढी जनसङ्ख्या घरभित्रै थुनिए । यसको प्रत्यक्ष प्रभाव विश्वको तापक्रममा समेत पर्‍यो । यसले गर्दा विश्वको औसत तापक्रम नै घट्यो । तर के यसको प्रभाव पृथ्वीमा मात्र सीमित थियो ? एक अध्ययनले लकडाउनको प्रभाव चन्द्रमामा पनि परेको भनेको छ ।

  • के भएको थियो लकडाउनमा ?

२०२० जनवरी देखि नै विश्वभर कोभिड फैलिन थाल्यो । विश्वका धेरै देशहरूले एकेक गरी लकडाउन लगाउन थाले र अप्रिल २०२० सम्ममा विश्वको आधा जनसङ्ख्या घरमै सीमित भयो । कारखानाहरू बन्द भए । सवारी साधनहरू पूर्ण रूपमा ठप्प भए । परिणामस्वरूप कार्बन डाइअक्साइड उत्सर्जन द्रुत गतिमा घट्न पुग्यो । यही समयमा एक टोलीले चन्द्रमाको सतहको अवलोकन गर्यो र सो समयमा गरिएको लकडाउनको प्रभाव चन्द्रमामा पनि देखिएको पाइयो ।

  • कहाँबाट लिइएको थियो आँकडा ?

मिसौरी विज्ञान तथा प्रविधि विश्वविद्यालय र त्रिनिदाद एन्ड टोबैगोकोसेन्ट अगस्टाइन युनिभर्सिटी अफ वेष्ट इन्डिजका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा टोलीले चन्द्रमाका छ स्थान छानेर त्यहाँको तापक्रमको स्थानीय प्रभावहरू बुझ्ने प्रयास गरेको थियो । उनीहरूले नासाको पीडीएस जियोसाइन्सेस नोड्सबाट डिभाइनर रिड्युस्ड डेटाको २०१७ देखि २०२३ सम्मको रेकर्डहरूको विश्लेषण गरेका थिए । यस क्रममा एउटा विशिष्ट विसङ्गति फेला पार्‍यो ।

  • यस्तो थियो नतिजा

नतिजाहरूले देखाएअनुसार २०२० को अप्रिल–मे मा विश्वभरमा कडा लकडाउन भएको समयमा चन्द्रमाको छवटै स्थानमा अघिल्ला वर्षहरूको तुलनामा समीक्षा अवधिमा रातको समयमा तापक्रममा उल्लेख्य कमी आएको पाइयो । विश्वव्यापी लकडाउनको समयमा ब्रह्माण्डीय विकिरणमा उल्लेखनीय कमी आएकोले तापमानमा असामान्य कमी आएको अनुसन्धानकर्ताहरू भन्छन् । 

 रातको तापक्रममा कुल अन्तर झन्डै ८–१० केल्भिन सम्मको थियो । यस अवधिमा, अनुसन्धानकर्ताहरूले तापक्रम घटाउन सक्ने अन्य कारकहरूको पनि अवलोकन गरेका थिए । तर यस्तो कुनै कारक फेला परेन ।

  • झनै चिसो भयो चन्द्रमा ?

अनुसन्धानकर्ताहरूका अनुसार लकडाउनको समयमा हावामा कम प्रदूषण फैलिएको थियो, जसका कारण पृथ्वीबाट आउने र फर्कने विकिरण उल्लेख्य रूपमा कम भयो र चन्द्रमाको सतह चिसो भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप