बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित

बुधबार, ०९ माघ २०८१, २१ : ००
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । सर्वत्र आलोचना भएपछि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई नेकपा माओवादी केन्द्रमा जिम्मेवारी दिने योजना तत्कालका लागि स्थगित भएको छ । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आन्तरिक परिपत्रमार्फत पासाङको जिम्मेवारीबारे जानकारी गराउने बताएका थिए । तर माघ ८ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पासाङलाई जिम्मेवारी दिने विषयमा निर्णय नभएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘पासाङजीलाई जिम्मेवारी दिने विषयमा केन्द्रीय समिति बैठकमा पनि धेरैले असहमति राखेका छन् । पदाधिकारी बैठकमा पनि आन्तरिक र बाहिरी परिस्थिति नहेरी हतारमा जिम्मेवारी दिन नहुने मत आएको  छ’, रातोपाटीसँग गजुरेलले भने, ‘बाहिर पनि राज्यको सम्मानित पदमा पुगेको व्यक्ति पार्टीको सक्रिय राजनीतिमा फर्किँदा गलत सन्देश जाने धेरैको मत छ । अन्य पार्टीले के गर्छन् ! जिम्मेवारी दिँदा र नदिँदा समस्या के हुन्छ, त्यसका आधारमा पछि निर्णय गर्ने भनिएको छ ।’

पासाङ २०७२ देखि २०७९ सालसम्म उपराष्ट्रपति थिए । २०७९ चैत २ गते उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि पासाङ बाहिरिएका थिए । लामो समय निष्क्रिय रहेका पासाङ कात्तिक २६ गते खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा सहभागी भएका थिए । त्यसयता माओवादीको नियमित बैठकमा सहभागी भएका उनलाई प्रचण्डले उपाध्यक्ष बनाउने आश्वासन दिएको बुझिएको छ ।

पासाङ धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा उपाध्यक्षको लहरमा बसेका थिए ।

maoist meeting

बैठकमा पूर्वमन्त्री तथा माओवादीका नेता सुदन किराँतीले पासाङ राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश नगएको बताएका थिए । पार्टीले ‘सम्माननीय’लाई अझ सम्माननीय बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

देशका उपराष्ट्रपति भइसकेका सम्मानित व्यक्तिलाई आलोचनाभन्दा माथि राखेर आफूबाटै नयाँ परम्परा र संस्कृतिको आधारस्तम्भ खडा गर्नुपर्ने किराँतीले बताएका थिए ।

अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जो कोही पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि सक्रिय पार्टीको संगठनात्मक जीवनबाट अनिवार्य बिदा हुनुपर्ने धारणा राखेका थिए । त्यसमा पनि पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदि पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने न्यौपानेको तर्क थियो ।

बरु सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनुपर्ने नत्र संगठनात्मक जीवनमा प्रवेशको ढोका खुला हुने तर निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश नहुने र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिने उनको मत थियो ।

किराँती र न्यौपानेमात्र होइन, लक्ष्मण पन्त, ईन्द्र आङ्दाम्बो, जगप्रसाद शर्मा, अशोक जैशवाल, कुमारी राई, गोविन्द रोका, हरि ज्ञवाली, सुरेश राई, वम्बु शेर्पा लगायत अधिकांश केन्द्रीय सदस्यले सक्रिय राजनीतिमा आउने पासाङको चाहनाको आलोचना गरेका थिए । उनीहरूले राज्यका सम्मानित पदमा पुगेका व्यक्ति पार्टी राजनीतिमा सक्रिय हुनुभन्दा सामाजिक व्यक्तित्व भएर बस्न सुझाव दिएका थिए । 

नेताहरूका यिनै अभिव्यक्तिपछि अध्यक्ष प्रचण्डले पासाङलाई आफूले पार्टीमा ल्याउन लागेको नभई उनी आफैँ आउन चाहेको जिकिर गरेका थिए ।

पार्टीभित्र मात्र नभई बाहिर पनि पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाबारे राजनीतिज्ञ, बौद्धिक वर्ग, विश्लेषकहरूले आलोचना गरेका छन् ।

यता प्रथम महिला राष्ट्रपति भएकी विद्यादेवी भण्डारी समेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाले राजनीतिक वृत्त तताएको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष रहेकी भण्डारी २०७२ सालमा राष्ट्रपति निर्वाचित भएकी थिइन् । उनी पनि २०७९ को निर्वाचनपछि राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएकी थिइन् । यद्यपि भण्डारी एमालेको आन्तरिक बैठकमा सहभागी नभए पनि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप