कसरी कमजोर हुँदै गए संसारभरका वामपन्थी ?

थोमस पिकेटी विश्वकै अग्रणी अर्थशास्त्रीमध्ये एक हुन् । उनी दशकौँदेखि असमानताको घातक प्रभावबारे अध्ययन गरिरहेका समाजवादी अर्थशास्त्री हुन् । माइकल स्यान्डल प्रमुख राजनीतिक दार्शनिक हुन् ।
यी दुई बौद्धिक व्यक्तित्व सन् २०२४ मेमा पेरिस स्कुल अफ इकोनोमिक्समा ‘बजारको नैतिक सीमा र वामपन्थको भविष्य’बारे छलफल गर्न भेला भएका थिए । उनीहरूले त्यहाँ विश्वभर उदय भइरहेको दक्षिणपन्थ र उग्रराष्ट्रवादको सामना गर्न उदारवादी तथा वामपन्थीले के गर्नुपर्छ भनी कुराकानी गरे ।
पिकेटी र स्यान्डलले त्यसको केही महिनापछि इमेलमार्फत संवाद गरिरहे । पहिचान र अपनत्वका प्रश्नमा बहस गर्दै सिमानाको महत्त्व, राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादबिच सन्तुलन, आप्रवासीप्रति जिम्मेवारी तथा अमेरिकी राजनीतिक प्रणालीको विश्वसनीयताबारे तिखा र तर्कशील सवाल–जवाफ राख्न थाले । दुवै जनाले आफूलाई लामो समयदेखि उदारवादको आलोचकका रूपमा प्रस्तुत गरिरहेका छन् ।
उनीहरूबिच आजको विश्वका ज्वलन्त प्रश्नबारे मूलतः अमेरिकी र युरोपेली समाज तथा त्यहाँको राजनीतिलाई केन्द्रमा राखेर छलफल भएको देखिन्छ । यसले नेपालको सन्दर्भमा विभिन्न सैद्धान्तिक तथा वैचारिक ज्ञान दिन सक्ने निष्कर्षसहित उनीहरूबिच भएको कुराकानीको अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।
माइकल स्यान्डलः म सिमानाबारे तपाईंको अन्तर्राष्ट्रिय समाजवादी सिद्धान्तबारे परीक्षण गर्दै कुराकानीको सुरुवात गर्न चाहन्छु । देशहरूबिच सहज आवागमन तथा खुला सिमाना हुनुपर्छ भन्ने कुनै जायज कारण छन् ?
थोमस पिकेटीः सहज आवागमन भन्नेबित्तिकै केही खास प्रकारका सार्वजनिक वस्तु तथा सेवा सँगै आइपुग्छन् । यसमा शिक्षा, यातायात वा पर्यावरणजस्ता कुरा पर्छन् । जसमा लगानीको आवश्यकता हुन्छ ।
उदाहरणका लागि युरोपेली संघकै उदाहरण हेरौँ । यो संघका सदस्य मुलुकले आफ्नो सीमाभित्र विद्यार्थीका रूपमा जुनसुकै मुलुकमा गएर पनि अध्ययन गर्न खुला रहने निर्णय गरेका छन् । यो गजबको तरिका युरोपेली संघले गरेको धेरै राम्रो काम हो । भलै विद्यार्थीको अध्ययन खर्चको प्रबन्ध कसरी मिलाउने भन्ने व्यवस्था अझै हुन सकेको छैन ।
नर्वे वा जर्मनीका विद्यार्थी फ्रान्सको विश्वविद्यालयमा जाँदा नगण्य मात्रामा शुल्क लाग्छ । तर, अन्य मुलुक (जस्तैः बंगलादेश वा माली)का विद्यार्थीले भने पाँचदेखि १० हजार युरोसम्म बुझाउनुपर्ने हुन्छ । के यस्तो राम्रो हो त ? म यसै भन्न सक्दिनँ । मलाई अझै खुला भएको, विद्यार्थीको आउने सम्भावना अझ बढेको राम्रो लाग्छ । यसो गर्दैगर्दा अन्तर्राष्ट्रिय कर प्रणालीको पनि व्यवस्था आवश्यक होला । यस्तो खालको अध्ययनमा लाग्ने खर्च त्यहाँबाट व्यवस्था गरिनुपर्छ ।
यो एउटा खास प्रकारको उदाहरण भयो । तापनि, यसले मैले भन्न खोजेको मुख्य कुरालाई बुझाउन सक्छ । यदि हामी विश्वविद्यालय, अस्पताल, आवास, यातायात, पूर्वाधारजस्ता सार्वजनिक सेवामा राम्रो लगानी गर्ने सोच्छौँ भने म स्वतन्त्र आवागमनलाई रोक्नुपर्ने कुनै कारण देख्दिनँ । यो आजको अवस्थामा पक्कै पनि सामान्य विषय होइन । यसका लागि गम्भीर र महत्त्वपूर्ण प्रयासको खाँचो पर्छ । यस्ता प्रयासको उद्देश्य खुला सिमाना र स्वतन्त्र आवागमन लागू गराउने हुनुपर्छ ।
स्यान्डलः धनाढ्य मुलुकले आजको दिनमा जसरी गरिब मुलुकबाट आउने आप्रवासीलाई रोक्दै छन् यसरी रोक्ने, बाहिरै राख्ने वा निकाल्ने अधिकार के उनीहरूलाई छ ?
पिकेटीः तपाईंले भनेको ‘अधिकार’को अर्थ के हो भन्ने कुरा यहाँनिर आउँछ । हामी सबैलाई राम्रो प्रणालीबारे सोच्ने अधिकार छ । राम्रा संस्था बनाउने र त्यसबारे सोच्नुपर्ने त दायित्व छ । यस्तो अवस्थामा ‘आजका दिन युरोप, बाहिरबाट आउने आप्रवासीका लागि यथोचित मात्रामा खुला छ त ?’ भनेर सोध्नुभयो भने मेरो जवाफ ‘छैन’ भन्ने नै हुन्छ ।
हेर्नुस्, कस्तो रणनीतिले आजका दिनमा काम गरिरहेको छ ? हामी भूमध्य सागर पार गर्ने क्रममा अझै १० हजार वा ५० हजार मानिस बिचमै मरून् भन्ने चाहन्छौँ । यसो हुँदा कसैले यसलाई पार गर्न दुस्साहस नगरोस् भन्ने चाहन्छौँ । हामीले गर्न सक्ने काम के यही हो ? हामी भूमध्य सागर वरपर सभ्यताको विकास हुन थालेको दुई हजार वर्षपछि पनि अझै हाम्रो देशमा मान्छे आउलान् भनेर सीमामा बन्दुक बोकेर बसेका छौँ । तपाईंले यो ठीक हो त भनेर मलाई सोध्नुभयो भने मेरो जवाफ यो कुनै हालतमा पनि ठीक होइन भन्ने हुन्छ । यो उचित समाधान होइन ।
हामी आज जति धनी छौँ त्यति यसअघि कहिल्यै थिएनौँ । तर, हामीले धनाढ्यहरूमाथि लोकतान्त्रिक नियन्त्रण रहनुपर्ने कुरा, उनीहरूलाई आम–मानिसका आवश्यकताअनुसार सार्वजनिक वस्तु तथा सेवामा योगदान गराउने तथा समानताका केही महत्त्वपूर्ण मुद्दा बोक्न बाध्य बनाउनुपर्ने बहस छाडेका छौँ । हामी त आप्रवासीलाई पो गाली गर्न थालेका छौँ । हाम्रा सिमाना अलिक बढी नै खुला भए भन्न थालेका छौँ । जब कि खासमा भन्ने हो भने युरोपको ४५ करोड जनसंख्याको दाँजोमा आप्रवासीको आगमनको स्तर र मात्रा धेरै सानो हो ।
स्यान्डलः मैले तपाईंलाई यो विषयमा जोड दिएर सोध्नुको कारण के हो भने यो प्रश्न र यसको जवाफसँग वामपन्थको भविष्य जोडिएको छ । मेरो ठम्याइमा सामाजिक–लोकतान्त्रिक पार्टीहरूको सबैभन्दा ठूलो राजनीतिक कमजोरी उनीहरूले देशभक्ति, समुदाय वा अपनत्वजस्ता शक्तिशाली राजनीतिक भावनामा दक्षिणपन्थीलाई एकाधिकार कायम गर्न सजिलो बनाइदिए । आप्रवासन यस्तो मुद्दा हुन पुग्यो जसले हामीलाई राष्ट्रिय सिमानाको नैतिक महत्त्वबारे घोत्लिन बाध्य बनाउँछ । फलतः हाम्रा सामु आपसी निर्भरता र दायित्वमा जोडिएको समुदायका रूपमा राष्ट्रको नैतिक महत्त्वबारे प्रश्न आइपुग्छन् ।
वामपन्थी राजनीतिको भविष्य नै यस्ता प्रश्नको जवाफ उनीहरू कसरी दिन्छन् भन्नेमा अडिएको छ । देशभक्ति भन्ने विषय दक्षिणपन्थीको जिम्मामा छाड्नु गलत हुनेछ । सामाजिक–लोकतान्त्रिक तथा प्रगतिशील पार्टीहरूले देशभक्ति तथा अपनत्वजस्ता विषयमा आफ्नो धारणा प्रस्ट बनाउन आवश्यक छ ।
उदाहरणका लागि कुनै कम्पनी आफूले वस्तु तथा सेवा बिक्री गरी नाफा आर्जन गरेको मुलुकमा कर तिर्नुको साटो छल्नकै लागि ‘ट्याक्स हेवन’ मुलुकमा जान खोज्छ भने यसलाई आर्थिक देशभक्तिको असफलताका रूपमा व्याख्या गर्न सकिन्न र ? त्यस्ता कम्पनीले आफूले सफलता हासिल गरेका मुलुकमै कर तिर्ने तथा साझा वस्तुमा योगदान गर्नुपर्ने देशभक्तिपूर्ण दायित्व हुँदैन र ? सदस्यता, समुदाय, साझा पहिचान वा अपनत्वजस्ता विषयमा आफ्नो स्पष्ट विचार प्रवाह गर्नुपर्नेमा बितेका केही दशकयता वामपन्थी पार्टीले अप्ठ्यारो समयको सामना गर्नुपरिरहेको छ भन्ने मतमा तपाईं कति सहमत हुनुहुन्छ ?
पिकेटीः अमेरिकामा डोनाल्ड ट्रम्प र फ्रान्समा मेरिन ल पेनजस्ता उम्मेदवारलाई आएको मतको पछाडि मूलरूपमा आप्रवासीको आगमनभन्दा पनि व्यापार प्रतिस्पर्धाका कारण उत्पादनका क्षेत्रमा गुमेको रोजगारी थियो ।
स्यान्डलः तर, असाध्यै न्यून आप्रवासी भएका ठाउँमा पनि आप्रवासीको मुद्दा व्यापक रूपमा उठेको छ । यस्तो किन भयो त ?
पिकेटीः यस्तो किन भयो भने वामपन्थीहरूले व्यापार तथा रोजगारीका मुद्दालाई सम्बोधन गरेका छैनन् । उनीहरूले दक्षिणपन्थी राष्ट्रवादीसँग पहिचानको बहस वा आप्रवासीको मुद्दामा बहस गरेर जित्न गाह्रो छ । यो मामिलामा दक्षिणपन्थी राष्ट्रवादी धेरै विश्वासिलाजस्ता देखिन सक्छन् ।
मेरो विचारमा मतदाताको खास समस्याको सम्बोधन गर्नु मुख्य कुरा हो । अमेरिकाको सन्दर्भमा जहाँ ट्रम्प अत्यधिक मत पाउन सफल भए । यसको मुख्य कारक पक्कै पनि उत्पादनको क्षेत्रमा व्यापक रोजगार कटौती हो । मुस्लिम देश वा अन्यत्रबाट आएका आप्रवासी मुख्य कारक होइनन् । यो गलत कुरा हो ।
हामी फ्रान्समा पनि त्यस्तै देखिरहेका छौँ । त्यहाँ धेरै अघिदेखि नै जाँ–मेरि ल पेनको समर्थन गर्ने मतदाता थिए । उनीहरू उत्तर अफ्रिकाबाट आउने आप्रवासीप्रति आक्रामक थिए । उनकी छोरी मेरिन ल पेनको पार्टी नेसनल र्यालीको अधिकांश मत भने आप्रवासी हुँदै नभएका साना सहरबाट आइरहेका छन् । यस्ता ठाउँमा मुख्य मुद्दाका रूपमा युरोपको व्यापार नीति तथा रोजगारी अन्यत्र पठाउने ‘अफसोरिङ’जस्ता विषय छन् ।
ती मतदाता भनिरहेका छन्– हाम्रो मुख्य समस्या भनेको व्यापरिक प्रतिस्पर्धा हो । हामीलाई त्यो टर्की, चीन, अल्जेरिया वा मेक्सिको जोसँग भए पनि सरोकार छैन । हाम्रो खास चासो रोजगारी गुमेकामा छ ।
निकोलस सार्कोजी फ्रान्सको सत्तामा रहँदासम्म उदार दक्षिणपन्थ र खुला बजारको प्रतिनिधित्व गर्थे । उनले त्यो समूहलाई अपिल गर्न पहिचानबारे कडा रवैया लिने गर्थे । आप्रवासीबारे कठोर बयानबाजी गर्थे । उनले ल पेनका मतदातालाई यसका बाबजुद आकर्षित गर्न सकेका थिएनन् । किनभने, उनीहरूले खोजेकै आर्थिक भूमण्डलीकरण त आर्थिक प्रणालीको स्वरूपमा हेरफेर थियो ।
अर्को पनि मुद्दा छ । यो अमेरिकाका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ । साना सहरहरूमा मानिसले आफूलाई सधैँ अपमानित वा गाली गरिएको महसुस गर्ने गरेका छन् । उनीहरूले आफ्नै सानो घर तथा ठीकठाकको मोटर–गाडी भएकामा आलोचित हुनुपरेको महसुस गरेका छन् । हामीले फ्रान्समा इम्यानुअल म्याक्रोनले लगाएको ‘ग्यास कर’को विरोधमा भएको ‘येल्लो भेस्ट मुभमेन्ट’का बेला त्यस्तो देख्यौँ । काममा जाँदा मोटरमा यात्रा गर्नेलाई पेरिसका सम्भ्रान्तहरूले कार्बन उत्सर्जन र जलवायु परिवर्तनमा दोषी करार गरे । यसले उनीहरूलाई आक्रोशित बनायो । उता ती सम्भ्रान्तहरू आफैँ सप्ताहन्त मनाउन रोम घुम्न जाँदा आफैँले गरेको उत्सर्जनबारे बेपरवाह देखिन्थे । यसले गर्दा निम्न र निम्न–मध्यम वर्गमा समेत नरम–दक्षिणपन्थ तथा वामपन्थ दुवैप्रति मोहभंग हुन पुग्यो ।
वामपन्थीको समस्या त अझ के पनि भयो भने उनीहरूले अर्थतन्त्र सञ्चालनको तौरतरिकाबारे प्रश्न गर्नु त कता हो कता, उनीहरू त आफैँ यो व्यवस्थाको विकासको वाहक बन्न थाले । यदि तपाईं जनतालाई दशकौँदेखि निर्बाध वैश्विक व्यापार तथा पुँजी प्रवाह राजनीतिक नियन्त्रणभन्दा बाहिरका विषय हुन् भन्दै हुनुहुन्छ । आफूले नियन्त्रण गर्न सक्ने भनेकै सिमानामा आप्रवासीको आवागमन हो भन्नुहुन्छ । यसो हो भने अहिले आएर समग्र राजनीतिक बहस नै आप्रवासन र पहिचानको राजनीति वरपर घुम्दा तपाईंले अचम्म मान्नुहुँदैन । यसको बाटो नै त्यही हो । यो त एक खालको पासो हो । हामी यसमा आइपुगेका छौँ । यसबाट कुनै पनि मूल्यमा जोगिनुपर्छ । नत्र यसले आखिरमा उग्र राष्ट्रवादी पक्षलाई जिताई छाड्नेछ ।
स्यान्डलः तपाईंले पहिचान र आर्थिक मुद्दामा जसरी गहिरो फरक देखाउनुभयो यस मामिलामा मेरो बुझाइ अलिक भिन्न छ । विश्वव्यापीकरणको युगको व्यापार नीतिहरूले गर्दा रोजगारी गुमाउनुपरेका कारण ट्रम्प र मेरिन ल पेनजस्ता व्यक्तिले समर्थन हासिल गर्न पक्कै पनि असाध्यै सजिलो भएको छ । पुँजीको निर्बाध प्रवाह र अर्थतन्त्रको वित्तीयकरणका कारण उत्पन्न भएका विस्थापन प्रभाव पनि यसका कारण हुन् । म यसमा त सहमत नै छु ।
तर, यसका प्रभाव पनि दुई प्रकारका छन् । एउटा त रोजगारी गुम्ने, ज्याला नबढ्नेजस्ता आर्थिक प्रभाव भइहाल्यो । अर्को सीमा नीति वा आप्रवासनभन्दा पनि व्यापक रूपमा व्याख्या गरिएको पहिचानको राजनीतिसँग जोडिएको छ । राजनीतिका अभिव्यक्तिजन्य आयाम पहिचानसँग जोडिन्छन् । तपाईंले माथि उल्लेख गर्नुभएको अपमानित वा हेयको सामना गर्नुपरेको अवस्था पनि एउटा राम्रो उदाहरण हो ।
हामीले पहिचान तथा मान्यताको कुरा गर्यौँ । औद्योगिक रूपमा खोक्रो भइसकेका सहरहरूमा बस्ने मानिसले ज्याला नबढेको तथा रोजगारी गुमेको मात्र चिन्ता गरेका छैनन् । उनीहरूले समाजका अन्य सदस्य वा शासन गर्नेहरूले आफूलाई समान नागरिकका रूपमा नहेरेको, पहिचान वा सम्मान नदिएको वा भनौँ आत्मसम्मानको वास्ता नगरेको पनि अनुभूत गरेका छन् ।
हामीले ‘रिगन्गिसन’ दिने राजनीतिलाई बेवास्ता गर्न मिल्दैन । यो एकप्रकार पहिचानकै राजनीति हो । हामीले यसलाई थप गम्भीरतासाथ प्रस्ट पार्नुपर्छ । हामीले यसलाई प्रस्ट बनाउँदै गर्दा उनीहरूका चिन्ता र चासोलाई चिन्ने अनि सम्बोधन गर्नुपर्छ ।
पिकेटीः तपाईंले व्याख्या गर्नुभएको पहिचानको राजनीति जातीय पृष्ठभूमि, धर्म वा छालाको रङका आधारमा हुने पहिचानको राजनीतिभन्दा अलिक भिन्न हो ।
स्यान्डलः पक्कै पनि धेरै भिन्न छ ।
पिकेटीः वामपन्थीले पक्कै पनि यस्तो पहिचानबारे बोल्नुपर्छ । जवाफ पनि दिनुपर्छ । अमेरिकी राजनीतिमा सन् १९६०देखि ८०को दशकसम्म हेर्नुभयो भने त्यति बेला अमेरिकी समाजका सम्भ्रान्तहरू चाहे ती सामाजिक–आर्थिक हुन् वा शैक्षिक नै किन नहोऊन् । उनीहरू मूलतः रिपब्लिकन पार्टीलाई मत दिन्थे । तर, आज हेर्नुस् त सबैभन्दा सम्पन्न तथा झकिझकाउ क्षेत्रका मानिस वास्तवमा डेमोक्र्याटिक पार्टीलाई मत दिइरहेका छन् । यसले ट्रम्पको रिपब्लिकन पार्टीलाई श्रमिक वर्गका मतदातालाई अपिल गर्न सहज बनाइदियो ।
म डेमोक्र्याट पार्टीले सम्भ्रान्तहरूको इलाकामा मत गुमाओस् भन्ने चाहन्छु । उनीहरू यस्ता इलाकामा आफ्नो प्रभाव रहुन्जेल असमानताविरुद्ध गम्भीरतासाथ लड्ने कुरा गर्नै सक्दैनन् । अर्को पक्षले उनीहरूलाई सहजै सम्भ्रान्तवादी देखाइदिन सक्छ । तर, आम–मानिसलाई अपिल गर्न रिपब्लिकनकै भाषामा उनीहरूभन्दा चर्को स्वरमा आप्रवासीको मामिलामा, पहिचानको विषयमा बोल्नुपर्छ भन्ने पक्कै होइन ।
स्यान्डलः मैले त्यो अर्थमा भनेको होइन । तपाईंको कुराले मलाई यही जाडो मौसममा मैले भोगेको सन्दर्भ सम्झाइदियो । म परिवारसँग फ्लोरिडामा बिदा मनाइरहेको थिएँ । हामी बसेको ठाउँकै लिफ्टमा चढ्ने क्रममा एक वृद्धासँग भेट भयो । उनले मलाई ‘तपाईं कहाँबाट हो ?’ भनेर सोधिन् । मैले ‘बोस्टन’ भनेँ । मैले जम्मा त्यति मात्र भनेँ । उनले आफू ओहायोबाट आएको बताइन् । सँगै उनले थपिन्, ‘ओहायोमा हामीलाई कसरी पढ्ने भनेर पनि थाहा छ ।’
म त अक्क न बक्क भएँ । के जवाफ दिने भन्ने नै थाहा भएन । मैले हार्वर्डबाट आएको हुँ भनेकै थिइनँ । मैले केवल बोस्टन भनेको थिएँ । उनले लिफ्टबाट बाहिर निस्कने क्रममा भनिन्, ‘हामीलाई समुद्री तट छेउछाउका मानिसहरू मन पर्दैन ।’
यो एकप्रकार पहिचान राजनीति हो । यसको सम्बन्ध आप्रवासनसँग छैन । यो त अपमानित भएको भावनासँग गाँसिएको छ । यसको सम्बन्ध उनीहरूलाई दिइने सम्मानसँग गाँसिएको छ । आत्मसम्मानसँग छ । मेरो अनुमान के छ भने यदि हामी आर्थिक असमानता घटाउनुपर्छ भनी आशा गर्छौं भने यो कुरा सम्मान, आत्मसम्मान र आदरको व्यापक समानताको अवस्था सिर्जना गरेर मात्रै सम्भव हुन्छ । यसबारे तपाईंलाई के लाग्छ ?
पिकेटीः मलाई यो कुरा एकदमै सही लाग्यो । बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनले लोकतान्त्रिक–समाजवादी एजेन्डाको प्रचार गर्ने गरेका छन् । यसै दिशामा थप निरन्तरता दिँदै भविष्यमा अझ धेरै सम्भावित युवा उम्मेदवार समेटेर डेमोक्र्याटिक पार्टी बोस्टन र सान फ्रान्सिस्कोभन्दा बाहिर देशको ठूलो भागमा आशा र मान्यताको भावना पुनःस्थापित गर्न सक्षम हुन सक्छ भन्ने लाग्छ । युरोपलगायत अन्यत्रको हकमा पनि यस्तै भन्न सकिन्छ ।
स्यान्डलः सही बाटो अवलम्बन गर्न प्रगतिशील आर्थिक एजेन्डा महत्त्वपूर्ण हुन्छ । तर, जसै अमेरिकाको राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमन भयो त्यतिले मात्रै डेमोक्र्याटहरूलाई पुग्दैन । उनीहरूलाई अब नागरिक सम्बन्ध नवीकरण गर्न व्यापक परियोजनाको आवश्यकता छ । कलेजको प्रमाणपत्र नभएका कामदारको काममा आत्मसम्मानको सुनिश्चितता गर्नुपर्छ । ठूला प्रविधि कम्पनी ‘बिग टेक’को शक्तिमा लगाम लगाउने कुरा गर्नुपर्छ । अर्थतन्त्रमा संक्रमणको प्रविधिको स्वरूप तय हुँदा आम–मानिसको पनि भूमिका रहनुपर्छ । ‘टेक्नोक्र्याटिक’ सम्भ्रान्तहरूले थोपर्नेजस्तो एकोहोरो समाधान स्विकार्न बाध्य पार्ने कुरा गर्नुहुँदैन ।
विज्ञप्रति अविश्वास झन् गहिरिँदै गएको छ । यसले मानिसमा एकप्रकार असन्तुष्टि र निर्बलताको भाव भरिरहेको छ । डोनाल्ड ट्रम्प यसैमा टेकेर राजनीति गर्छन् । डेमोक्र्याट (यसमा युरोपका सामाजिक–लोकतन्त्रवादीलाई पनि लिन सकिन्छ)लाई नयाँ शासकीय परियोजनाको खाँचो छ । जसले समुदायमा एकापसमा सघन रूपमा बाँधेर राखोस् । साथै त्यसमार्फत मानिसलाई उनीहरूमाथि शासन गर्ने शक्तिलाई निर्देशन दिने माध्यम पनि मिलोस् ।
पिकेटीः नयाँ घुम्ती सम्भव छ कि छैन भन्ने कुरा त समयले नै बताउँला । तर, के कुराचाहिँ पक्का हो भने डेमोक्र्याटहरूले व्यापक ‘कोर्स करेक्सन’ गर्नै पर्छ । पुनर्वितरणका आकांक्षालाई नजरअन्दाज गरी डेमोक्र्याटिक पार्टी पछिल्ला दशकमा मूलतः उच्च शिक्षा हासिल गरेका तथा धेरै आम्दानी भएकाको पार्टी भइसकेको छ । रिपब्लिकनहरूले व्यापारिक जगत्मा आफ्नो बलियो आधार कायम गरिसकेका छन् । साथै उनीहरू बिनालगानी डेमोक्र्याटहरूलाई खुला व्यापार तथा उदार, सहरी अभिजात वर्गको भूमण्डलीकरणको मामिलामा विभाजित गराएर लोकप्रिय मत आकर्षित गर्न सफल देखिएका छन् ।
स्यान्डलः थोमस ! हामी दुवै जनाले डेमोक्र्याट पार्टीले नवउदारवादी ढंगको भूमन्डलीकरणसँग सिधै सम्बन्ध तोड्नुपर्ने कुरामा जोड दियौँ । यस्तोे भूमण्डलीकरणले व्यापक असमानता ल्यायो । साथै यसले असमानताको समाधान भनेको व्यक्तिको उच्च शिक्षातर्फको गतिशीलता हो भन्नेमा पनि विश्वास नरहने अवस्था ल्यायो ।
हामीले सन् १९९० र २०००को दशकमा डेमोक्र्याटहरू (साथै मुख्य धाराका रिपब्लिकनहरू)ले बारम्बार भन्ने गरेको पनि सुन्यौँ । उनीहरू भन्छन्– ‘तपाईं विश्वव्यापी अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न र जित्न चाहनुहुन्छ भने कलेज पढ्न जानुपर्छ । तपाईंले कति कमाउनुहुन्छ भन्ने कुरा कति सिक्नुहुन्छ भन्नेमा भर पर्छ ।’
धेरैजसो अमेरिकी (प्रायः युरोपेली)सँग आजका दिनमा विश्वविद्यालयको डिग्री नै छैन । त्यसैले शैक्षिक प्रमाणपत्रका आधारमा सिर्जना हुने सम्मानजनक काम र सामाजिक सम्मानवाला अर्थतन्त्र बनाउँछु भन्नु वाहियात कुरा हो ।
भूमण्डलीकरणका क्रममा कलेज जान सकिन्न र डिग्री पाउन सकिन्न भन्नेहरूलाई उनीहरूले पाएको दुःखमा उनीहरू नै जिम्मेवार छन् भन्नु अर्को वाहियात राजनीतिक तर्क हुन जान्छ । यसले सम्भ्रान्तहरूविरुद्ध आक्रोश बढाउँछ । साथै उच्च शिक्षाप्रति विरोध झन् बढाइदिन्छ ।
भर्खरै बिदा भएका राष्ट्रपति जो बाइडेन आफूभन्दा अघिका सरकारको व्यापार नीति र प्रमाणपत्र–केन्द्रित हल्लाखल्लाबाट पछि हटेको श्रेयका हकदार छन् । उनले योग्यतावादी प्रतिस्पर्धाभन्दा कामको सम्मान र गरिमालाई जोड दिने प्रयास गरेकै हुन् । तापनि, केही मानिस उनले ‘कलेज ऋण माफी’का लागि गरेको जोडले पुरानो योग्यतावादी दृष्टिकोणमै फर्काउन खोजेको आशंका गरेका छन् । यसमा तपाईंको विचार के छ ?
पिकेटीः डेमोक्र्याटहरू यदि आफ्नो पार्टीलाई पुनः सामाजिक न्यायप्रति संवेदनशील बनाउन चाहन्छन् । सम्भ्रान्त वर्गको पार्टीका रूपमा चित्रित हुनबाट रोक्न चाहन्छन् । यसो हो भने उनीहरूले अब प्रभावकारी आर्थिक पुनर्वितरण विधिको प्रस्ताव गर्दै खास विशेषाधिकार प्राप्त व्यक्तिको मत गुमाउन तयार हुनुपर्छ । यसो गर्दा सहरी श्रमिक वर्गको आकांक्षाको मात्र नभई ससाना सहर र ग्रामीण क्षेत्रको आकांक्षाको पनि सम्बोधन गर्नुपर्ने हुन्छ । तपाईं विद्यार्थीको ऋण खारेज गर्नेमा सबै कुरा बाजी लगाउन सक्नुहुन्न । तपाईंले घर वा सानो व्यवसाय गर्न ऋण लिएकाहरूको चासो पनि बुझ्नुपर्ने हुन्छ । जनआकांक्षाले धेरै विविध रूप लिन सक्छन् । सबैलाई यथोचित सम्मान दिनुपर्छ ।
स्यान्डलः जनआकांक्षाको चर्चाले हामीलाई अर्थशास्त्र र पहिचानको राजनीतिबिच मधुरो सीमामा लैजान्छ ।
पिकेटीः पक्कै पनि । सामाजिक–आर्थिक मुद्दा र पहिचानको लडाइँ गहिरो गरी जोडिएका हुन्छन् । सामाजिक–आर्थिक आकांक्षा धेरै लामो समय बेवास्तामा परे भने त्यसले अन्ततः गहिरो जरा गाडिएको पहिचानको लडाइँ जन्माउँछ ।
(यो कुराकानी उनीहरूको पुस्तक ‘इक्वालिटीः व्हाट इट मिन्स एन्ड व्हाई इट म्याटर्स’ लेखनका क्रममा गरेको वार्तालापबाट तयार गरिएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
-
आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
-
शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड