‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
सार्क सम्मेलन नभएको एक दशक पूरा भयो । अझै हुने छाँटकाँट छैन । सरकारले नेपाल अध्यक्ष–राष्ट्र भएको नाताले सम्मेलन गर्न दबाब दिँदै आएको छ । तर, त्यसको प्रभाव परेको देखिँदैन । बरु भारतले सार्कको विकल्पमा बिम्स्टेकलाई रणनीतिक रूपमा अगाडि बढाएको छ । के सार्कको औचित्य सकिन लागेको हो ? यसको सम्मेलन किन भइरहेको छैन ? यसमा दोषी को हो ? समाधान कसरी निकाल्ने ?
रातोपाटीकर्मी एसके यादवले यिनै विषयमा विदेश मामिलाका जानकार गोपाल खनालसँग कुराकानी गरेका छन् । एमालेका विदेश विभाग सदस्यसमेत रहेका उनले आफ्ना विचार निजी रहेको बताएका छन् । प्रस्तुत छ, खनालसँग गरिएको कुराकानीको सम्पादित अंशः–
- नेपालले सार्कको विषयलाई जोडतोडले उठाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो दिएका देखिन्छ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले पनि पटक–पटक कुरा उठाइरहेकै छिन् । अझै किन सकारात्मक परिणाम आउन सकेको छैन ?
नेपालमा जुनसुकै पार्टीको सरकार गठन भए पनि सार्कलाई प्रभावकारी क्षेत्रीय सहयोग समूह बनाउन चाहेका हुन्छन् । प्रधानमन्त्री, मन्त्री वा पार्टीहरू पनि सार्कबारे गम्भीर हुन्छन् । आफ्नो कुरा राख्दा प्राथमिकतामै राखेका हुन्छन् । नेपाल सार्कको संस्थापक भएका कारण उसको प्रतिबद्धतामा प्रश्न उठाउने ठाउँ छैन ।
सार्क पछिल्लो समय नचल्ने अवस्थामा पुगेको छ । त्यसलाई मध्यनजर गरी नेपाल सदस्य तथा अहिलेको अध्यक्ष–राष्ट्र भएको नाताले नवीनतम् ढंगले सोच्नुपर्छजस्तो लाग्छ । सार्कको चार्टरले गरेको व्यवस्थामा त्यसका उद्देश्यहरूलाई सम्बोधन गरी सार्कका सदस्य–राष्ट्रबिच नयाँ खालको विश्वास र समझदारी कायम गर्नुपर्छ ।
सार्कको १५औँ सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो । अध्यक्ष–राष्ट्रको नाताले त्यसलाई सफल बनाउन चाहेको थियो । तर, अन्त्यमा गएर स्थगित भयो । अहिलेसम्म हुन सकेको छैन ।
- सार्क सम्मेलन त्यति बेला किन भएन र हालसम्म किन हुन सकिरहेको छैन ?
मुख्य रूपमा भन्ने हो भने मैले सार्क राष्ट्रहरूबिच विश्वासको संकट देखेको छु । खासगरी भारत र पाकिस्तानबिच त्यस्तो समस्या देखिएको छ । यी दुई मुलुकबिच विश्वासकै संकट भएका कारण तोकिएको समयमा सम्मेलन हुन सकेन । हालसम्म त्यही कारणले हुन सकिरहेको छैन ।
भारतको दाबीअनुसार पाकिस्तानबाट उरीमा आक्रमण हुँदा मानवीय क्षति भयो । त्यसपछि भारतले सम्मेलनमा सहभागी नहुने घोषणा गर्यो । भुटान, बंगलादेशजस्ता देशले त्यसको समर्थनमा विज्ञप्ति जारी गरेपछि सम्मेलन स्थगित गर्ने अवस्था आएको थियो । सार्क साझा समस्याको साझा समाधान गर्ने जुन मञ्च हो त्यसलाई प्रभावित गर्नुहुँदैनथ्यो ।
जसले जे भने पनि सार्कमा सबभन्दा ठुलो र बलियो राष्ट्र भारत नै हो । उसले नचाहँदासम्म सार्कको शिखर सम्मेलन हुन सक्दैन । अफगानिस्तानसहित सार्क राष्ट्रले अब नयाँ ढंगबाट एउटा समझदारी बनाएर जानुपर्छ । बरु भारत र पाकिस्तानलाई हामीले प्रस्ट पार्नुपर्छ कि तिमीहरू संवाद र छलफलबाट विवाद मिलाऊ । त्यसका लागि हामीले के गर्नुपर्छ ? हामी सहयोग गर्न तयार छौँ । तर, यसरी लामो समय सार्कलाई निष्क्रिय गरेर राख्नुहुँदैन ।
- के दुई देशको विवादका कारण कुनै एउटा अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनको सम्मेलन रोक्न मिल्छ ?
सम्मेलन रोक्न मिल्दैन । सार्कको चार्टरमा पनि यो कुरा कतै उल्लेख छैन । चार्टरले साझा समस्याको साझा समाधान गर्नु आवश्यक रहेको भनेको छ ।
भारत र पाकिस्तानको बिचमा समझदारी कायम हुनु नै पर्छ । अरू सदस्य–राष्ट्रहरूको बिचमा त्यो तहको समस्या देखिँदैन ।
दक्षिया एसियामा रहेका देशहरूको समग्र विकासका लागि गठन भएको हो सार्क । त्यसमा आतंकवाद, सुरक्षा, आर्थिक विकास, स्वास्थ्य, खाद्यान्न सुरक्षा, जलवायु परिवर्तनलगायत विषय छन् । यस क्षेत्रका देशले भोगेका साझा समस्या समाधान गर्न नै सार्क गठन गरिएको हो । सबै देशले यसमा आआफ्नो योगदान दिएर साझा मुद्दा, साझा विचारलाई एकसाथ अगाडि बढाउनुपर्ने सहमति छ । त्यसमा कुनै राष्ट्रले यो वा त्यो बहानामा सार्कलाई कमजोर बनाउन मिल्दैन ।
चार्टरअनुसार कुनै देशले मानेन भने पनि सार्क सम्मेलन गर्न सक्ने व्यवस्था छ । यदि देशहरूको बिचमा कुनै समस्या छ भने त्यसलाई मिलाउने काम सार्कको नै हो । त्यसैले भारत र पाकिस्तानबिच तनाव उत्पन्न हुँदैमा सार्कलाई प्रभावहीन बनाउनु दुर्भाग्यपूर्ण हो ।
यसो भनिरहँदा म के भन्न चाहन्छु भने नेपाल सानो राष्ट्र होइन । भारत र चीनको बिचमा रहेको कारण सानो देखिएको हो । यूएनमा दर्ता रहेका देशहरूको सूची हेर्दा नेपाल खासै सानो होइन । मध्यम खालको देश हो । जसकारण नेपाललाई यस्तो क्षेत्रीय तथा उपक्षेत्रीय खालको संगठन चाहिन्छ । यस्ता मञ्चहरूमा नेपालले सक्रिय सहभागिता जनाउनुपर्छ ।
भारतका लागि सार्क झन् महत्त्वपूर्ण हो जस्तो लाग्छ । नरेन्द्र मोदी र एस जयशंकर टिमले जसरी अहिले भारतको अन्तर्राष्ट्रिय इमेज बढाइरहेको छ, भारतलाई जसरी शक्ति–राष्ट्र बनाउने प्रतिस्पर्धा गरिरहेको छ त्यसका निम्ति पनि सार्क चाहिन्छ ।
जयशंकरले ग्लोबल साउथको नेतृत्व गरेका छन् । पश्चिमले नेतृत्व गरेको विश्व आर्थिक व्यवस्थाले हाम्रो समस्या समाधान गर्न सक्दैन भनेर मोदी र जयशंकर टिमले जसरी नेतृत्व लिएको छ त्यसका लागि पनि सार्क अपरिहार्य छ ।
- यसरी हेर्दा भारतलाई पनि सार्क चाहिने संगठन हो । तर, उसले बिम्स्टेकलगायत अन्य संगठनलाई सक्रिय बनाइरहेको देखिन्छ । अब नेपाल पनि बिम्स्टेकमा सक्रिय हुने हो कि के हो ?
होइन । नेपालले अहिलेसम्म त्यस्तो केही बोलेको छैन । सार्क र बिम्स्टेकलाई तुलना गर्न मिल्दैन । दुवैको आआफ्नो महत्त्व छ । नेपाल दुइटाको सदस्य राष्ट्र हो । भारतजस्तो ठुलो देशले बिम्स्टेकलाई मात्र होइन, सार्कलाई पनि सक्रिय बनाएर अगाडि लैजानुपर्छ । दुवै संगठन फरक–फरक भएका कारण एउटालाई सक्रिय र अर्कोलाई निष्क्रिय बनाउन मिल्दैन । त्यो गर्नु पनि हुँदैन ।
जसले जे भने पनि सार्कमा सबभन्दा ठुलो र बलियो राष्ट्र भारत नै हो । उसले नचाहँदासम्म सार्कको शिखर सम्मेलन हुन सक्दैन । अफगानिस्तानसहित सार्क राष्ट्रले अब नयाँ ढंगबाट एउटा समझदारी बनाएर जानुपर्छ ।
सार्कको विकल्प बिम्स्टेक होइन भन्ने कुरा भारतले बुझ्नुपर्छ । सार्कमा पाकिस्तान छ । बिम्स्टेकमा छैन । पाकिस्तानबिना अरू कुनै सहयोग संगठनलाई अगाडि बढाउन चाहेको छ भने यस्ता दक्षिण एसियाली सहयोग संगठनमा शान्ति–सुरक्षाको विषयमा प्रश्न उठ्न सक्छ ।
दक्षिण एसियामा अहिले जसरी शान्ति–सुरक्षा व्यवस्था कायम गर्नु आवश्यक छ त्यसका लागि भारत र पाकिस्तानको बिचमा समझदारी कायम हुनु नै पर्छ । अरू सदस्य–राष्ट्रहरूको बिचमा त्यो तहको समस्या देखिँदैन । त्यसैले सार्कको विकल्पमा बिम्स्टेकबारे सोच्नु पनि सकिँदैन र सोच्नु पनि हुँदैन । नेपालले सार्कलाई बलियो र क्रियाशील बनाउन चाहन्छ ।
- भारतीय पक्षबाट सार्कको बारेमा जयशंकर र अमित शाहहरू बोलिरहेका छन् । उनीहरू यो सन्दर्भमा आतकंवादको कुरा विशेष रूपमा उठाउने गर्छन् । तपाईंलाई यसमा नेपालको बुझाइ के हो भन्ने लाग्छ ?
सार्कलाई एउटा भूराजनीतिक इकाईका रूपमा पनि हेर्नुपर्छ । सार्कको चार्टरको एउटा मूल धारणा भनेको आतंकवादविरुद्ध साझा लडाइँ पनि हो । आतंकवादलाई समाप्त गर्न साझा रूपमा लड्नुपर्छ भनी चार्टरमै उल्लेख छ । त्यसैले नेपाल कुनै पनि आतंकवादको पक्षमा छैन । त्यसको कल्पना पनि गर्न सकिँदैन ।
विश्वले नेपाल गौतम बुद्धको देश हो भनी मानेको छ । नेपाल कुनै पनि हिंसाको पक्षपाती होइन । विश्वको आतंकवाद जरैदेखि समाप्त हुनुपर्छ भनी मान्यता नेपालले राख्छ ।
भारतले भन्दै आएको आतंकवादलाई समाप्त गर्न नेपाल हरदम साथ रहन्छ । त्यसका लागि सहयोग गर्छ । गरिरहेको पनि छ । भारतले जसरी दाबी गरिरहेको छ त्यसमा गम्भीर हुनुपर्ने अवस्था छ । कतिपय अवस्थामा पाकिस्तानबाट त्यस्ता गतिविधि भएको कुरा बाहिर आएको छ । यसलाई समाधान गर्न सार्क राष्ट्रहरू साझा रूपमा लाग्नुपर्छ ।
भारतको बुझाइ के छजस्तो लाग्छ, नेपाल सार्कको अध्यक्ष–राष्ट्र भएको कारण पाकिस्तानले लगातार आक्रमण गरिरहेको छ । त्यसमा नेपाल संवेदनशील भइदिनुपर्छ । भारतले जसरी लगातार कुरा उठाइरहेको छ त्यसमा पाकिस्तानले अझै महसुस नगरेजस्तो देखिन्छ । यसमा पाकिस्तान गम्भीर हुनुपर्छ । उसले कुनै पनि आतंकवादको पक्षमा नरहेको विश्वास दिलाउनुपर्छ । भारत पनि लिबरल हुनुपर्छ । नेपाल यसमा के सहयोग गर्नुपर्छ ? कस्तो भूमिका खेल्नुपर्छ ? त्यसका लागि तयार छ ।
- चीनले सार्क कमजोर भइरहेका बेला दक्षिण एसियाली राष्ट्रहरूसँग सम्पर्क बढाइरहेको छ । यसको संकेत के हो ?
चीन विश्वको दोस्रो अर्थतन्त्र देश बनेको छ । पहिलो शक्ति–राष्ट्र बन्ने तयारीमा छ । त्यस्तो चीन आफ्नो शक्ति महसुस गरेर अब देखिन थालेको छ । प्रोएक्टिभ डिप्लोमेसीलाई अगाडि बढाएको देखिन्छ । ब्याक यार्ड डिप्लोमेसीअन्तर्गत आफ्नो वरपर प्रभाव कायम गर्ने, पहिलादेखि प्रभाव छ भने त्यसलाई अझ पुनःस्थापित गर्ने, जहाँ उपस्थिति छैन त्यहाँ उपस्थिति देखाउने चीनको नीति देखिन्छ ।
चीनको सीमा १४ देशसँग जोडिएको छ । ती सबैसँग उसले निकट सम्बन्ध कायम राख्न कोसिस गर्छ र गरिरहेको छ पनि । त्यसको रिफ्लेक्सन दक्षिण एसियामा देखिएको हो ।
चीन र भारतको कुरा गर्नुहुन्छ भने सधैँ शत्रुता र कटुतापूर्ण सम्बन्ध छैन । ती देशबिच सहकार्य र समझदारी भइरहेको हुन्छ । अस्ति २४ को अन्त्यतिर संवाद भयो र ६ बुँदे सम्झौता नै भएको छ ।
भारत ब्याक यार्ड डिप्लोमेसीअन्तर्गत दक्षिण एसियाका देशहरूमा आफ्नो प्रभाव रहेको र रहनुपर्छ भन्ने ठान्छ । त्यो प्रभाव कहिलेसम्म राख्ने ? त्यो मुख्य कुरा हो । चीनले के ठान्छ भने कुनै पनि देश कसैको पेवा होइन । हाम्रा पनि सामरिक स्वार्थ छन्, हामी पनि किन त्यहाँ जाने भनेर ती देशमा आफ्नो सम्पर्क बढाइरहेको छ ।
चीन सार्कको सर्वेक्षक राष्ट्र पनि हो । हामीले उसलाई सार्कमा ल्याउनुपर्छ भन्ने लाग्छ । सार्कको ठुलो नेता भारत नै हो । भारतले अलिक ठुलो छाती बनाएर देखाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?
-
त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपलका लागि दुई जनाको मात्र आवेदन