बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड

बिहीबार, १० माघ २०८१, १२ : ०८
बिहीबार, १० माघ २०८१

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

नीतिगत रूपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट पारे । यो सरकार बन्ने बेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे । देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए । ‘

सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए । संसदमा प्रवेश गरिसकेका र  समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढङ्गले फिर्ता लिनुका सट्टा  संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रिपरिषदबाट नमिल्ने काम गरी दुस्साहस भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गरे ।

सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद् आह्वान गरेको बताए । अब विपक्षी दलहरूले संसदमा जनताका एजेन्डा प्रभावकारी रूपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि अध्यक्ष प्रचण्डले गराए।

यसैबिच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मेहनतका साथ लाग्न निर्देशन दिए । अब पार्टी निरन्तर अभियानमा लाग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी दिँदै उनले फागुनदेखि जनतासँग माओवादी अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिए । 

त्यस्तै अध्यक्ष प्रचण्डले बर्दियाको बबई पुल क्षेत्रका जनतासित भेटघाट गर्दै मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसदमा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप