बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
शिक्षा सरोकार

‘अब सिकाइको आधार परिवर्तन गर्नुपर्छ’

बिहीबार, १० माघ २०८१, १० : ३३
बिहीबार, १० माघ २०८१

काठमाडौँ । शिक्षण सिकाइको आधार परिवर्तन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिक्षण सिकाइको आधार परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले सन् २००० भन्दा अघि र पछि विश्वव्यापी रूपमा पाठ्यक्रम विकासको ट्रेण्ड परिवर्तन भएको बताए । सन् २००० भन्दा अघिसम्म विश्वव्यापी रूपमा विद्यार्थीले के जानेको छ भन्ने कुरालाई बढि केन्द्रित गरिन्छ भने अहिले आएर विद्यार्थीले के गर्न सक्छ भन्नेतर्फ केन्द्रित भइरहेको उनले बताए ।  

सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिवर्तन गर्ने काम गरिरहेको श्रेष्ठले बताए । विद्यालय तहको पाठ्यक्रममा ४४ वटा गुण, विशेषता, क्षमता हुनुपर्ने उनले प्रस्ट पारे । जसमा चिन्तन, राष्ट्रिय भावना, अन्तरवैयक्तिक सिपजस्ता विषय हुनुपर्ने उनको भनाइ छ । 

दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्ने कलासमेत शिक्षण सिकाइ अन्तर्गत रहने श्रेष्ठले बताए । त्यही आधारमा केन्द्रले घरायसी कार्यलाई समेत मूल्यांकनको आधार बनाइएको उनले प्रस्ट पारे ।

समयका आधारमा घरायसी कामको मूल्यांकन गरिने र घरमा गरेको कामलाई ६० घण्टा मानिने श्रेष्ठले जानकारी दिए । त्यसमा विषयगत सम्भावित घरायसी कामको सूची तयार पारिएको र सोही आधारमा अभ्यास गरिने उनले बताए । त्यसरी घरायसी काम लगाउँदा विद्यार्थीको शारीरिक क्षमताभन्दा बढी काममा लगाउन नपाइने उनको भनाइ छ ।

यसका साथ साथै पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा विज्ञान र गणित विषयमा खुला प्रश्न राख्न खोजिरहेको श्रेष्ठले बताए । त्यसमा विद्यार्थीले तर्कको आधारमा उत्तर दिन मिल्ने उनले जानकारी दिए ।

IMG_0065

कक्षा ११ र १२ मा २ वटा अतिरिक्त विषय लिन सक्ने व्यवस्था समेत गर्न लागिएको श्रेष्ठले बताए । हाल एक विषयमात्रै अतिरिक्त लिन पाउने व्यवस्था रहेकोमा अब विद्यार्थीको रुची अनुसार दुई विषय लिन पाउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

प्रारम्भिक बालविकास विज्ञ डाक्टर मिनाक्षी दाहालले ईसीडीको पाठ्यक्रम परिमार्जनको क्रममा रहेको बताइन् । ईसीडीको पाठ्यक्रम शिक्षकहरूले बुझ्ने खालको नभएको बताउँदै यसलाई सिकाउने भन्दा पनि सिक्नका लागि आधार मान्नुपर्नेमा जोड दिइन् ।

४० देखि ६० महिनाको बालबालिकाले ईसीडीको पढाइ सकेपछि कक्षा १ मा भर्ना हुने गरेको बताउँदै उनले त्यो अवधिमा सिकेको कुराले कक्षा १ मा भर्ना हुन योग्य भयो वा भएन भन्ने प्रमुख विषय रहेको दाहालले बताइन् । अहिले तयार पारिएको नयाँ पाठ्यक्रम स्वीकृतिको चरणमा रहेको उनको भनाइ छ ।

शिक्षाविद् विमल फुयालले घरायसी कामलाई समेत मूल्यांकनको आधार बनाउनु निकै राम्रो विषय भएको बताए । आज सिक्ने कुराले १० वर्षपछि प्रभाव पर्ने भएकाले त्यही अनुसारको पाठ्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए ।

पाठ्यक्रम निर्माणमा विद्यार्थीहरूको सिकाइ, भोगाइलाई समेत समेट्नुपर्ने फुयालले बताए । अभिभावकहरूलाई समेत यसमा जोड्नुपर्ने उनको भनाइ छ ।

काठमाडौँ विश्वविद्यालयमा पीएचडी अध्ययनरत रमिला सुवेदीले घरको कामलाई समेत मूल्यांकन गर्न खोज्दा त्यसबाट पर्न सक्ने चुनौतीका विषयमा सचेत हुनुपर्ने बताइन् ।

चितवनका विश्वास चेपाङले अहिलेको शिक्षा विदेश जानका लागि पूर्वतयारीको रूपमा प्रयोग भइरहेको बताए । आदिवासी–जनजातिहरूले सिकेको सिप, ज्ञानलाई समेत समेट्दै पाठ्यक्रम निर्माण गर्न उनले सुझाव दिए ।

नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णु भण्डारीले १० वर्षमा हुने गरेको पाठ्यक्रम परिवर्तन ५ वर्षमा गर्न सुझाव दिए ।

डाक्टर लक्ष्मी पौडेलले पाठ्यक्रम विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताइन् । पाठ्यक्रमलाई जीवन, रोजगारी सिपसित जोड्नुपर्ने उनको भनाइ छ ।

गणित शिक्षक सागर दाहालले गणित विषयमा आगामी दिनमा काम नलाग्ने खालका विषय समावेश गरिएको बताउँदै त्यस्ता विषय हटाउन सुझाव दिए । गणित विषयलाई समेत जीवनसँग जोडेर अघि बढ्नुपर्ने उनले प्रस्ट पारे ।

शिक्षाविद् विद्यानाथ कोइरालाले सिक्ने र सिकाउने काम अब शिक्षक विद्यार्थी दुवैको भएको बताउँदै विगतमा शिक्षकले सिकाउने र विद्यार्थीले सिक्ने भन्ने दिन गएको तर्क गरे ।

अहिले विद्यार्थी चलाख भइरहेको अवस्थामा शिक्षकहरू भने लण्ठु भएको कोइरालाको भनाइ छ । शिक्षकलाई र अभिभवाकहरूलाई समेत अभिमुखीकरण तालिम दिनुपर्ने अवस्था आएको उनले बताए ।

‘१ लाख विद्यार्थी विदेश गइरहेका छन् । ७७ लाख विद्यार्थी त नेपालमै पढिरहेका छन् । हामीलाई अझै विदेश जाने एक लाखको चिन्ता छ । ७७ लाखको बारेमा केही छलफल नै हुँदैन । यसमा गम्भीर हुनुपर्छ,’ कोइरालाले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनको तयारीमा रहेका शिक्षकहरूलाई आन्दोलन रोकेर कक्षाकोठामा विद्यार्थीलाई पढाउन ध्यान दिन आग्रह गरिन् ।

शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्नका लागि दबाब दिने भन्दै काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेको सन्दर्भलाई संकेत गर्दै उनले आन्दोलन व्यवस्था परिवर्तनका लागि हुने गरेको तर शिक्षकहरूले गर्न खोजेको आन्दोलन जायज नभएको बताइन् ।

अहिले विद्यालय शिक्षा ऐन संसदीय समितिमा छलफलको क्रममा रहेको बताउँदै उनले यस्तो अवस्थामा आन्दोलन गर्छु भन्नुको अर्थ नहुने बताइन् । उनले पाठ्यक्रममा समयसापेक्ष परिवर्तन गर्न खोजिएको बताउँदै यसले विद्यार्थीलाई सिप र श्रमसँग जोड्न मद्दत पुग्ने प्रस्ट पारिन् ।

कार्यक्रममा पाठ्यक्रम परिमार्जन र गुणस्तरका विषयमा विभिन्न सरोकारवाला निकायबाट जिज्ञाशा तथा सुझाव दिइएको थियो । केन्द्रका महानिर्देशक श्रेष्ठले पाठ्यक्रम परिमार्जनका क्रममा ती सुझाव समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप