बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मैले यसरी गोल्ड मेडल हात पारेँ

गोल्ड मेडलिस्ट बन्दाको संघर्ष

बुधबार, ०९ माघ २०८१, १८ : ५७
बुधबार, ०९ माघ २०८१

गत पुस १३ गते त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह भव्य रूपमा आयोजना भयो । त्यो दिन मेरा लागि अझ यादगार र विशेष थियो । मास्टर्स अफ फिलोसोफी एमफिल तहमा व्यवस्थापन विधामै प्रथम भई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट मैले गोल्ड मेडल ग्रहण गरेँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकद्वारा सम्मानित हुनु मेरा लागि गौरवको विषय थियो । 

मैले प्रधानमन्त्रीज्यूको हातबाट स्वर्ण पदक पाउँदा हर्षका आँसु झरेका थिए । स्नातकोत्तर तहमा पनि जनप्रशासनमा सर्वोत्कृष्ट अंक ल्याएबापत यसअघि (२०७८ पुस २४ गते) जनप्रशासन संघ, नेपालद्वारा ‘पान गोल्ड मेडल’बाट मलाई सम्मानित हुने अवसर प्राप्त भएको थियो । 

मैले छोरो हुर्काउँदै र जागिर समेत गर्दै पढेर यो सफलता हासिल गरेकी हुँ । धेरैलाई जिज्ञासा हुन सक्छ— पढाइ, घर–व्यवहार र जागिर खाएर कसरी गोल्ड मेडल हात पार्न सकिन्छ भनेर । त्यसबारे मेरा अनुभवहरू अरुलाई पनि काम लाग्न सक्छन् । जुन म बाँड्न चाहन्छु । 

हामी दम्पतीले विवाह भएको नौ वर्षपछि सन्तान प्राप्त गर्ने सोच बनायौँ । जब हाम्रो परिवारमा बाबु (सारांश) आयो, हामी धेरै खुसी भयौँ, खुसीसँगै मेरा जिम्मेवारी पनि बढेका थिए । अर्कोतिर शल्यक्रियाद्वारा बाबुलाई जन्म दिएकाले मेरो घाउ पूर्ण रूपमा निको हुन कम्तीमा तीन महिना जति लाग्यो । यही बेला मैले एमफिलको तयारी गर्नुपर्ने थियो । कार्यालयबाट प्राप्त हुने प्रसूती बिदा सकिएपछि मलाई समय व्यवस्थापनमा निकै समस्या भइरहेको थियो ।  सुत्केरी महिला, त्यसमा पनि शल्यक्रिया गरेको, तीन महिनाको सानो बच्चालाई छाडेर १०–५ को जागिर खान जानु आफैँमा कठिन थियो । घरबाट कार्यालय पुग्न स्कुटीमा १५ मिनेट लाग्थ्यो । तीन महिनासम्म कार्यालयमा थुप्रिएर रहेका काम गर्नुपर्दा म निकै थाक्थेँ । खाजा खाने समय (करिब एक घन्टा)लाई मैले बाबुलाई दुध चुसाउनका लागि मिलाएँ । आफैँले स्कुटर चलाएर घर–अफिस आवतजावत गर्थें । सुरुवाती ती दिनहरू मेरा लागि सजिला थिएनन् । 

यस्तो बेला परिवार र श्रीमानको विशेष साथ चाहिन्छ । श्रीमान् र परिवारबाट भरपुर साथ र हौसला प्राप्त नहुने हो भने महिलाहरूलाई अगाडि बढ्न सहज छैन । मेरा श्रीमान् तथा मेरो परिवारको साथ र सहयोगले म आज यो स्थानमा छु । 

घर, अफिस, बच्चा, अनि पढाइ यसैमा मेरो दैनिकी बितिरहेको थियो । मैले श्रीमान्को साथ र सहयोग निकै राम्रो पाएँ । हरेक बिहान र बेलुका श्रीमान्ले नै खाना बनाउनुहुन्थ्यो । अहिले पनि सघाउनुहुन्छ ।

बिहान र बेलुकीको समय बच्चालाई दिँदै आफ्नो पढाइसँगै अन्य कार्य गर्न थालेँ । म कार्यालय गएका बेला श्रीमान्ले बाबुलाई हेर्नुहुन्थ्यो । 

श्रीमान् र श्रीमती एकै रथका दुई पांग्रा हुन् भनिन्छ । वास्तवमा हुनु पनि पर्छ । जस्तोसुकै परिस्थिति र जिम्मेवारीमा एकले अर्कोलाई साथ दिनुपर्छ । बच्चा हुनुभन्दा अगाडि हामीलाई निकै खाली समय प्राप्त हुन्थ्यो । अहिले हाम्रो जिम्मेवारी झन् थपिएको छ । आमा भइसकेपछि मेरा भावना बच्चा र परिवारप्रति बढी केन्द्रित भएका छन् ।
मसँग अन्य सामाजिक र व्यावसायिक जिम्मेवारीहरू पनि छन् । तर मैले एउटी आमाकै रुपमा बढी भूमिका निभाउनुपर्छ । 

अहिले विज्ञान–प्रविधि, राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन भएका छन् । घरबाहिर पनि महिलाका भूमिका बढेका छन् । सन्तान जन्माउन र हुर्काउन अवश्य नै महिलाले बढी समय दिनुपर्छ । यसका बाबजुत पढाइ र काम–पेसालाई अगाडि बढाउन सहज छैन । यस्तो बेला परिवार र श्रीमानको विशेष साथ चाहिन्छ । श्रीमान् र परिवारबाट भरपुर साथ र हौसला प्राप्त नहुने हो भने महिलाहरूलाई अगाडि बढ्न सहज छैन । मेरा श्रीमान् तथा मेरो परिवारको साथ र सहयोगले म आज यो स्थानमा छु । यससका लागि म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु । 

मलाई पीएचडी समयमै सकाउनका लागि परिवारबाट हौसला मिलेको छ । मलाई पढ्ने वातावरण तयार गर्नका लागि मेरो श्रीमान्को अमूल्य साथ र सहयोग पाएकी छु । 
हाम्रा छोरी तथा बुहारीहरूलाई निरन्तर साथ र सहयोग आवश्यक छ । घर–परिवार, समाज तथा समुदायका मानिसहरूको सकारात्मक भूमिकाले नै समतामूलक समाज निर्माण हुने हो । महिला अब्बल र आत्मनिर्भर भए सम्पूर्ण परिवार, समाज र राष्ट्र सुखी र समुन्नतको बाटोमा अगाडि बढ्छ । त्यसैले हामी सबैले सकारात्मक सोच राखी महिलाहरूलाई अगाडि बढ्न प्रेरित गरौँ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हिरा श्रेष्ठ
हिरा श्रेष्ठ
लेखकबाट थप