बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
मकवानपुर । बागमती प्रदेश सरकारले ५ सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । २०८० सालदेखि हालसम्म प्रदेश सरकारको सहकारी हेर्ने मन्त्रालयले ५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । अहिले सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, काठमाडौँको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र ललितपुरको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
गत भदौ २१ मा पहिलो पटक सिभिल सहकारी, २०८१ कात्तिक ११ मा दर्शन सहकारी र पुस २८ मा नेशनल नमोबुद्ध, लालीगुँरास र सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । समस्याग्रस्त घोषणा गरिएसँगै नेशनल नमोबुद्ध र लालीगुँरास सहकारीमा प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँले शिल गरिसकेको छ । कार्यालयले सो सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिक्सहरू सिज गरेको छ भने खातासमेत रोक्का गरिसकेको छ ।
यी सहकारीहरूको समस्या व्यवस्थापन गर्न गत असार १० मा कार्यालय स्थापना गरेर काम थालेको उक्त समितिले साउनदेखि औपचारिक रूपमा काम थालेको थियो । १४ जना कर्मचारीको दरबन्दी कायम गरी काम सुरु गरेको समितिले ४ वटा सहकारीको व्यवस्थापन गर्ने काम गरिरहेको छ ।
सुमेरुमा बिहीबार शिल लगाइने
गत २८ पुसमै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा भने कार्यालयले हालसम्म शिल गर्न सकेको छैन । एउटै नामका ३ सहकारी देखिएको र उक्त विषय मिलाउनु पर्ने भएकाले सुमेरु सहकारीमा शिल गर्न कठिन भएको थियो । काठमाडौँ, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौँको सुमेरु सहकारीले एकीकरणको सम्झौतासमेत भएकाले शिल गर्न समस्या भएको थियो ।
कार्यालयका प्रमुख महेश आचार्यका अनुसार समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान भएको र बिहीबार शिल गरी आवश्यक कागजात तथा सिस्टम सिज गरिनेछ । सोही अनुसार हेटौँडामा छलफल भइ हाललाई ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने तयारी रहेको उनले बताए ।
एकीकरणको सहमति भए पनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौँको सुमेरु सहकारीमा शिल नगर्ने निर्णय भएको आचार्यको भनाइ छ । तत्कालका लागि ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने र अनुसन्धानको क्रममा संलग्नता देखिए काठमाडौँको सुमेरुमा पनि शिल गरेर अघि बढ्ने निर्देशन प्राप्त भएको उनले बताए ।
५ सहकारीको बिगो कति ?
कार्यालयका अनुसार २ हजार ५०० भन्दाबढी सदस्य रहेको सिभिल सहकारीका एक हजार बढी सदस्यहरूले ५ अर्ब रुपैयाँभन्दा बढीको मागदाबी गरेका छन् । सोही अनुसार सो सहकारीको बिगो निर्धारण गरी आवश्यक प्रक्रिया अघि बढाइएको आचार्यले बताए ।
सो सहकारीको समस्या व्यवस्थापन गर्न समितिले गत असोज २२ मा बचतकर्तालाई सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा बचतकर्ताहरू प्रमाणसहित रकम फिर्ताको मागदाबी गर्न समितिको सम्पर्कमा आइरहेको उनको भनाइ छ ।
हालसम्म सो सहकारीका १ हजार ४९१ जना बचतकर्ताको ६ अर्ब ४ करोड ६ लाख ४१ हजार रुपैयाँको मागदाबी भएको आचार्यले जानकारी दिए । केही बचतकर्ताहरू सम्पर्कमा नआएको र उनीहरूको पनि विषय समाधान गर्नेगरी थप प्रक्रिया अघि बढाइएको उनले बताए । सबै सदस्यले मागदाबी पेस गर्दा सिभिलको करिब ८ अर्ब रुपैयाँको दायित्व देखिन सक्ने अनुमान छ ।
यता विरेन्द्र महर्जन अध्यक्ष रहेको सुमेरु सहकारीले २ अर्ब २५ करोड १४ लाख रुपैयाँ बचत फिर्ताको मागदाबी छ । सो सहकारीको १३ अर्बभन्दा बढीको सम्पत्ति रहेको अनुमान छ भने ७ अर्बभन्दा बढीको दायित्व रहेको जनाइएको छ ।
राजकुमार तामाङ अध्यक्ष रहेको नेशनल नमोबद्ध सहकारीका ७२ बचतकर्ताले बचत फिर्ता माग गर्दै उजुरी दिएका थिए । नेशनल नमोबुद्धको १ अर्ब ५२ करोड रुपैयाँ दायित्व देखिएको छ भने ७० करोड रुपैयाँको सम्पत्ति रहेको मन्त्रालयले जनाएको छ ।
धनबहादुर तामाङ अध्यक्ष रहेको लालीगुँरास सहकारीविरुद्ध ९७२ बचतकर्ताको १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार रुपैयाँ बचत फिर्ता माग गर्दै उजुरी परेको थियो । ३ हजार २३८ सेयर सदस्य रहेको उक्त सहकारीको बचत रकम ३ अर्ब ८६ करोड १४ लाख रुपैयाँ छ भने सहकारीको लगानी ३ अर्ब १६ करोड २५ लाख रुपैयाँ देखिएको छ ।
दर्शन सहकारीमा ९ हजार ८५७ जना सदस्य र कुल सम्पत्ति १ अर्ब ५७ करोड ४ लाख रुपैयाँ छ । सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार रुपैयाँ छ । सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ४ करोड २५ लाख ७९ हजार रुपैयाँ, ऋण लगानी १ अर्ब ४५ करोड १३ लाख ४५ हजार रुपैयाँ र तिर्नुपर्ने बाह्य ऋण ३४ करोड ७६ लाख १६ हजार रुपैयाँ देखिएको छ ।
दर्शन सहकारीको व्यवस्थापन गर्न गत मंसिर १२ मा बचतकर्तालाई प्रमाणसहित सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरिएको थियो । उक्त सूचनाका आधारमा बचतकर्ताहरू सम्पर्कमा आउने क्रममा छन् । बचतकर्तासँगै ऋणीहरूसमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख आचार्यले बताए ।
दूरसञ्चारको मद्दतमा सिभिलको ३५५ ऋणीको खोजी
समस्याग्रस्त घोषित सिभिल सहकरीका ऋणीहरूलाई ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको थियो । प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समितिले गत साउन ७ मा उक्त सूचना प्रकाशन गरेको थियो ।
संस्थाबाट उपभोग गरेको ऋण कर्जा रकमको साँवाब्याज ३५ दिनभित्र समितिको बैंक खातामा जम्मा गरी कर्जा राफसाफ गर्न सूचना जारी गरे पनि समय सीमाभित्र ऋणीहरूले खासै चासो देखाएनन् । सो पश्चात ऋणी खोज्न कार्यालयले दूरसञ्चारलाई पत्राचार गरेको थियो । दूरसञ्चारलाई सिभिलका ऋणीहरूको नामावली र सम्पर्क नम्बर अनुसार तीन पुस्ते विवरण तयार गर्न पत्राचार गरेको थियो ।
उक्त पत्राचार अनुसार सिभिल सहकारीका ३५५ जना ऋणीको तीनपुस्ते विवरण निकालिएको छ । प्राप्त विवरण अनुसार ८ अर्ब ३६ करोड ६८ लाख ३७ हजार रुपैयाँ ऋण असुल गर्नुपर्ने अवस्था छ ।