ट्रम्पले पदभार ग्रहण गरेकै दिन अमेरिकामा ३०८ अवैध आप्रवासी पक्राउ
वासिङ्टन डीसी । अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन अर्थात् मंगलबार अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले अवैध रुपमा बसोबास गर्दै आएका ३०८ जना आप्रवासीलाई पक्राउ गरेको छ । द न्यू योर्क पोस्टमा छापिएको समाचारअनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो कुराको खुलासा गरेका हुन् ।
पक्राउ देशका हरेक भागबाट गरिएको भनिएको छ । अवैध आप्रवासीहरूमध्ये धेरैजसो अपराधी भएको बताइएको छ । तीमध्ये केहीमाथि अपहरण, हत्या र बलात्कारको आरोप छ । अध्यागमन अधिकारीहरूले देशको लागि खतरा निम्त्याउने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका होमनले बुधबार भनेका थिए ।
अमेरिकामा यस्ता आप्रवासीको संख्या ७ लाखभन्दा बढी भएको बताइएको छ । बंगाली पत्रिका प्रथम आलोको रिपोर्ट अनुसार पहिलो दिन पक्राउ पर्नेहरूमा ४ जना बंगलादेशी नागरिक छन् । उनीहरूलाई न्यूयोर्कको ब्रुकलिन बरो फुल्टन क्षेत्रबाट पक्राउ गरिएको हो ।
जारी छ देशभरमा छापेमारी
अवैध आप्रवासीहरूलाई समात्न देशभरमा छापा हान्ने काम भइरहेका छ । रिपोर्टका अनुसार अमेरिकाका धेरै राज्यहरूमा छापा मरिरहेको छ । त्यस्ता आप्रवासीहरूसँग व्यापक सोधपुछ भइरहेको भनिएको छ । राष्ट्रपति चुनाव जितेको केही दिनपछि नै ट्रम्पले अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का पूर्व प्रमुख टम होमनलाई ‘सीमा जार’ नियुक्त गरेका थिए ।
ट्रम्पको शपथग्रहणको भोलिपल्ट उनले कागजात नभएका अवैध आप्रवासीहरूलाई पक्राउ गर्न व्यापक राष्ट्रव्यापी खोजी अभियान सुरु गर्ने होमनले गत हप्ता घोषणा गरेका थिए । सोमबार शपथ ग्रहण गरेलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।
यसमा अवैध आप्रवासीहरूको प्रवेश रोक्ने र सीमामा सुरक्षा कडा पार्ने जस्ता आदेशहरू पनि समावेश थिए । आफ्नो शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने कुरा गरेका थिए । चाँडै अमेरिकी इतिहासको सबैभन्दा ठुलो निर्वासन अभियान सुरु हुने उनले बताएका थिए । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमै सबैभन्दा धेरै आप्रवासीहरू छन् । विश्वका कुल आप्रवासीहरूको २० प्रतिशत अमेरिकामा बस्छन् । २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीहरूको कुल संख्या ४ करोड ७८ लाख थियो ।