चार जना कर्मचारीबाट सुरु भएको इसेवाको छलाङ
काठमाडौँ । कुनै बेला नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना आफैँमा एउटा सपना थियो । सन् २००९ मा इसेवाले बेटा भर्जन ल्याएपछि यो सपना साकार हुने परिस्थिति बनेको हो ।
जसअनुसार २५ जनवरी २०१० मा नगदबाहेक पनि आर्थिक कारोबार गर्न सकिन्छ भन्ने प्रमाणित भयो । नेपाली समाजमा डिजिटल वालेटको अवधारणा अनुसार काम गरेको यो १५ वर्षमा इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ ।
सबैको स्मृतिमा रहेकै कुरा हो– नेपालमा डेढ दशक अघिसम्म पनि आपसी लेनदेनमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो । बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षा चुनौतीले गर्दा नगद कारोबार जोखिमयुक्त थियो । आमजनता हैरानी खप्न बाध्य थिए । त्यो यस्तो समय थियो जतिबेला नेपालजस्तो विकासशील देशमा नगद कारोबारको कुनै अरू विकल्प हुन सक्छ भन्ने कसैले सोचेकै थिएन । नेपाली समाजमा व्यापार, व्यवसाय र वित्तीय सेवा माध्यम परम्परागत थियो । त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’ को सोच आफैँमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो । भौगोलिक विविधताका कारण केही दुर्गम क्षेत्रहरुमा इन्टरनेटको पहुँच नभएको र थुप्रै ठाउँहरूमा बढ्दो चोरी तथा लुटपाटको डर जस्ता कारणहरूले गर्दा नगदी कारोबारमा पनि असहजता थियो ।
वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि आफैँमा अत्यासलाग्दो थियो । तर, इसेवाका संस्थापकहरूले यही समस्याभित्र अवसर देखे । चुनौतीसँग लड्दै नेपालको वित्तीय व्यवहारलाई डिजिटलयुक्त बनाउन सक्छौँ भन्ने उनीहरूमा दृढ विश्वास थियो । परिणामस्वरूप इसेवाले नेपालमा सफलतापूर्वक डिजिटल वालेटको जग बसाल्यो । नेपालमा डिजिटल युगको सुरुवात पनि गर्यो । नेपालको नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्यो । ‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकासमा योगदान पुर्यायो र पुर्याइरहेकै छ ।
आमजनताको विश्वास जित्नु र परम्परागत सोच परिवर्तन गर्नु चानचुने कुरा थिएन । नगदलाई डिजिटलाइजेसनमा ल्याएर डिजिटल भुक्तानी सेवा जनतामाझ पस्कनु हेर्दा सानो तर त्यस समयमा साहसी कदम थियो । हाल नेपाली समाजमा डिजिटल भुक्तानी गर्नु भनेको साधारण कुरा भइसकेको छ । यो सहजता एउटा अठोट, संघर्ष र समर्पणले जन्मिएको हो ।
डिजिटल नेपालको दूरदृष्टिले देशलाई नयाँ युगतर्फ डोर्याएको छ, जहाँ प्रविधिको प्रयोगले विकास, समृद्धि र सम्भावनाको त्रिवेणी बगेको छ । अहिले हाम्रो हिमाल, पहाड र तराईसम्मका ७५३ सम्पूर्ण क्षेत्रमा इसेवाले प्रदान गरेको सेवाले आर्थिक कारोबार सहज बनाएको छ ।
एकपटक फेरि पछाडि फर्कनुपर्ने हुन्छ । सन् २००९ मा बेटा भर्जनबाट सुरु गरेको इसेवा डेक्सटप कम्युटरको माध्यमबाट मात्र चलाउन मिल्थ्यो । सुरुमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टममा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पिन उपलब्ध गराउन थालेको हो । सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नका लागि पनि दर्जनौँ कर्मचारी राख्नु परेको थियो । तर, अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिने इसेवाको भनाइ छ ।
सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो । तर, सन् २०१२ देखि भने इसेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यसै वर्ष इसेवाले एजेन्ट नेटवर्क पनि सुरु गर्यो । इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्सको टिकट इसेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ सेवाग्राहीले इसेवामार्फत आफूले रोजेको एयरलाइन्सको टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।
नेपालको डिजिटल रूपान्तरणको लक्ष्य लिएको इसेवाले सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’ समेत प्राप्त ग¥यो । यो हाम्रा लागि हौसलाको प्रस्थान विन्दु थियो । सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा इजाजतपत्र प्राप्त इसेवाको औचित्यलाई कोभिड–१९ को महामारीले थप स्थापित गर्यो ।
त्यो लकडाउनको समय थियो । इसेवाका लाखौँ प्रयोगकर्ताले अनलाइन भुक्तानी र इ–ट्रान्जेक्सनलाई अङ्गीकार गर्न थालिसकेका थिए । नगदको सट्टा मोबाइल फोनमार्फत भुक्तानी गर्न सहज भइसकेको थियो । उक्त महामारीमा डिजिटल वालेटको प्रयोगले नगद कारोबारबाट बढ्न सक्ने कोभिड–१९ संक्रमणको रोकथाममा समेत धेरै हदसम्म मद्दत पुगेको थियो ।
इसेवाले नेपालको आर्थिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यसले वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्दै लाखौँ सर्वसाधारणलाई डिजिटल वित्तीय सेवाहरूमा पहुँच प्रदान गर्दै आएको छ । साथै, यसले लाखौँ साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षम बनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँदै आएको छ । यसले सरकारी तथा स्वास्थ्य सेवाहरूका साथै दैनिक उपभोग्य भुक्तानीलाई समेत सहज बनाएर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ ।
इसेवाको सफलताको मुख्य आधार भनेको नै नयाँ प्रविधि तथा सेवाहरूको विस्तार र जनताले यो सेवाप्रति देखाएको विश्वास हो । नगदरहित नेपालको परिकल्पनाका साथ इसेवाको सुरुवात भएता पनि यसले समयसँगै अन्य सुविधाहरू थप गर्दै जनजीवनलाई सहज बनाउनुका साथै आर्थिक समावेशीकरणमा टेवा पुर्याएको छ । विगतमा दुर्गम क्षेत्रमा बसेर सेयरमा लगानी गर्ने, बिमा खरिद गर्ने जस्ता कार्य चुनौतीपूर्ण थियो । तर, अहिले इसेवा उपयोगले यी कार्यहरू सरल भएका छन् । मोबाइल टपअपबाट सुरु भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ । इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।
इसेवाले आफ्ना सेवाग्राहीलाई प्रत्यक्षरूपमा सहज जीवनशैली प्रदान गर्नुका साथै नेपालको जलवायुमा समेत उल्लेखनीय योगदान पुर्याएको जनाएको छ । ‘हामीले दैनिकरूपमा नगद कारोबार गर्दा ठुलो मात्रामा कागजको प्रयोग हुने गर्दछ । तर, अनलाइन भुक्तानीमार्फत इसेवाले अहिलेसम्म लगभग ३,७२,३४० किलो कागज बचाएको छ । कुल ७,८०९,६९८.७२६ किलो सीओ२ई कार्बन घटाउन मद्दत गरेको छ’, कम्पनीको भनाइ छ ।
नेपालमा लगभग १० लाख जनताले नेपाल विद्युत् प्राधिकरणको बिल भुक्तानी इसेवामार्फत गर्दै आएका छन्, जसले उपभोक्ताको समयको बचतका साथै १० लाख वटा रसिद छपाइमा प्रयोग हुने कागज, मसी र इन्धनको समेत बचत भएको छ । यो आफैँमा आश्चर्यलाग्दो परिवर्तन हो ।
- कस्तो छ, आजको इसेवा ?
चार जना कर्मचारीबाट सुरु भएको इसेवाले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले अहिले २ हजारभन्दा बढी सेवाहरूको सुविधा दिँदै आएको छ । त्यति मात्र नभई नेपालमा नै पहिलोपटक सेवाग्राहीद्वारा निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट ईभीएका साथै एजेन्टहरुलाई प्रवाह गरेको इजी लोन सेवाबाट नेपालको डिजिटल भुक्तानीमा नयाँ आयामको सुरुवात भएको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ । इसेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन् ।
यस्तो हुनेछ, भविष्यको इसेवा
भुक्तानी प्रदायक कम्पनीका रूपमा प्रख्यात इसेवाले आगामी दिनमा आफ्ना सेवाहरू विस्तार गर्ने योजना बनाउँदैछ । आगामी दिनमा भुक्तानी मात्र नभई बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिएको छ । बचत गर्ने सुविधाले सेवाग्राहीलाई प्रोत्साहन मिल्ने छ । आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फण्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ– इसेवाले । अहिले मर्चेन्टहरूलाई मात्र प्रदान गर्दै आएको इजीलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत इसेवाको लक्ष्य छ । यी नयाँ सेवाले सेवाग्राहीलाई थप सुविधाजनक र सुरक्षित वित्तीय सेवाहरू प्रदान गर्ने निश्चित रहेको कम्पनीको दाबी छ ।
‘डिजिटल भुक्तानीको सुरक्षामा पनि इसेवा उत्तिकै संवेदनशील र सतर्क छ’, इसेवाको भनाइ छ, ‘कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी ठगी र संधिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने बाटोमा हामी छौँ । यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत बचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
इसेवालाई अझै विश्वासिलो, उपयोगी र समावेशी वित्तीय सेवा प्रदायकका रूपमा स्थापित गर्ने आफूहरूको कार्य योजना रहेको कम्पनीको भनाइ छ । यस्तै आफ्ना सेवाग्राहीको आर्थिक उत्थानमा टेवा पुर्याउने कुरामा समेत इसेवाले कुनै कसर बाँकी नराख्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान