बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विद्यार्थी राजनीति

अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप

बुधबार, ०९ माघ २०८१, १६ : ४३
बुधबार, ०९ माघ २०८१

काठमाडौँ ।  नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ । 

निर्वाचन नजिकिएसँगै नेताहरूको दौडधुप तीव्र बनेको छ । उमेर हद लागु भएका कारण पुराना गुट भत्किएपनि नयाँलाई स्थापित गराउन पार्टीका नेताहरूको दौडधुप बढेको क्रान्तिकारीका नेताहरूको भनाइ छ ।

क्रान्तिकारीको भावी अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा ६ जना देखिएका छन् । उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, योगेन्द्र बुढा र विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

स्रोतका अनुसार विजयप्रकाश शर्मा सापकोटालाई साझा उम्मेदवार बनाउन उपमहासचिव शक्ति बस्नेत, प्रचण्डका स्वकीय सचिव समेत रहेका रमेश मल्ल, निवर्तमान उपाध्यक्ष केशव रावल, टुकमान महरा, तिलकराज भण्डारी लगायत लागेका छन् । उनी साझा अध्यक्ष भएमा श्याम रोका वा उपदेश यादवमध्ये एकलाई महासचिव बनाउने प्रयास भएको थियो ।

सुदिन पौडेललाई साझा उम्मेदवार बनाउन उपमहासचिव वर्षमान पुन आफै खटिएका छन् । पौडेल अध्यक्षको साझा उम्मेदवार भएमा महासचिवमा रोशन खड्का, सञ्जय महतो, श्याम रोका, गोविन्द बानियामध्ये एक महासचिव हुने स्रोतको दाबी छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट रहेका उपदेश यादवलाई अध्यक्ष बनाउन निवर्तमान उपाध्यक्ष पवन कार्की सक्रिय रहेका छन् ।

यता हेमन्त राईलाई अध्यक्ष बनाउन अर्का उपमहासचिव जनार्दन शर्मा र अनिल शर्मा सक्रिय रहेको बुझिएको छ । पूर्वअध्यक्ष रञ्जित तामाङ समेत राईलाई साझा अध्यक्षको उम्मेदवार बनाउन सक्रिय रहेको स्रोतले बतायो ।

यसैगरी उपाध्यक्ष कृष्णबहादुर महरा निकट मानिएका योगेन्द्र बुढा र अर्का उपाध्यक्ष पम्फा भुसाल निकट मानिएका विश्वमणिको पक्षमा अहिलेसम्म शीर्ष नेताहरू सक्रिय देखिएका छैनन् ।

३२ वर्ष उमेर हद लागु भएपछि सङ्गठनभित्र वर्षौँदेखि झाँगिएर बसेको गुट भत्किएको नेताहरूले दाबी गरेका छन् । उमेर हदसम्बन्धी मतदानबाट अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मका सबै नेताहरू बाहिरिएका छन् । अहिले क्रान्तिकारीभित्र पुराना सबै गुट उपगुट भङ्ग भएको सचिव चक्रपाणि खनालले दाबी गरे ।

‘उमेर हदसम्बन्धी मतदानले पुराना सबै गुट उपगुट भत्किएको छ । यो राम्रो पक्ष हो । यसले नयाँ युवाहरूलाई नेतृत्व विकासका लागि बाटो खुलेको छ । युवा साथीहरूको नेतृत्व परीक्षणका लागि राम्रो अवसर हो’, उनले भने, ‘पार्टीले पनि नेतृत्व छान्ने र छानिने प्रक्रियालाई हस्तक्षेप गर्न हुँदैन भनेर तटस्थ बस्ने नीति लिएको हो । उहाँहरूले सङ्गठन हाँक्ने क्षमता देखाउनु भएन भने त्यतिबेला पार्टीले हस्तक्षेप गर्ने कुरा बेग्लै हो ।’

विद्यार्थी फाँटका इन्चार्ज हिमाल शर्माले पनि विद्यार्थी सङ्गठनभित्र पुराना गुट उपगुट भत्किएको दाबी गरे । निर्वाचन प्रक्रियाले नयाँलाई अवसर र नेतृत्व क्षमता देखाउने बेला आएको उनको भनाइ छ । उमेर हदका कारण ठुलो पङ्क्ति बाहिरिएपछि नेतृत्व सङ्कट देखिन्छ कि भन्ने आशङ्का रहेकोमा सयौँ युवा विद्यार्थी आकाङ्क्षी देखिएकोमा शर्माले हर्ष व्यक्त गरे ।

‘३२ वर्ष उमेर हद र प्रत्यक्ष निर्वाचन प्रणाली लागु भएपछि पुराना गुट उपगुट सबै भत्किएका छन् । यसले नेता बनेर ५० वर्ष पार गर्दा पनि नेतृत्वमा बसिराख्ने प्रवृत्ति अन्त्य गरेको छ । ठुलो सङ्ख्यामा नेताहरू बाहिरिएपछि सङ्गठनमा सङ्कट देखिन्छ कि भन्ने डर थियो । तर नेतृत्वका लागि सयौँ उम्मेदवारी परेपछि नयाँ उत्साह पैदा भएको छ’, उनले भने ।

३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विवादकाबिच गत पुस १३ गते पहिलो चरणको निर्वाचन भएको थियो । मतदानबाट खुला पक्षधर २१ मतले पराजित भएपछि नेतृत्व छनोट प्रक्रिया थप पेचिलो भएको थियो ।

मतदानमा धाँधली भएको आरोप लगाउँदै खुला पक्षधरले दोस्रो चरणको मतदानमा असहयोग गर्ने चेतावनी दिएपछि पार्टीले अवकाश प्राप्त नेताहरूको व्यवस्थापन र धाँधलीबारे छानबिन गर्न कार्यदल नै गठन गरेको थियो । विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनायो । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्यो । बिहीबारसम्म सहमति भए उम्मेदवारहरूको नाम फिर्ता लिएर अन्तिम नामावली प्रकाशित गर्ने तयारी निर्वाचन समितिको तयारी छ ।

तर सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास असफल भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्षका आकाङ्क्षी, अवकाशप्राप्त नेता, कार्यदलका संयोजक बस्नेत, सङ्गठनका फ्याक्सन इन्चार्ज शर्मा लगायत नेताहरूसँग पार्टी नेतृत्वले छलफल गरेका थिए । अध्यक्षमा ६ जनाले नै दाबी नछाडेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । यद्यपि सहमतिको प्रयास जारी नै रहेको नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप