दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
वेदकोट । कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो ।
निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्र भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए । उनका अनुसार हालसम्म दैजी–लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।
‘लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,’ उनले भने, “त्यसैले निर्माणको काममा केही ढिलाई भइरहेको हो ।” उनका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । विसं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी–लिप्प्ना सडकखण्डको पूर्णता नपाएको हो ।
पछिल्लो पटक वि.सं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार रु २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो । दैजी–लिप्ना कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबूढा जोड्ने सडकको एक खण्ड हो । पूर्णरुपमा कालोपत्र नभए पनि दैजी–लिप्ना कच्ची सडकमा जोखिम मोलेर स्थानीय ओहोरदोहोर गर्न बाध्य छन् ।
दैजी–लिप्ना सडकले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दूरीमा तराईसँग जोडेको छ । “वर्षौ भइसक्दा पनि अहिलेसम्म सडक कालोपत्र हुन सकेको छैन । कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ,” परशुराम नगरपालिका–९ का दिनेश बोहराले भने- “वर्खामा यात्रा नै गर्न सकिँदैन । हामी कालोपत्र सडक भएर आवातजावत कहिले गर्न पाउँला ?” उक्त सडकबाटै पर्यटकीयस्थल वेदकोट ताल पनि पुग्न सकिन्छ ।
पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी–लिप्ना खण्ड कालोपत्र भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव