पद थप्ने होमवर्कमा एमाले, विधान संशोधन गरेर वामदेवलाई वरिष्ठ उपाध्यक्ष !
काठमाडौँ । नेकपा एमालेले विधान संशोधन गरेर पार्टी केन्द्रीय सचिवालयमा केही पद थप्ने गृहकार्य थालेको छ । ११औं राष्ट्रिय महाधिवेशन अघि गर्नुपर्ने विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको झन्डै १५ महिनाअघि नै बोलाएर एमालेले ‘अर्ली महाधिवेशन’को संकेत समेत गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशन, मिसन २०८४ र वामदेव गौतमलाई पार्टीमा भित्र्याउने लगायतका विषयलाई समेत मध्यनजर गर्दै विधान महाधिवेशन केही समय अघि नै गर्न लागेको एमाले नेताहरूले बताएका छन् ।
एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा समेत नलागी पार्टी एकता अभियान संचालन गरेका पूर्वउपाध्यक्ष समेत रहेका नेता वामदेव गौतमले पुनः नेकपा एमालेमै फर्कने चाहना प्रकट गरिरहेका छन् । गौतमलाई पार्टीमा फर्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सकारात्मक देखिएका छन् । सोही अनुसार गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुने पहिलो प्रयत्न छाडेर एमाले प्रवेशका लागि वातावरण बनाउन लागि परेका छन् ।
माघ पहिलो सातामा भएका नेताहरूबिचको संवादमा गौतमले आफूलाई कुनै पद चाहिने सर्त नराखेपनि पूर्वउपाध्यक्ष र उपप्रधानमन्त्री समेत भैसकेका गौतमको उचित व्यवस्थापनको प्रबन्ध मिलाएर मात्रै पार्टीमा औपचारिक भित्र्याउन उपयुक्त हुने ठहर एमाले नेताहरूको छ । तर त्यसका लागि पार्टी विधान बाधक बनेको छ ।
‘वामदेव गौतमलाई अहिले नै पार्टीमा भित्र्याउन समस्या होइन तर उहाँ जत्तिको नेता पार्टीमा आएपछि सोही अनुसारको जिम्मेवारी र पोर्टफोलियो पनि आवश्यक पर्छ’, एमालेका एक उपाध्यक्षले भने, ‘अहिले १९ सदस्यीय सचिवालय छ । त्यो सबै प्याक छ ।’
नेकपा एमालेको सचिवालयमा हाल अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको पद छ । १९ मध्य एक जना सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा निलम्बनमा परेका छन् । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त स्थानमा गुरुप्रसाद बराल मनोनीत भएका छन् ।
एमालेको विधानअनुसार केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशन तोक्ने प्रावधान गरेपनि पछि बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेगरी यो पटक सचिवालय बैठकले नै विधान महाधिवेशनको मिति तोकेको छ ।
‘अहिले वामदेवजी एमालेमा फर्कन आतुर हुनुहुन्छ । तर उहाँका लागि कुनै उपयुक्त पद दिन स्थान खाली छैन र तत्कालै केन्द्रीय कमिटी बैठक राख्न पनि सम्भव नभएपछि सचिवालयले निर्णय गरेर विधान महाधिवेशन तोकिएको हो’, एमालेका अर्का पदाधिकारी भन्छन्,‘विधान महाधिवेशनमार्फत विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष, वरिष्ठ नेता वा त्यस्तै कुनै पद सिर्जना गरेर उहाँलाई व्यवस्थापन गर्दा उचित हुने भएकाले यस्तो निर्णय गर्नुपरेको हो ।’
गौतमलाई पद व्यवस्थापन नगरी पार्टीमा ल्याउँदा नेता भीम रावलको जस्तै अवस्था आउन सक्नेतर्फ पनि एमाले नेताहरूबिच छलफल भएको छ ।
‘भर्खरै भीम रावलजी पार्टी छाडेर जानुभयो । यसले एमालेमा केही न केही क्षति गरेको छ । अव फेरि वामदेवलाई कुनै पद नदिएर अहिले नै हतारमा भित्र्याउने अनि उहाँले पनि त्यसैगरी पार्टी छोड्ने अवस्था आयो भने राम्रो सन्देश जाँदैन’, एमाले उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘सोचविचारी गरेर नै गौतमसँग तत्काल हामीले सहकार्यमात्र गर्ने भनेका हौँ ।’
त्यसो त एमालेको उद्देश्य गौतमलाई पार्टीमा भित्र्याउने मात्र नभएर मिसन २०८४ सफल पार्नु पनि रहेको छ । यही बिचमा राष्ट्रिय महाधिवेशन पनि गर्नुपर्ने भएकाले एमाले राष्ट्रिय महाधिवेशनको तयारीमा समेत जुटेको छ ।
नयाँ नेतृत्वका लागि विधान त एमालेले राष्ट्रिय महाधिवेशन २०८३ मंसिरभित्र गरिसक्नुपर्नेछ । लगत्तै स्थानीय चुनाव र त्यसपछि २०८४ मा संसदीय चुनाव हुनेछ । यस्तो अवस्थामा एमालेले नेकपा एमालेको विधान महाधिवेशन २०८२ भदौमा गरेर पार्टीलाई व्यवस्थित बनाउँदै लैजान चाहेको देखिन्छ ।
‘२०८३ सालमा गर्नुपर्ने राष्ट्रिय महाधिवेशन उस्तै परे अघि पनि सर्नसक्छ’, एमालेका एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘राष्ट्रिय महाधिवेशन अघि हुनसक्छ भनेर पार्टीको औपचारिक बैठकमा त छलफल भइसकेको छैन तर आन्तरिक रूपमा नेताहरूबिच कुराकानी हुँदा अर्ली महाधिवेशनको संकेतका रूपमा बुझ्न थालिएको छ ।’
ती नेताका अनुसार अर्ली महाधिवेशन गर्दा २०८३ को स्थानीय निर्वाचन र २०८४ को संसदीय निर्वाचनका लागि पार्टीपंक्ति एकताबद्धले परिचालन गर्न सहज हुने अध्यक्ष ओलीको बुझाइ छ । तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अर्ली महाधिवेशन गर्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
‘अहिलेसम्मको अवस्थामा अर्ली महाधिवेशन गर्नुपर्ने अवस्था छैन । २०७८ सालमा राष्ट्रिय महाधिवेशन भएको हिसाबले २०८३ मा अबको राष्ट्रिय महाधिवेशन हुन्छ’, गौतमले रातोपाटीसँग भने, ‘हामीले तिथिमिति पल्टाएरै विधान महाधिवेशनको मिति तोकेका हौ ।’