गाडी आयात ६२ प्रतिशतले वृद्धि, कारण के ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १ लाख ३१ हजार ४११ वटा सवारी साधन आयात भएका छन् । भन्सार विभागको साउन–पुसको तथ्याङ्क अनुसार यो सङ्ख्या गत आवको सोही अवधिको तुलनामा ६२ प्रतिशत बढी हो । कुल सङ्ख्यामा दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या १ लाख ८ हजार छन् ।
विभागका अनुसार गत वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ८२ हजार ४२ वटा सवारी साधन आयात भएका थिए । आव २०७९/८० को पुससम्म ९० हजार १०६ र २०७८/७९ को पुससम्म १ लाख ९६ हजार ३६२ सवारी साधन भित्रिएको तथ्याङ्क छ । तर आव २०७७/७८ को ६ महिनामा ठुलो सङ्ख्यामा सवारी साधन भित्रिएका थिए । उक्त आवको पहिलो ६ महिनामा २ लाख ५३ हजार ४५३ वटा सवारीसाधन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यसपछिका तीन वर्ष अटो बजार क्रमशः ओरालो लाग्यो ।
अन्य क्षेत्रका व्यवसायीहरू यतिबेला हरेक क्षेत्रको व्यवसाय घटेको बताउँछन् । उपभोग्य बजारसमेत घटेको बताइरहेका बेला यो वर्षको ६ महिनाले अटो बजारमा भने उत्साह थपेको देखिन्छ । यसमा आन्तरिक बजारका थुप्रै आयामले काम गरेको व्यवसायीहरू बताउँछन् । फाइनान्सिङका लागि सहज बन्दै जानु, बैंकको ब्याजदर सस्तो हुनु, विद्युतीय गाडी आयातमा सरकारले थारै कर लिनुजस्ता विषयले काम गरेको व्यवसायीको भनाइ छ ।
नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बैंकको न्यून ब्याजदर, ईभीको लोकप्रियता र सहज फाइनान्सिङको सुविधाले गाडीको माग बढेको बताउँछन् । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले एकदमै न्यून ब्याजदरमा अटो लोन दिइरहेका छन् । यसले गर्दा प्यासेन्जर भेइकलको खरिद गर्ने ग्राहकको सङ्ख्या बढाउन भूमिका खेल्यो ।’
आममानिसको क्रय शक्ति बढ्दै गएको र यसले खर्च गर्न सक्ने क्षमता बढेका कारण पनि अटो व्यवसायमा उत्साह देखिएको व्यवसायीको भनाइ छ । नाडाका पूर्वअध्यक्ष ध्रुव थापा अन्य क्षेत्रमा शिथिलता भए पनि अटो क्षेत्रले व्यवसायीलाई उत्साहित बनाएको बताउँछन् । ‘दुई पाङ्ग्रे र प्यासेन्जर भेइकलको बजार पुरानै लयमा फर्किएको जस्तो देखिएको छ,’ उनले भने, ‘यो ग्रोथ यही दरमा भइरहनुपर्छ । यसले सबै क्षेत्रलाई चलायमान बनाउन चेनको काम गर्छ ।’
प्यासेन्जर भेइकलको बजार बढे पनि लामो दूरीका बस, ट्रक तथा निर्माणमा प्रयोग हुने सवारी साधन अपेक्षित नबढेको व्यवसायीको भनाइ छ । यसको मुख्य कारण सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । विकास निर्माणका गतिविधिले तीव्रता पाएका छैनन् । थापाले भने, ‘सबै खालका सवारी साधनको बजार यही गतिमा अगाडि बढ्यो भने बल्ल यो ग्रोथले स्थायित्व पाउँछ ।’
महँगो ब्याज, मुद्रा सञ्चितिलाई कमजोर हुन नदिन विगतमा लगाइएको आयात प्रतिबन्ध जस्ता कारणले केही वर्ष अघि गाडीको आयात घटेको व्यवसायीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत