बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
आईसीसी महिला यू–१९ विश्वकप

अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने

बुधबार, ०९ माघ २०८१, १३ : ४८
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार जारी खेलमा अस्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनायो ।

अस्ट्रेलियाका लागि कोमेह बेरीले ४५ रन बनाइन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले ३४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काइन् । एलेनोर लरोसाले पनि टोलीको खातामा ३१ रन थपिन् । पाँचौँ नम्बरकी ब्याटर लरोसाले ३९ बलमा तीन चौका प्रहार गरिन् ।

हसरत गिलले पनि टोलीका लागि अविजित ३० रनको योगदान गरिन् । उनले २१ बलको सामना गरी पाँच चौका हिर्काइन् । अस्ट्रेलियामा माथिल्ला तीन ब्याटर सस्तैमा पेभेलियन फर्किएका थिए । त्यसपछि आएका ब्याटरहरुले अस्ट्रेलियाको पालीलाई सम्हालेका थिए । 

नेपाली टोलीकी बलर पूजा महतोले तीन विकेट लिइन् । टोलीकी कप्तानसमेत रहेकी उनले चार ओभरमा ३१ रन खर्चिइन् । सिमाना केसीले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा ३५ रन खर्चिइन् । रिया शर्माले पनि एक विकेट कुम्ल्याइन् । 

समूहगत चरणमा यी दुबै टोलीले अन्तिम खेल खेलिरहेका हुन् । यो खेल नेपालका लागि निकै मत्वपूर्ण छ । समूह ‘डी’ अन्तर्गतको यो खेलमा विजयी भए नेपालको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ । यो समूहबाट अस्ट्रेलिया र बंगलादेश ‘सुपर–६’ चरणमा पुगिसकेका छन् ।

दुई खेल खेलेको अस्ट्रेलिया चार अंकसहित पहिलो र तीन खेल खेलेको बंगलादेश पनि चार अंकसहित दोस्रो स्थानमा आसिन छन् । तीन खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको नेपालले भने अंक बटुल्न सकेको छैन । प्रत्येक समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ ।

नेपाल र अस्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । हाल स्कटल्यान्डको भन्दा नेपालको नेट रन रेट राम्रो रहेको छ ।  अस्ट्रेलियालाई हराउन सके नेपालको पनि दुई अंक हुनेछ । त्यसपछि नेट रन रेटका आधारमा ‘सुपर–६’ चरणमा पुग्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली स्कटल्यान्डसँग एक विकेटले हारेको थियो ।

नेपाली युवा टोलीमा पूजा महतो (कप्तान) सोनी पाख्रिन, किरण कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविण, स्नेहा महरा, सावित्री धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप