बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

वामदेवलाई तत्काल पार्टीमा नल्याउने ‘एमाले नीति’, विद्याबारे मौन

बुधबार, ०९ माघ २०८१, २० : ००
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । वामदेव गौतम नेकपा एमालेमा फर्कने ‘च्याप्टर’ तत्कालका लागि बन्द भएको छ । एमालेले उनलाई पार्टीमा भित्र्याउनेबारे ठोस निर्णय नगर्दा अलमल बढेको हो ।

एमालेबाट बाहिरिएको तीन वर्षपछि गौतम फेरि एमालेमै फर्कने तयारीमा थिए । त्यसअघि उनले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा सामेल हुन छलफल चलाएका थिए । तर, नेताहरूको व्यवस्थापनमा कुरा नमिलेपछि एकीकृत समाजवादीमा जाने योजना अन्त्य गर्दै उनले एमालेमा फर्कने तयारी थालेका थिए ।

मंगलबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले सचिवालयको ४४ औँ बैठकले गौतमलाई पार्टीमा भित्र्याउँदा हुने ‘नाफाघाटा’बारे छलफल गरे पनि ठोस निर्णय हुन सकेन । त्यसैले गौतम एमालेमै फर्कने प्रक्रिया तत्कालका लागि रोकिएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले भौतिक रूपमै र टेलिफोनमा पटकपटक संवाद गरेका थिए । एमालेमा फर्कने सम्बन्धमा ओलीसँग भएको संवादबाट गौतम निकै उत्साहित भएका थिए । तर एमालेले सहकार्य गर्दै जाने निर्णय गरे पनि कस्तो सहकार्य भन्ने नखुलाउँदा गौतम स्वयं अलमलमा परेका छन् ।

‘सचिवालयको निर्णयबारे मलाई जानकारी गराएका छैनन् । सुनेअनुसार सहकार्य गर्दै जाने भनेका छन् रे ! त्यो सहकार्य भनेको के हो ?’, प्रश्न गर्दै गौतमले रातोपाटीसँग भने, ‘सहकार्य भनेको काममा एकपक्षीय वा बहुपक्षीय सहयोगलाई भन्छन् ।’

आफू नेतृत्वको अभियानलाई तत्काल भित्र्याउने चाहना एमालेमा नभएको हुनसक्ने आशंका गर्दै गौतमले ‘सहकार्य’ शब्दको अर्थ नै प्रस्ट नभएको बताए ।

‘मैले के बुझ्दै छु भने म एमालेमा जाने भनेपछि जसरी नेपालको मिडिया सर्लक्कै उर्लियो, त्यो सकारात्मक ढंगले आयो । यसलाई नकारात्मक गराउन माधव नेपालहरूले कोसिस गरे पनि प्रवाह रोकिएन’, गौतमले भने, ‘यसले त उहाँहरू (एमाले नेतृत्व) खुसी हुनुपर्ने हो ।’

त्यसरी एमालेको पक्षमा आएको लहर ‘च्याप्प’ समात्नुपर्नेमा त्यसो नगरेको गौतमको बुझाइ छ । ‘त्यो लहर त च्याप्पै समात्नुपर्थ्यो । तर त्यस्तो देखिएन । त्यस्तो किसिमको क्षमता विकास नभएको पो हो कि ? डराएको हो कि ?’, गौतमले भने ।

उनले आफू एमालेमा विनाशर्त प्रवेश गर्छु भन्नुको अर्थ शरण लिन गएजस्तो हुने भन्दै त्यसको व्यवस्थापन समेत उनीहरूलाई नै गर्न छाडेको बताए ।

‘मेरो कुनै शर्त छैन, कसरी व्यवस्थापन गर्नुपर्ने हो, गर भनेको हुँ’, गौतमले भने, ‘तर अहिले सहकार्य भनेछन् । मैले त केही बुझ्न सकिनँ ।’

मंगलबारको सचिवालय बैठकपछि एमाले महासचिव शंकर पोखरेलले बैठकका चार वटा निर्णयमध्ये गौतमलाई पार्टीमा भित्र्याउने सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने ।’

‘सहकार्य गर्दै जाने’ भन्नुको अर्थ तत्काल उनलाई पार्टीमा नभित्र्याउने भन्ने नै बुझिन्छ । एमाले नेताहरू पनि यो बुझाइमा सहमत देखिन्छन् ।

‘सहकार्यको अर्थ काम गर्दै जाने हो, काम गर्दै जाँदा मन, लय र गति मिले उचित ढंगले पदको व्यवस्थापन गर्ने भनिएको हो’, एमालेका एक सचिवालय सदस्यको भनाइ छ ।

माघ पहिलो साता ओली र गौतमबिचको कुराकानीपछि गौतमले आफू निःशर्त एमालेमा फर्कन लागेको बताएका थिए । ओलीसँगको कुराकानीमा ‘दुई मुटु एक धड्कन’ भएर काम गर्न दुवै नेता सहमत भएको बताइएको थियो । गौतम एमालेतर्फ नजिकिन खोज्दा उनी नेतृत्वको एकता अभियान नै विभाजन भइसकेको छ ।

गौतमलाई पार्टीमा तत्काल नभित्र्याउने नीति हो ? भनेर एमाले नेताहरूलाई प्रश्न गर्दा उनीहरूले पनि प्रस्ट जवाफ दिन सकेका छैनन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम वामदेवसँग सहकार्य सुरु भएपछि मात्र एकता हुने दाबी गर्छन् ।

‘सहकार्य सुरु भएपछि एकता भइहाल्छ’, गौतमले भने, ‘सहकार्य अन्तर्गत अन्य विषय पनि हुन्छन् । त्यसलाई मिलाउँदै जाने कुरा हो ।’

एमालेका एक पदाधिकारीका अनुसार खासगरी गौतम एमालेमा फर्कंदा उनको व्यवस्थापन कसरी गर्ने भन्नेमा नेताहरूबिच एकमत हुन सकेको छैन ।

पूर्वउपाध्यक्ष भइसकेका गौतमलाई वरिष्ठ वा सम्मानित नेताको पद दिनुपर्ने अवस्था छ । तर, वरिष्ठ वा सम्मानित दुवै पद दिँदा भोलि पूर्वराष्ट्रपति विद्या भण्डारी वा झलनाथ खनालहरू पनि पार्टीमा आउने अवस्था आएमा के गर्ने भन्नेमा सोच्नुपर्ने केही एमाले नेताको तर्क छ ।

एमाले सचिव पद्मा अर्याल अध्यक्ष केपी शर्मा ओली र गौतमबिच कुराकानी हुँदा गौतमले धेरै शर्त नराखे पनि व्यवस्थापनका सवालमा थप छलफल गर्नुपर्ने अवस्था आएको बताउँछिन् । ‘शर्त त राख्नु भएको छैन, तैपनि उहाँजत्तिको नेता आउँदा उहाँको व्यवस्थापनको कुरा त हुने नै भयो’, सचिव अर्यालले रातोपाटीसँग भनिन्, ‘उहाँ र उहाँसँगै आउने व्यक्तिको व्यवस्थापनको कुरा पनि पार्टीले सोच्ने कुरा हो । त्यसैले छलफल र सहकार्य गर्दै जाने निर्णय भएको हो ।’

यद्यपि पूर्वराष्ट्रपति भण्डारीबारे पार्टीमा अहिले कुनै छलफल नभएको अर्यालको दाबी छ । ‘उहाँका बारेमा पनि के गर्ने भन्ने कुरा ऐन मौकामै पार्टीले छलफल गर्छ र निष्कर्ष निकाल्छ’, उनले भनिन्, ‘अहिले त्यसबारे कुनै सन्दर्भ चलिरहेको अवस्था छैन ।’


विद्या भण्डारी समेतले केही नबोलेको अवस्थामा बाहिर भएका हल्लाकै भरमा पार्टीमा छलफल र निर्णय गर्नु उचित नहुने अर्यालको भनाइ छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि केही महिना अघि विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय हुनसक्ने चर्चा भइरहेका बेला उनको बारेमा धेरै चिन्ता नगर्न भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप