बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
खेलकुद

खेलकुदमा ‘आनाबोलिक स्टेरोइड’

बिहीबार, १० माघ २०८१, १४ : ००
बिहीबार, १० माघ २०८१

विश्वका ५४ प्रतिशत बडीबिल्डर (शारीरिक सुगठन खेलाडी)ले नियमित रूपमा ‘स्टेरोइड’ (मानव निर्मित हर्मोन)को प्रयोग गरिरहेको पाइन्छ । त्यसमध्ये २० देखि ४० वर्ष उमेर समूहका खेलाडी पर्छन् । ‘स्टेरोइड’को अति प्रयोगका कारणले ४० प्रतिशत हत्या र आत्महत्याका घटनाले गर्दा समाज आक्रान्त छ ।

उत्कृष्ट हुन चाहने खेलाडी सधैँ थप प्रयासको खोजीमा हुन्छन् । कतिपय खेलाडी आफ्नो प्रदर्शन क्षमता वृद्धि गर्न क्षमताबद्र्धक औषधितर्फ लालायित हुन्छन् । जसलाई ‘एर्गोजेनिक एड्स’ भनिन्छ । खेलाडीको यही चाहनाले गर्दा खानासम्बन्धी सप्लिमेन्टका यी वस्तुको व्यापार संसारभर अर्बौंको उद्योगमा रूपान्तरित हुँदै आएको छ । 

विश्वभरि ‘आनाबोलिक स्टेरोइड’ (पुरुष हर्मोन वृद्धि गर्ने औषधि) को बजार कहालीलाग्दो छ । सन् २०२७ सम्म यसको बजार ८.२२ बिलियन डलरको हुने प्रक्षेपण गरिएको छ । अमेरिकामा मात्रै २५ प्रतिशत पुलिसकर्मीले यसको प्रयोग गरिरहेको तथ्याङ्क पाइन्छ । ९९ प्रतिशत यसको प्रयोगकर्ताले इन्जेक्सनद्वारा आफ्नो शरीरमा भित्र्याउने गरेको पाइन्छ । 

ठुलो मात्रामा भएको लगानी र विज्ञापनले गर्दा खेलाडीसँगै साधारण मानिसलाई समेत यी ‘सप्लिमेन्ट’का बारेमा मिथ्या जानकारी प्राप्त हुन्छन् । जसले गर्दा खेलाडीले यी वस्तुका बारेमा वैज्ञानिक अवधारणा बुझ्नै नपाउने हुन्छ । उनीहरूलाई वैज्ञानिक तथ्यका बारेमा थाहै हुँदैन । खेलाडी र प्रशिक्षकले यी वस्तु प्रयोग गर्नुअघि निम्न प्रश्न बुझ्नु आवश्यक रहेको सोधकर्ताको भनाइ छ : 

१) केही औषधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा प्रतिबन्ध लगाएका हुन्छन् ?

२) के यी औषधिबाट स्वास्थ्यमा अल्पकालीन वा दीर्घकालीन हानि हुन सक्छ ? 

३) स्वास्थ्यमा हानि हुन्छ भने के–कस्तो हानि पुग्छ ?

४) यी औषधिले केको दाबी गर्दछ ? के यी सुन्दा अपत्यारिलो लाग्छ ? 

५) के यसले प्रशिक्षण र खानाको हिस्सा ओगट्न सक्छ ? 

६) निर्माणकर्ताले जे दाबी गर्छन्, त्यो हो भने के यसले खेलाडीको प्रदर्शन क्षमतामा सुधार ल्याउँछ त ?

७) के यी वस्तुलाई वैज्ञानिक तथ्यले पुष्टि गर्छ ? गर्छ भने कसले यसको सोध गर्‍यो र के अरु कुनै थप सोधले पनि यसलाई पुष्टि गरेको छ त ?

प्रशिक्षक र खेलाडीले विभिन्न खेलकुद विज्ञ (खेलकुद फिजिसियन, खेलकुद खाना विज्ञ; व्यायाम शरीरशास्त्री आदि) सँग यसका बारेमा जानकारी रहेको वा नरहेको बुझ्नुपर्छ  । उनीहरूलाई नै शंका छ भने खेलाडीले यी वस्तुको सेवन नगर्नु नै बुद्धिमानी हुनेछ । 

विश्व खेलकुदमा एउटा सम्भावित विजेता तयार पार्न वंशानुगत गुण, कडा परिश्रम, उच्च स्तरीय प्रशिक्षण र सकारात्मक मानसिक सोच आवश्यक पर्छ । कुनै पनि प्रतियोगितामा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नका लागि उचित आहार आवश्यक पनि यस्तै सूचीमा गाँसिएको हुन्छ । 

प्रशिक्षकले खेलाडीको प्रदर्शन क्षमतामा उचित खानपानले पार्ने असरका बारेमा बुझ्न अत्यन्त जरुरी हुन्छ । खेलाडी र अविभावकलाई ठिक खानपानका बारेमा जानकारी दिलाउन प्रशिक्षकले उचित भूमिका निर्वाह गर्नुपर्छ । खेलाडीलाई खेलकुदसँग सम्बन्धित पत्रपत्रिका पढ्न प्रेरित गर्ने, डाइटिसियनबाट बेला–बेला कार्यशाला गोष्ठी सञ्चालन गर्ने आदि गर्न सकिन्छ । सबैभन्दा पहिले त प्रशिक्षक आफैँ रोल मोडलका रूपमा प्रस्तुत हुनुपर्छ । 

मांसपेसीय विकासका लागि भारोत्तोलन प्रशिक्षण गरेको खेलाडीका लागि प्रतिदिन कति प्रोटिन आवश्यक हुन्छ ? यस प्रश्नको उत्तर केही अंशमा माथिको उत्तरबाट पनि प्राप्त भइसकेको छ । 

हाम्रो शरीरमा प्रोटिनको निर्माण हुन २० किसिमका एमिनो एसिड आवश्यक पर्छन् र जसमध्ये नौवटा अति आवश्यक एमिनो एसिड प्राकृतिक खाद्यवस्तुबाट प्राप्त गर्नुपर्छ । यी एमिनो एसिड प्राकृतिक खाद्य पदार्थबाट प्राप्त गर्न आवश्यक छ ।

कुनै खेलाडीले भारोत्तोलन प्रशिक्षण गरिरहेको छ भने केही बढी प्रोटिन आवश्यक हुन्छ । दुई साताभित्र आफ्नो शरीरमा एक पाउन्ड शुद्ध मांसपेशीय पिण्ड थप गर्न चाहेमा उसले दैनिक रूपमा खाने गरेको प्रोटिनको मात्रामा प्रतिदिन ५–८ ग्राम अतिरिक्त प्रोटिन खानुपर्ने हुन्छ । भन्नुको तात्पर्य दिनको एक अउन्स मासु वा चिज वा एक ग्लास दुध बढी खाने गरेमा माथि उल्लिखित आवश्यकता पूरा हुन सक्छ । 

tre762-gra-0001-m

यदि त्योभन्दा पनि बढी प्रोटिन खाएको खण्डमा शरीरमा केही हानि हुन्छ होला ? आवश्यकभन्दा बढी प्रोटिन खाँदैमा त्यस्ता अतिरिक्त प्रोटिनलाई शरीरमा सञ्चय गरी राख्न सकिँदैन । त्यस्ता अतिरिक्त प्रोटिनलाई या त प्रयोग गर्न सक्नुपर्‍यो, होइन भने त्यसै खेर जाने हुन्छ । हाम्रो शरीरमा प्रयोग गर्न सक्ने क्षमताभन्दा बढी प्रोटिन खाएको खण्डमा त्यस्ता प्रोटिन टुक्रिएर या त शक्तिको रूपमा खर्च हुन्छन्, होइन भने बोसोका रूपमा शरीरमा सञ्चय हुन्छन् । प्रोटिनकै अर्को भाग नाइट्रोजन बढी भएको खण्डमा शरीरबाट बढी मात्रामा पानी निष्कासन हुने हुन्छ । त्यस्तै हाम्रो कलेजो र किड्नीमा भार पर्ने, पिसाबका माध्यमबाट बढी क्याल्सियम निष्काशन हुने र शरीरका जोर्नीहरूमा बातरोगका लक्षण पनि प्रकट हुन सक्छ ।

  • बजारबाट चाहिनेभन्दा बढी मात्रामा अतिरिक्त एमिनो एसिडयुत्त औषधिहरू किनेर खानाले के हुन सक्दछ ?

बजारमा विभिन्न किसिमका एमिनो एसिडयुक्त औषधि प्रशस्त मात्रामा भेटिन्छन् । प्रोटिनका विभिन्न खण्डमा एमिनो एसिड एक हो । विभिन्न एमिनो एसिडहरू सिक्री जस्तै जोडिएका हुन्छन् । यी एमिनो एसिडहरू भारोत्तोलन र अन्य ताकतयुक्त खेलाडीले समय–समयमा खाने पनि गरेका छन् । प्रशिक्षक अनि खेल चिकित्सकले कहिलेकाहीँ त्यस्ता औषधि खाने सल्लाह पनि दिन्छन् । जसले गर्दा उनीहरूको शरीरमा सिर्जनात्मक क्रियामा उत्तेजकको प्रभाव पार्ने, शरीरमा मांसपेशीको विकास हुन, शारीरिक वजन घटाउनमा मद्दत पुग्ने जस्ता भ्रमद्वारा ग्रसित हुन्छन् । यी एमिनो एसिडयुक्त औषधि अलग–अलग रूपमा पाइने एमिनो एसिडमा ‘आर्जिनाइन’  र ‘ओर्निथिन’ हुन्, जुन बजारमा प्राकृतिक ‘स्टेरोइड’का रूपमा बेच्ने गरेको पाइन्छ । त्यस्तै आर्जिनाइन र ‘लाइसिन’को यौगिकले शरीरको तौल घटाउन सहायता गर्छ भनी बजारमा बेच्ने गरेको पाइन्छ । आर्जिनाइन र ‘लाइसिन एसिड नै हुन् र यिनीहरू प्राकृतिक खाद्य पदार्थमा पाउन सकिन्छ । 

आर्जिनाइन हाम्रो शरीरमा प्रवेश भइसकेपछि ट्याबलेट पाउडर (चुर्ण) को रूपमा वा प्राकृतिक खाद्य पदार्थबाट प्राप्त भएका हुन् भनी छुट्ट्याउन सकिँदैन । हाम्रो शरीरभित्र यी सबै खाले एमिनो एसिडहरूको पाचन हुन सक्छन् । 

हाम्रो शरीरमा प्रोटिनको निर्माण हुन २० किसिमका एमिनो एसिड आवश्यक पर्छन् र जसमध्ये नौवटा अति आवश्यक एमिनो एसिड प्राकृतिक खाद्यवस्तुबाट प्राप्त गर्नुपर्छ । यी एमिनो एसिड प्राकृतिक खाद्य पदार्थबाट प्राप्त गर्न आवश्यक छ । यी एमिनो एसिडहरू प्राकृतिक रूपमा प्राप्त गर्नु नै सबभन्दा उत्तम उपाय हो । 

शरीरमा मांसपेशी वा तौल वृद्धि गर्नका लागि यी एमिनो एसिड स्वतन्त्र वा यौगिक रूपमा कुन रूपमा लिँदा राम्रो हुन्छ भन्ने कुनै वैज्ञानिक आधार वा प्रमाण छैन र प्रोटिनको अत्यधिक उपभोग गर्दा कुन रूपमा नकारात्मक प्रभाव शरीरमा हुन सक्छ, त्यस्तो प्रकारले एमिनो एसिडहरूको अत्यधिक उपभोगले पनि नकारात्मक प्रभाव पर्न सक्छ । त्यसमाथि एउटै किसिमका एमिनो एसिडको खपत वा शोषणमा नकारात्मक असर पार्नुका अतिरिक्त मांसपेशीय वृद्धि हुने कार्यमा ढिलाइ हुन सक्छ । 

मानिसले नै बनाइएका यस्ता ‘आनाबोलिक स्टेरोइड’ संसारभरि विशेष गरी खेलाडी माझ लोकप्रिय छन् । नेपालमा पनि ‘बेस्ट लिफ्टिङ’, ‘बडी बिल्डिङ’ तथा अन्य खेलका खेलाडीले यसलाई गोप्य रूपमा खाने वा सुईद्वारा यसको प्रयोग गरिएको पाइएको छ । खेलाडीले अल्पकाल या अल्पायुमै ज्यान गुमाइरहेको उदाहरण समय–समयमा पत्रपत्रिकामार्फत सुन्न तथा पढ्नमा आइरहेका छन् । यस्तो हुनु भनेको नै देशका लागि ठुलो नोक्सानी हो । परिवारजनमा यसको नराम्रो असर पुग्ने हुन्छ । त्यसैले राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारा मात्र लगाएर समस्या समाधान हुँदैन । हाम्रो बजारमा अनुगमन गरेको खण्डमा तस्बिर अगाडि आउन सक्छ । विडम्बना, यस्तो गरेको खण्डमा कस्तो कारबाही हुने कुनै किसिमको प्रस्ट कानुन छैन । नियमन गर्ने संस्था भए पनि चिर निद्रामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवाकर लाल अमात्य
दिवाकर लाल अमात्य
लेखकबाट थप