बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

‘बबल एन्ड क्र्यास’को कथा

बुधबार, ०९ माघ २०८१, १७ : २९
बुधबार, ०९ माघ २०८१

 ‘बबल एन्ड क्र्यास’ सेयर बजारमा प्रचलित वाक्यांश हो । कुनै पनि सम्पत्तिको मूल्य अस्वाभाविक र अत्यधिक रूपमा बढ्ने अवस्था ‘बबल’ हो भने ‘बबल’ फुटेपछि कुनै सम्पत्तिको मूल्यमा अचानक आउने गिरावट ‘क्र्यास’ हो । जहिले पनि बबलको अन्त्य क्र्यासबाट हुने गर्छ । कुनै निश्चित आधार र कारणबिना कुनै सेयरको मूल्यमा निरन्तर वृद्धि हुँदै गई एउटा चरम बिन्दुमा पुगी घट्दै जाने अवस्थालाई नै ‘बबल एन्ड क्र्यास’ भनिन्छ ।

सन् १५५४ मा रोमन शासक चाल्र्स पाँचौँले द उस्ब्याग नाम गरेका एक कूटनीतिज्ञलाई राजदूत बनाई अटोमन राज्यमा पठाए । ती राजदूतले त्यहाँ कामकाजका दौरानमा एक सुन्दर र आकर्षक फूल देखे, जसको नाम ‘ट्युलिप’ थियो । त्यहाँका किसानले व्यावसायिक रूपमै फूलखेती गरिरहेका थिए । उस्ब्यागले अटोमन शासकको अनुमति लिएर उक्त फूलको बिउ अस्ट्रिया, इटाली लगायत अन्य केही देशमा पठाए । सौन्दर्यका कारण अन्य देशमा पनि उक्त फूलको माग हुन थाल्यो । सन् १५९३ मा एक डच वनस्पति विज्ञ कार्लोस क्लेसिसले नेदरल्यान्डमा यसको व्यावसायिक खेती नै गर्न थाले र खेती अत्यधिक सफल पनि भयो । त्यसपछि त्यहाँका किसान उक्त फूलको खेती के–कसरी गर्ने भनी जानकारीका लागि कार्लोसको अफिसमा लाइन लाग्न थाले ।

सन् १६३७ देखि हालसम्म आइपुग्दा विभिन्न बबल र क्र्यासहरू देखापरे । जस्तै ः साउथ सी बबल (१७२०), रेलवे बबल (१८४०), बाल स्ट्रिट क्र्यास (१९२९), जापानी बबल (१९८०), डट कम बबल (१९९०–२०००), विश्वव्यापी आर्थिक मन्दी (२००८) र क्रिप्टोकरेन्सी बबल (२०१७–२०२१) । इतिहास भविष्यको पाठशाला हो भनिए पनि यी घटनाबाट लगानीकर्ताले सिकेको पाइँदैन ।

बिस्तारै उक्त फूलको माग बढिरहेको थियो । उक्त फूल धनी र सम्पन्न नागरिकले घरमा सजाएर राख्न थाले । ट्युलिपको फूललाई धनी, सम्पन्नता र विलासिताको पर्याय मान्न थालियो । जसरी अहिले महँगो गाडी, बङ््गला, घडी र स्मार्ट फोनलाई मानिन्छ । सम्पूर्ण उत्पादन भएका ट्युलिप बल्ब अर्थात् ट्युलिप फूल हातहातै बिक्न थाले, तर नेदरल्यान्डको हावापानीको कारणले उक्त फूल वर्षमा दुई महिना मात्र उत्पादन हुन्थ्यो ।

सन् १६०२ मा नेदरल्यान्डको एम्स्टर्डममा ‘डच इस्ट इन्डिया कम्पनी’द्वारा विश्वको पहिलो स्टक एक्सचेन्जको स्थापना गरियो, जसको नाम थियो ‘एम्स्टर्डम स्टक एक्सचेन्ज’, यो आधुनिक वित्तीय बजारको सुरुवात थियो । जहाँ डच इस्ट इन्डिया कम्पनीका सेयरको कारोबार गरिन्थ्यो । उक्त स्टक एक्सचेन्जले पहिलोपटक ट्युलिप फूलको कारोबार गर्ने सुविधा प्रदान गर्‍यो । अब ट्युलिपको फूल वर्षमा दुई महिना मात्रै किन उपलब्ध नहोस्, यसको कारोबार भने वर्षभरि नै हुन थाल्यो । बिस्तारै यो फूलको मूल्य बढ्दै गयो र मानिसले आफूसँग भएका स्थिर सम्पत्ति बेचेर पनि यसमा लगानी गर्न थाले । 

सन् १६३० को दशकसम्म आइपुग्दा यसको मूल्य यसरी बढेको थियो कि त्यो बेलाको एक मध्यमस्तरीय नागरिकको ५–६ वर्षको तलब जति एक फूलको मूल्य भएको थियो । फ्रेन्च नागरिकले पनि एम्स्टर्डम स्टक एक्सचेन्जमा लगानी गर्न थालेपछि फूलको मूल्यले आकाश छुन थाल्यो । भनिन्छ एक ट्युलिपको मूल्य २५ केजी चाँदीको मूल्य बराबर भएको थियो । मानिसले आफू बस्ने घरसँग एक ट्युलिपको फूल साट्थे । कुनै पनि वस्तुको मूल्य तबसम्म बढ्छ, जबसम्म नयाँ लगानी आइरहन्छ । मानिसहरू रातारात धनी भइरहेका थिए र अझै धनी हुने लोभमा पैसा पनि उत्तिकै मात्रामा लगाएका थिए । पुँजी बजारमा बबल बन्नका लागि मुख्यतया तीन कुराको आवश्यक हुन्छ, ती हुन् नागरिकको स्वतःस्फूर्त सहभागिता र उनीहरूको पैसा, मानिसमा कुनै कुराका लागि पागलपनको हदसम्म पुग्ने अवस्था र बजार अर्थात् माध्यम, त्यतिबेला यी तिनै कुराको संगति मिलेको थियो ।

सन् १९३७ बाट अचानक ट्युलिपको माग घट्न थाल्यो किनभने पुराना लगानीकर्ताहरू बजारबाट ठुलो मुनाफा लिएर बाहिर निस्किन थाले । फूलको मूल्य घट्न थालेपछि सबै लगानीकर्ताले फूल बेच्न थाले तर किन्ने मान्छे कोही भएन । बजारमा भय, त्रास र अविश्वास फैलियो जसले गर्दा बल्बको मूल्य तीव्र रूपमा घट्न थाल्यो । मानिसले सम्पत्ति गुमाए, ऋणमा परे, ठुलो आर्थिक संकटको सामना गर्नुपर्‍यो ट्युलिप फूल अब विलासिताको प्रतीकबाट सामान्य फूलमा परिणत भयो । 

यो त थियो विश्व इतिहासको पहिलो बबल र क्र्यास । त्यसपछि पनि दर्जनौँ बबल र क्र्यासहरू आए । भौतिक विज्ञानका पिता सर आइज्याक न्युटनजस्ता वैज्ञानिक तथा बुद्धिमान व्यक्ति भावनात्मक निर्णयको पछि लागेर बबल र क्र्यासको सिकार भएका थिए । साउथ सी बबलका सन्दर्भमा उनले भनेका थिए — मैले ताराहरूको गति गणना गर्न सक्छु, तर मानिसहरूको पागलपनको भविष्यवाणी गर्न सक्दिनँ । 

सन् १६३७ देखि हालसम्म आइपुग्दा विभिन्न बबल र क्र्यासहरू देखापरे । जस्तै ः साउथ सी बबल (१७२०), रेलवे बबल (१८४०), बाल स्ट्रिट क्र्यास (१९२९), जापानी बबल (१९८०), डट कम बबल (१९९०–२०००), विश्वव्यापी आर्थिक मन्दी (२००८) र क्रिप्टोकरेन्सी बबल (२०१७–२०२१) । इतिहास भविष्यको पाठशाला हो भनिए पनि यी घटनाबाट लगानीकर्ताले सिकेको पाइँदैन । इतिहास समान तरिकाले दोहोरिँदैन तर दोहोरिन्छ जरुर । 

विश्वका यी बबल र क्र्यासहरूमा केही समानता पनि रहेका छन् । लगानीकर्तामा सुरुवातमा भविष्यमा धेरै नाफा आर्जन गर्ने अत्यधिक उत्साह र आशा रहेको हुन्छ, यसले मूल्यमा अनावश्यक वृद्धि गराउँछ, बबलको समयमा बजारको निगरानी गर्ने निकाय र नियमको अभाव हुन्छ, उपलब्ध मौजुदा ऐन–नियमले काम गर्न सक्दैनन्, निरन्तर मूल्य वृद्धि र अचानक पतन, सम्पूर्ण अर्थतन्त्रलाई नै प्रभावित पार्छ, ठुला व्यापारी, लगानीकर्ताले अनावश्यक अफवाह फैलाउँछन्, मध्यम आयस्तर भएका र भावनात्मक निर्णय अनुसार चल्ने लगानीकर्ता यो जालमा फस्छन्, बैंक तथा वित्तीय संस्थाद्वारा न्यूनदरमा कर्जा प्रवाह, नयाँ–नयाँ लगानीकर्ताको बजारमा प्रवेश । 

विश्वका यस्ता घटनाबाट एक विवेकशील लगानीकर्ताले धेरै कुरा सिक्न सक्छन् । जस्तो ः बिनामिहिनेत कानुनी तरिकाले पैसा कमाउने कुर्न सर्टकट फर्मुला छैन, जुन सेयरको मूल्य अस्वाभाविक ढङ्गले बढिरहेको छ, त्यसको दिगोपना हुँदैन, बजारमा उपलब्ध सूचनाहरूको मात्र भर पर्नु हुँदैन, लोभ निश्चित सीमासम्म मात्र गर्नुपर्छ । 
(लेखक ज्ञवाली नेपाल स्टक एक्स्चेन्जमा अधिकृत छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुजन ज्ञवाली
पुजन ज्ञवाली
लेखकबाट थप