बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

दुई दलीय संयन्त्रको बैठक : कांग्रेसको सरकार छाड्ने धम्कीको विषयमा के भयो छलफल ?

एमाले नेता भन्छन्-  सामान्य हो, त्यो कुनै विषय नै हैन, कांग्रेस नेता भन्छन्- करेक्सन गरेर जाने भन्ने छ
बुधबार, ०९ माघ २०८१, २१ : ४७
बुधबार, ०९ माघ २०८१

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको खटपटका विषयमा गठबन्धनको प्रदेश स्तरीय संयन्त्रमा छलफल भएको छ । बुधवार नेपाली कांग्रेस प्रदेश कार्यालयमा बसेको दुई दलीय संयन्त्रको बैठकमा संसदीय दलका नेता जीवनबहादुर शाही र एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यामलाल कँडेल सहभागी थिए । 

उक्त बैठकमा कांग्रेस दल नेता शाहीले सोमबारको प्रदेशसभा बैठकमा सरकार छाड्ने धम्की दिएको विषयमा छलफल भएको छ । शाहीले एक साताभित्र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढालाई बर्खास्त गर्नुपर्ने र तत्कालीन अवस्थामा भएको ८ बुँदे कार्यान्वयन नगरे सरकार छाड्ने चेतावनी दिएका थिए । त्यसपश्चात् बसेको संयन्त्रको बैठकले सत्तारुढ दलबिच देखा परेको खटपटलाई साम्य पार्ने कोसिस गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

बैठकमा सहभागी एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहका अनुसार झन्डै तीन घण्टा बसेको बैठकमा बृहत् छलफल भयो । त्यसक्रममा मुख्यमन्त्री कँडेलले सरकारले गरिरहेका काम–कारबाहीको विषयमा जानकारी गराएका थिए । कांग्रेस दल नेताले संसदमा दिएको धम्कीलाई शाहले सामान्य रूपमा लिए । ‘त्यो पनि केही कुरा हो र ? सामान्य हो, त्यो कुनै विषय नै हैन,’ उनले भने, ‘त्यसैका लागि बैठक बस्यो, सौहार्दपूर्ण तरिकाले कुरा भयो । हल भइसक्यो ।’

कांग्रेस प्रदेश समितिका सभापति ललितजंग शाहीले प्रदेश सभामा देखिएको तरङ्ग समुद्रमा आएको छालजस्तो भए पनि त्यो फेरि स्थिर भइसकेको रातोपाटीलाई बताए ।

 ‘त्यो कुराले गठबन्धन भत्किन्न, सरकार ढल्दैन,’ उनले भने, ‘८ बुँदे कार्यान्वयन हुन्छ, केही कुरा अगाडि बढेका छन् र बाँकी कुरा कार्यान्वयनमा जान्छ भन्ने विषयमा समझदारी भएको छ ।’ साथै भौतिक मन्त्रीले गरेको कमीकमजोरीलाई ‘करेक्सन’ गरेर लाने कुरा मुख्यमन्त्रीले बताएको शाहीले बताए ।

उनका अनुसार कांग्रेस संसदीय दलका नेता शाहीले संसदमा बोलेजस्तै संयन्त्रको बैठकमा पनि कुरा राखेका थिए ।  ‘उहाँले हाउसमा बोलेको झझल्को त्यहाँ पनि दिनुभयो,’ दल नेता शाहीको भनाइ उद्धृत गर्दै सभापति शाहीले भने,  ‘मैले हाउसमा बोल्नै पर्ने बाध्यताले राखेको हो ।’

एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले पनि कांग्रेस नेता शाहीले संसदमा बोलेकै भरमा सरकारमा तलमाथि नहुने बताए । उनका अनुसार बिचमा केही असन्तुष्टि थिए । प्रदेशसभा बैठक बस्नु पूर्व संयन्त्रको बैठक बसेको भए ती कुरा निरूपण त्यही हुने उनले बताए । 

तथापि केही व्यक्तिगत हिसाबले उहाँ (जीवनबहादुर शाही) ले संसदमा राखेकाले बाहिर तरङ्ग आएको बोगटी बताउँछन् । ‘८ बुँदेका अधिकांश कुरा लागू भइसकेको र केही कुरा बाँकी छन्, ती समयक्रममा ढिलो नगरी सम्बोधन गर्ने सहमति भएको छ,’ बोगटीले भने, ‘भौतिक मन्त्रीको विषयको इस्यु खासै ठुलो हैन ।’

गठबन्धनमा विश्वासका अघि बढ्ने, पारदर्शी तथा क्रियाशील बनाउने विषयमा निचोड निकालिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप