छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुससम्म जीवन बीमा कारोबार गर्ने कम्पनीहरूले ८० अर्ब ६६ करोड बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् । अघिल्लो वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन भएको थियो । यो वर्ष भएको बीमा प्रिमियम अघिल्लो वर्षभन्दा ८.६४ प्रतिशत बढी हो । गत वर्ष यस्तो वृद्धिदर जम्मा ३.६४ प्रतिशत मात्रै थियो ।
यो वर्ष सङ्कलित रकममध्ये प्रथम बीमा शुल्कबापत १५ अर्ब ८४ करोड, वैदेशिक रोजगारी बीमा अन्तर्गत १ अर्ब ४३ करोड र नवीकरण बीमाशुल्क अन्तर्गत ६३ अर्ब ३८ करोड रुपैयाँ सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूले ७४ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका थिए । यसमध्ये प्रथम बीमा शुल्कबापत १३ अर्ब ८१ करोड र नवीकरणीय बीमा अन्तर्गत ६० अर्ब ४० करोड रुपैयाँ सङ्कलन भएको थियो । अघिल्लो वर्ष वैदेशिक रोजगार बीमालाई प्रथम बीमाशुल्क अन्तर्गत नै समावेश गर्ने व्यवस्था गरिएको थियो ।
त्यस्तै, तीवनटा माइक्रो लाइफ इन्स्योरेन्सले ५१ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका छन् । अघिल्लो वर्ष जम्मा २ करोड २१ लाख रुपैयाँ सङ्कलन भएको थियो । जीवन र लघु जीवन बीमा समेत गरी यो वर्षको कुल बीमा प्रिमियम सङ्कलन वृद्धिदर ९.३४ प्रतिशत रहेको प्राधिकरणको तथ्याङ्क छ ।
- यस्तो छ बीमा कम्पनीहरूको बीमाशुल्क सङ्कलन
यो अवधिमा सङ्कलित कुल बीमा प्रिमियममध्ये नेपाल लाइफले सबैभन्दा धेरै २२ अर्ब ४५ करोड सङ्कलन गरेको छ । त्यस्तै, नेशनल लाइफले ९ अर्ब ६० करोड, एलआईसी नेपालले ९ अर्ब ४६ करोड, हिमालयन लाइफले ८ अर्ब ३३ करोड, सूर्यज्योति लाइफ ५ अर्ब ६ करोड तथा एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क उठाएका छन् ।
त्यस्तै, सिटिजन लाइफले ३ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड, मेट लाइफ २ अर्ब ८६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड, आईएमई लाइफले २ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड र सन नेपाल लाइफले २ अर्ब रुपैयाँ प्रिमियम शुल्क सङ्कलन गरेका छन् ।
यीबाहेक गार्डियन माइक्रो लाइफले २० करोड २० लाख, क्रेट लाइफले १८ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
- कुन कम्पनीको वृद्धिदर कस्तो ?
यो अवधिमा सिटिजन्स लाइफ र रिलायबल नेपाल लाइफले बीमाशुल्क संकलनमा २० प्रतिशतभन्दा धेरै वृद्धिदर हासिल गरेका छन् । त्यस्तै, प्रभु, सूर्यज्योति र आईएमई लाइफले १५ प्रतिशतभन्दा धेरै वृद्धिदर हासिल गर्दा सानिमा, एशियन, सन नेपाल, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क वृद्धिदर दोहोरो अङ्कमा रहेको छ ।
त्यसबाहेका एलआईसी नेपाल, मेटलाइफ र हिमालयन लाइफ इन्स्योरेन्सको वृद्धिदर एकल अङ्कमा छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवनबीमा कम्पनीको प्रिमियम वृद्धिदर भने नकारात्मक रहेको छ । उक्त कम्पनीले बीमाशुल्क संकलनमा ४१ प्रतिशत बराबरको गिरावट व्यहोरेको छ ।
लघुबीमा कम्पनीको वृद्धिदर भने उच्च छ । अघिल्लो वर्ष सुरुको अवस्थामा रहेका कारण कम प्रिमियम सङ्कलन गरेकोले यो वर्ष ती कम्पनीको वृद्धिदर उच्च देखिएको हो ।
- लघुबीमा र वैदेशिक रोजगार बीमाको अवस्था
पुस मसान्तसम्म ३९ लाख वटा लघुबीमालेख सक्रिय रहेका छन् । यसबापत चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १ अर्ब २८ करोड रुपैयाँ बराबरको प्रिमियम सङ्कलन भएको छ । लघुबीमाका लागि नेशनल, सिटिजन्स र सूर्य लाइफ सबैभन्दा अगाडि रहेका छन् ।
त्यस्तै, पुस मसान्तसम्म २३ लाख ५८ हजार वटा वैदेशिक रोजगार बीमा सक्रिय अवस्थामा देखिएको छ । यसबापत ६ महिनाको अवधिमा मात्रै १ अर्ब ६६ करोड रुपैयाँ सङ्कलन भएको प्राधिकरणले जनाएको छ ।
- बीमाशुल्क संकलनको प्रदेशगत अवस्था
प्रादेशिक आधारमा हेर्दा कुल बीमा प्रिमियममध्ये वाग्मतीमा ३४ अर्ब ८५ करोड, लुम्बिनीका १२ अर्ब ९७ करोड, कोशीमा १० अर्ब ६ करोड, गण्डकीमा ८ अर्ब ४३ करोड, मधेसमा ७ अर्ब ३७ करोड, सुदूरपश्चिममा ५ अर्ब ४ करोड र कर्णालीमा २ अर्ब ४२ करोड रुपैयाँ प्रिमियम सङ्कलन भएको छ ।
त्यस्तै, कुल १ करोड ४० लाख सक्रिय बीमालेखमध्ये बाग्मतीमा ९८ लाख ३७ हजार, कोशीमा ११ लाख १४ हजार, लुम्बिनीमा १० लाख २३ हजार, गण्डकीमा ६ लाख ५२ हजार, मधेसमा ६ लाख ८ हजार, सुदूरपश्चिममा ५ लाख ३५ हजार र गण्डकीमा २ लाख ६८ हजार छन् । वाग्मतीले मात्रै संख्यामा ७०.०५ प्रतिशत र बीमा प्रिमियमका आधारमा ४२.३९ प्रतिशत हिस्सा बाग्मती प्रदेशको मात्रै रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड