बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने

बुधबार, ०९ माघ २०८१, १८ : ४०
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खबरदारी गर्ने भएको छ । दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि (६ महिना)मा बुधबार आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । 

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सहयोगमा म्याप मेमोरियल सोसाईटीले महासंघकै सभाहलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने गरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले महासंघको परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताए । ‘उहाँले अघि बढाउनुभएको अभियानलाई हामी सबैले सहयोग गर्नुपर्छ । उहाँले अघि बढाएको अभियानमा महासंघको साथ छ । विषयवस्तुको उठान गरेर कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिन सकिन्छ ।’ उनले भने ‘गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैको कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठुलो अन्याय अरू कुनै पनि हुँदैन ।’

कार्यक्रममा छोरी, ज्वाइँ र नाति गुमाएको पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको दाबी गरे । उनले भने, ‘उडान गैरकानुनी छ, यात्री गैरकानुनी छन्, एयरलाइन्स कम्पनीको हर्कत गैरकानुनी छ । कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको छ । एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको छ । अनि यो घटनालाई कसरी आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै हो भनेर चित्त बुझाउन सकिन्छ ? त्यसैले सौर्य जहाज दुर्घटना होइन, जघन्य अपराध हो ।’

पीडित खतिवडाले राज्यसँग दर्जनौँ प्रश्न गरे । उनले  आफूले जस्तो अरू कसैले पनि नियति भोग्न नपरोस् भनेर अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस् । नेपालको हवाई यात्रा सुरक्षित होस् र  सन्ततिको सम्झनालाई चीरस्थायी बनाउन र उनीहरूलाई जीवित राख्न सामाजिक अभियानहरू चलाउन सकियोस् ।’

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासंघसहित सञ्चारजगतको साथ, सहयोग र खबरदारीको अपेक्षा पीडित पक्षले गरेको छ । 

कार्यक्रममा महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो ।

गत साउन ९ सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा मा परि पत्रकार प्रकाश खतिवडाको छोरी, ज्वाइँ र नाति सहित १८ जनाको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप