बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता

बिहीबार, १० माघ २०८१, १४ : ३२
बिहीबार, १० माघ २०८१

नयाँ दिल्ली । जनवरी २२ मा महाराष्ट्रको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका २३ जना यात्रुलाई अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले किचेको थियो । यस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने अरू १० जना घाइतेको जलगाउँस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस घटनामा चार जना नेपालीको पनि मृत्यु भएको छ । शवहरूको सनाखत हुन बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । 

यस घटनामा मर्ने व्यक्तिका परिवारलाई प्रतिव्यक्ति डेढ लाख भारु रुपैयाँ दिने रेलमन्त्री अश्विनी वैष्णवले घोषणा गरेका छन् । घटनाका गम्भीर घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनिएको छ । सामान्य घाइतेले पनि ५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने घोषणा वैष्णवले गरेका छन् । घटना भएको ठाउँमा ‘शार्प टर्न’ भएकोले गर्दा अर्को ट्रयाकमा हाम फालेका यात्रुहरूले रेल आएको थाहा पाउन नसकेको मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले बताएका छन् ।

चियावालाले फैलाएका थिए आगो लागेको अफवाह

घटनाको समयमा रेलमा उपस्थित मानिसहरूले आगलागीको हल्ला पहिले एक चिया विक्रेताले फैलाएको बताएका छन् । यो हल्ला सामान्य डब्बामा यात्रा गरिरहेका उदल कुमार र विजय कुमारले सुने । यो सुनेर दुवै जना डराए र गुडिरहेको रेलबाट ट्र्याकमा हाम फाले । यसपछि कसैले चेन तान्यो र अरू केही यात्रु पनि ज्यान बचाउन रेलबाट धमाधम हाम फाल्न थाले ।

हल्ला फैलिएपछि रेलमा हङ्गामा मच्चिएको थियो । आफ्नो ज्यान बचाउन मानिसहरू जसरी भएपनि रेलबाट बाहिर निस्कने प्रयास गरिरहेका थिए । केही मानिसहरू अर्को ट्र्याकतिर हाम फाले र केहीले ट्र्याक नभएको साइडतिर हाम फाले । अरू मानिस ट्र्याक भएतिर भागेको भए भने दुर्घटना झनै ठुलो हुन सक्थ्यो भनेर प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको पहिचान भइसकेको जनाएको जलगाउँका कलेक्टरेटले बताएका छन् । ३ जनाको पहिचान भइरहेको भनिएको छ । कर्नाटक एक्सप्रेसको ठक्करका कारण कयौँ मान्छेको शरीर टुक्रा–टुक्रा भएका थिए । उद्धार टोली र नजिकैका मानिसहरूले यी टुक्राहरूलाई तन्नामा जम्मा पारेका थिए । दुर्घटना जनवरी २२ मा साँझ ४ः४२ बजे पचोरा स्टेशन नजिकै भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप