बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

पार्टी र नेताहरूको आलोचनाका सवाल

बिहीबार, १० माघ २०८१, १३ : १३
बिहीबार, १० माघ २०८१

यतिबेला नेपालमा राजनीतिक पार्टी र नेताहरूको आलोचना गर्ने प्रवृत्ति सर्वाधिक बढेको छ । यस्तो प्रवृत्ति आपसका विरोधी शक्ति र व्यक्तिहरूमा मात्र होइन, मित्र शक्ति र व्यक्तिहरूमा समेत अत्यधिक नै रहेको छ ।

 सामान्यतः राज्य अस्थिर, पार्टी अलमल, नेता अनैतिक र कार्यकर्ता अवसरवादी हुने गरेमा यस प्रकारको आलोचना गर्ने प्रवृत्ति जहाँपनि बढ्ने गरेको पाइन्छ र अहिले नेपालमा पनि पाइएको छ । 

यो अवस्थामा पार्टी र आन्दोलन नै विभाजन, विघटन र विसर्जनमा पुग्ने खतरा पनि त्यत्तिकै रहन्छ । सामान्यतया सबै प्रकारका आन्दोलनहरू र विशेषतः राजनीतिक आन्दोलन अझ त्यसमा पनि मुख्यतः क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अर्थात् माओवादी आन्दोलन करिब यही  खतरनाक अवस्थामा पुगेको वा पुग्न लागेको अहिलेको हाम्रो अवस्था हो । 

यो अवस्था निकै नै संवेदनशील र गम्भीर अवस्था पनि हो । आज नेपाली वामपन्थी क्रान्तिकारी आन्दोलन पनि यही अवस्थाबाट गुज्रँदै गएकोले पार्टी र नेताहरूप्रतिको आलोचनाको यो प्रवृत्ति अराजक आलोचना हुँदै अन्धाधुन्ध विरोध र आग्रही आक्रमणको रूपमा विकसित हुँदैछ । नेपालको वर्तमान सन्दर्भमा भन्ने हो भने यस प्रकारको प्रवृत्ति आज सबैभन्दा बढी कम्युनिस्ट पार्टीमा, त्यो पनि १० वर्षे जनयुद्धबाट आएको माओवादी पार्टीमा  र अझ मुख्यतः पार्टी नेताहरूमा नै सर्वाधिक देखापरेको छ । 

यो प्रवृत्ति यसरी देखापर्नुमा मुख्यतः पार्टीका मुख्य नेता  वा नेताहरूद्वारा पार्टी र आन्दोलनका घोषित विचार-आचार, आस्था-आदर्श, लक्ष-उद्देश्य, नीति-विधि, मूल्य-मान्यता र प्रतिबद्धता-कटिबद्धताको अवलम्बन र कार्यान्वयनमा भए-गरिएका बेइमानी-बदमासी नै प्रधान कारण रहेको छ । 

यसै कारणले गर्दा नै आज एकातिर यसरी देश, जनता, पार्टी र आन्दोलनले धोका, विश्वासघात र पराजय भोग्नुपरेको विडम्बना  छ भने अर्कातिर यो भोगाइको व्यापकताका कारण पार्टी, नेता र आन्दोलनप्रति नै समाजमा उत्पन्न व्यापक आशङ्का, अविश्वास, ईर्ष्या र आक्रमणले गर्दा पनि  पार्टी र आन्दोलन  यसरी विभाजन, विघटन र विसर्जन हुन थालेको अवस्था आएको  हो । 

त्यसैले कम्युनिस्ट पार्टी समर्थक जनता, कार्यकर्ता  र नेताहरूमा नै आइरहेको यस प्रकारको निराशा, अकर्मण्यता, पलायन, अविश्वास, आशङ्का र कींकर्तब्यविमुढताको आजको हाम्रो स्थितिमा अभिव्यक्त विभिन्न प्रकारका आलोचनाहरूको जानकारी र पहिचान गर्नु र ती आलोचना हुनु-गरिनुका पछाडिका कारण/आधार  र पृष्ठभूमिको बारेमा स्पष्ट हुन सक्नुपर्छ । 

आलोचना र आत्मालोचनाको  प्रयोगमा नियमितता हुनुपर्छ र यसको प्रयोग गर्दा सचेतता, विवेक र नियम पनि पुर्‍याउनु पर्दछ । त्यसैले भनिएको हो आलोचना र आत्मालोचना एक यस्तो हतियार हो जसलाई ठिक समयमा, ठिक तरिकाले, ठिक ठाउँमा र ठिक विषयमा, ठिक व्यक्ति  वा प्रवृत्ति लक्षित गरेर चलाएमा सम्बन्धित पक्षका कमी-कमजोरी वा खराबी-बदमासीहरुलाई ध्वस्त गरेर  नेता,  पार्टी  र आन्दोलनलाई बचाउन, बढाउन, विजयी बनाउन र विस्तार गर्न सकिन्छ अन्यथा यसको विपरीत हुन गए पार्टी र आन्दोलन नै ध्वस्त हुने खतरा समेत त्यत्तिकै बढी हुन्छ ।

 कारण नभई कार्य हुँदैन, तसर्थ कारणकै अन्त्य भए कार्य स्वतः अन्त्य हुन्छ भन्ने मान्यताअनुसार पार्टी र आन्दोलनको  यस प्रकारको अस्तव्यस्त र ध्वस्तको स्थितिलाई अन्त्य गर्न अर्थात् यो स्थितिलाई बदलेर क्रान्तिकारी, सर्वहारावादी शुद्धीकरण र पुनर्गठन गर्न सकिन्छ कि भन्ने आशाका साथ प्रस्तुत लेख लेख्ने जमर्को गरिएको हो । 

एउटा सच्चा कम्युनिस्ट पार्टीभित्र आफू सम्बन्धित रहेको माथिल्लो कमिटीमा कमिटीका सदस्यहरू र ती भन्दा माथिका सम्पूर्ण नेताहरूका कमी-कमजोरी र बेइमानी-बदमासीलाई घटाउने र हटाउने उद्देश्यले आलोचना गर्ने अनिवार्य नियम वा पद्धति नै हुन्छ । यसैगरी आफ्नो उपल्लो कमिटीमा नै आफूले वा आफूबाट जान वा अनजानरुपमा गरे-भएका कमी-कमजोरी आदिलाई पहिचान र स्वीकार गरी सच्चाउने विधि-पद्धति हुन्छ, त्यो नै आत्मालोचना हो । 

छोटकरीमा भन्नुपर्दा  एकले अर्कालाई सच्चाएर रूपान्तरण गर्ने उद्देश्यले तथ्यमा आधारित भएर इमानदारीपूर्वक अर्काका बारेमा गरिने टिप्पणी आलोचना हो भने आफूले आफैप्रति सच्चा, निर्मम र खुला भएर आफैलाई सच्चाउने र रूपान्तरण गर्ने उद्देश्यले गरिने टिप्पणी आत्मालोचना हो । यसो हुनु वा गरिनुको अर्थ  वा उद्देश्य  हो आलोचना वा आत्मालोचनाले कम्युनिस्ट पार्टी, नेता, कार्यकर्ता र आन्दोलनलाई सुद्धीकृत, एकीकृत, सुदृढ र सबल पार्ने ।  त्यसैले आलोचना तथ्यमा आधारित, पूर्वाग्रह र प्रतिशोधरहित, ईमान्दारीपूर्ण, रचनात्मक, वस्तुनिष्ठ, विधिसम्मत, सम्बन्धित व्यक्तिको अगाडि वा सम्बन्धित स्थानमा विचार र राजनीतिलाई केन्द्रमा राखेर अर्थपूर्ण सुधारको उद्देश्यले गरिनुपर्छ भन्ने मालेमावादी मान्यता रहिआएको छ । यस्तो गरे वा भएमा निश्चय नै कसैले जान वा अनजानमा गरे-भएका गल्ती कमजोरीलाई सच्चाउन राम्रो मद्दत पुग्छ । तर त्यसरी हरेक बैठकपिच्छे आलोचना र आत्मालोचना नभए वा नगरिएमा त्यो आलोचनाले निकास पाउँदैन अनि आलोचना नभएपछि गल्ती गर्नेहरूमा सच्चिने प्रक्रिया नै प्रारम्भ हुँदैन बरु गल्तीको मात्रा र गुण दुवैमा गुणात्मक रूपले वृद्धि हुँदै जान्छ ।

 फलस्वरूप आलोचनाले विस्फोटक र अराजक रूप लिन्छ जसले पार्टी र आन्दोलनलाई नै ध्वस्त पार्ने खतरा उत्पन्न गर्दछ । तसर्थ आलोचना र आत्मालोचनाको  प्रयोगमा नियमितता हुनुपर्छ र यसको प्रयोग गर्दा सचेतता, विवेक र नियम पनि पुर्‍याउनु पर्दछ । त्यसैले भनिएको हो आलोचना र आत्मालोचना एक यस्तो हतियार हो जसलाई ठिक समयमा, ठिक तरिकाले, ठिक ठाउँमा र ठिक विषयमा, ठिक व्यक्ति  वा प्रवृत्ति लक्षित गरेर चलाएमा सम्बन्धित पक्षका कमी-कमजोरी वा खराबी-बदमासीहरुलाई ध्वस्त गरेर  नेता,  पार्टी  र आन्दोलनलाई बचाउन, बढाउन, विजयी बनाउन र विस्तार गर्न सकिन्छ अन्यथा यसको विपरीत हुन गए पार्टी र आन्दोलन नै ध्वस्त हुने खतरा समेत त्यत्तिकै बढी हुन्छ ।

 तसर्थ आज पार्टी र समाजमा व्याप्त नेता, पार्टी र आन्दोलनका बारेमा भए-गरेका विभिन्न आलोचनाहरूको विश्लेषण गर्न, तिनका पछाडिका कारणहरू पत्ता लगाउन र तिनको समाधान गर्न खासगरी क्रान्तिकारी पृष्ठभूमि र उद्देश्य भएका पार्टी र नेताहरूले विशेष जिम्मेवारी बोध गरेर उच्च सतर्कता र आवश्यक गम्भीरताका साथ  कार्यान्वयन गर्न-गराउन अत्यावश्यक देखिएको छ । सम्बन्धित पार्टी-नेताहरूमा चेतना भया !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण शर्मा
नारायण शर्मा
लेखकबाट थप