बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपलका लागि दुई जनाको मात्र आवेदन

बिहीबार, १० माघ २०८१, १२ : २१
बिहीबार, १० माघ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) को प्रमुखका लागि दुई जनाको मात्रै आवेदन परेको छ । शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो । तोकिएको समयभित्र २ जनाको मात्रै आवेदन परेको हो ।

दुई जनाको मात्रै आवेदन परेपछि शिक्षाध्यक्षको कार्यालयले आवेदन दिने म्याद थप गरेको थियो । माघ ११ गतेसम्मका लागि म्याद थप परिएपछि चौतर्फी विरोध भएको थियो ।

शिक्षाध्यक्ष कार्यालयले दोस्रो पटक म्याद थप गर्दा उपकुलपति प्राडा केशरजंग बराल र रजिष्ट्रार प्राडा केदार रिजालले असन्तुष्टि व्यक्त गरेका थिए । उपकुलपति बरालसँग भएको छलफलपछि शिक्षाध्यक्ष प्राडा खड्का केसीले म्याद थप गरेको भोलीपल्टै दोस्रो पटकको सूचना स्थगित गरेका हुन् ।

अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले अब दुई जनालाई नियुक्तिका लागि सिफारिस गर्नेछ । विश्वविद्यालयले ती दुई जनामध्येबाट नै एक जनालाई प्रिन्सिपलमा नियुक्ति गर्नेछ ।  

विश्वविद्यालयका पदाधिकारीदेखि डीन, निर्देशक तथा क्याम्पस प्रमुख बन्नका लागि प्राज्ञहरूको हानथाप हुने भइरहेका बेला केन्द्रीय क्याम्पसको प्रमुखका लागि पर्याप्त निवेदन नै परेनन् ।

केन्द्रीय क्याम्पसमा ६ हजार विद्यार्थी अध्ययनरत छन् । बढ्दो राजनीतिकरण तथा शिक्षक कर्मचारीको दबाबका कारण प्रिन्सिपललाई काम गर्न निकै गाह्रो पर्ने गरेको छ । हालै अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी सङ्गठनले डेढ महिना प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप