बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

यस कारण बेवास्ता गर्नुहुन्न दिसाबाट रगत आउने समस्यालाई

बुधबार, ०९ माघ २०८१, १५ : ००
बुधबार, ०९ माघ २०८१

दिसाबाट रगत आउनुका धेरै कारण हुन्छन् । त्यसमध्ये प्रमुख कारण पायल्स अर्थात् ‘हेमोरोइड्स’ हो । मलद्वारको नसा फुलेर फुटेपछि रक्तस्राव हुनुलाई ‘हेमोरोइडल ब्लिडिङ’ भनिन्छ । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, चाहे त्यो पायल्सले होस् या अन्य कारणले । हेमोरोइड्स हुनुका कारण धेरै हुन सक्ने भएकाले त्यसलाई पत्ता लगाउन एकदमै जरुरी हुन्छ । युवामा धेरैजसो ‘फिसर्स’ हुन्छ, जसमा कब्जियत या कडा दिसा हुँदा मलद्वारलाई घर्षण गर्दै भित्री छाला च्यातिन्छ । यस्तो हुँदा रगत आउँछ र दुखाइ पनि धेरै हुन्छ । यो बाहिर देखिने कुरा भयो ।

आन्द्राभित्र पनि धेरै प्रकारका रोग हुने भएकाले तिनलाई समयमै पहिचान गर्नुपर्छ । धेरै प्रकारका रोगमध्ये ‘अल्सरेटिभ कोलाइटिस’ पनि एक हो, जुन कोलोनको एक प्रकारको रोग हो । यो रोग आजकाल धेरै देखिने गरेको छ । विशेष गरी, ४५ वर्षमाथिका मानिसमा दिसामा रगत जाने समस्या छ भने क्यान्सरको लक्षण पनि हुन सक्छ । त्यसैले बेलैमा ख्याल गर्नुपर्छ । 

  • कसरी गर्ने रोकथाम ? 

युवा उमेरमा कब्जियत भएकाहरूको जीवनशैलीलाई परिवर्तन गरे पुग्छ तर मोटोपन भएको, धेरै ‘फ्याट’ भएको खानेकुरा खाने, शारीरिक अभ्यास कम गर्ने, धूम्रपान तथा मदिरा सेवन गर्ने मानिसमा कब्जियतको समस्या बढी हुन्छ, जसले गर्दा ‘हेमोरोइडल ब्लिडिङ’ अथवा पायल्सको समस्या हुन्छ । 

उमेर बढ्दै जाँदा क्यान्सरको जोखिम धेरै हुन्छ, जसलाई ‘कोलोरेक्टल कार्सिनो’मा भनिन्छ । क्यान्सरका कारण हुने मृत्युमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ भने स्तन क्यान्सर दोस्रोमा तथा कोलोन क्यान्सर तेस्रो नम्बरमा पर्छ तर कोलोन क्यान्सरलाई नेपालमा खासै वास्ता गर्ने गरेको पाइँदैन । यसका लागि ४५ वर्षभन्दा माथिको उमेरका व्यक्तिले कोलोनोस्कोपीका माध्यमबाट पहिचान र परीक्षण गर्न एकदमै जरुरी छ । 

dr-sandeep-raj-kunwar

‘कोलाइटिस’ अर्थात् आन्द्रा सुन्निने रोगको कारणमध्ये ‘अल्सरेटिभ कोलाइटिस’ पनि हो । अर्को कुरा उमेर बढ्दै जाँदा आन्द्राको मांसपेशी कमजोर हुँदै जान्छ, जसलाई ‘डाइभर्टीकुली’ भनिन्छ । यसमा आन्द्रामा साना–साना खोपिल्टा बस्न थाल्छ र रगत आउन थाल्छ । यस्तो समस्यालाई पनि परीक्षण गरेर पहिचान गर्नुपर्छ । मासु पलाएको छ कि छैन, मासु पलाएको ठाउँबाट रगत बगेको छ कि छैन भनेर हामी कोलोनोस्कोपीकै माध्यमबाट परीक्षण गर्छौँ र बायोप्सी लिएर यकिन भएपछि सीटी स्क्यान लगायत प्रक्रिया अपनाइन्छ । 

हेमोरोइड्स साधारण नै मानिन्छ, डराउनुपर्दैन । हामीकहाँ यो गलत बुझाइ छ कि दिसामा रगत गयो भने पायल्स नै हो भनिन्छ । अथवा धामीझाँक्रीलाई देखाउने, आयुर्वेदिक तथा घरेलु उपचारतिर लाग्ने गरिन्छ । यसरी निको नभई जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल जाने चलन छ । 

रगत जाने भइसकेपछि यसले अरू समस्या निम्त्याउन सक्छ । जस्तो ः शरीरमा रगतको कमी हुन सक्छ, जसका कारण शरीरमा धेरै समस्या निम्तिन्छन् । धेरै रक्तस्राव भयो भने ‘हाइपोभोलेमिक सक’ अर्थात् बिरामी एकैपटक कोल्याप्स हुन सक्छ । धेरै रगत बगेको अवस्थामा डाक्टरको परामर्श लिनु जरुरी छ । 

  • जीवनशैली र खानपानको असर 

सबै रोगका लागि खानपान र जीवनशैलीको ठुलो महत्त्व छ । अहिलेको सन्दर्भमा अधिकांशले खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ । आजकाल खानामा तरकारीभन्दा पनि मासु र तारेको खानपान बढी हुने तथा चिल्लो बढी भएको खाना खाने र धूम्रपान तथा मदिरा सेवन बढ्दै गएको छ, जसले आन्द्रामा समस्या तथा ग्यास्ट्रिक निम्त्याउने मात्रै होइन, अन्य अंगलाई पनि असर गरेको हुन्छ । यसैले तौल नियन्त्रण गर्न शारीरिक अभ्यास निकै महत्त्वपूर्ण छ । तौल जति बढ्दै गयो नकारात्मक प्रभाव उति नै बढ्दै जान्छन् । जस्तो ः सुगर तथा रक्तचाप बढ्दै जान्छ भने कोलेस्टेरोल पनि उच्च हुन्छ । मुटुका समस्या देखिन सक्छन् । 

हामी फाइबर डाइटतर्फ त्यति वास्ता गर्दैनौँ । पेट सफा राख्न फाइबरयुक्त खाना खानुपर्छ भने प्रशस्त पानी पिउनुपर्छ । पानीको विकल्पमा जुस, फ्यान्टा तथा कोकको प्रयोग कहिल्यै गर्नुहुन्न । दैनिक दुई लिटर पानी पिउनुपर्छ, यसले कब्जियतलाई पनि राहत दिन्छ । ताजा दही राम्रो प्रोेबायोटिक हो, जसले आन्द्रालाई राम्रो गर्छ । व्यायाम गरेर फुर्तिलो भएर बस्नुपर्छ ।

  • उपचार विधि

साधारणतया ‘हेमोरोइड्समा कोलोनोस्कोपी’का माध्यममार्फत उपचार गर्न सक्छौँ । त्यसलाई रबर ब्यान्ड लगाएर या इन्जेक्सन लगाउन सुकाउन सकिन्छ । अलि ठुलो खालको छ भने लेजर सर्जरी या शल्यक्रिया गर्न सकिन्छ । मलद्वारको छाला च्यातिनुलाई फिसर्स भनिन्छ, त्यसका लागि मलहमले पनि उपचार गर्न सकिन्छ ।

कोलाइटिसमा आन्द्रा सुन्निएर रक्तस्राव हुने सम्भावना हुन्छ । त्यसको कारण पत्ता लगाएर समाधान निकाल्ने प्रयास गरिन्छ । सङ्क्रमण छ भने त्यसको उपचार गरिन्छ । अल्सरेटिभ कोलाइटिसलाई हाई डोज औषधि दिएर रोकथाम गर्न सकिन्छ । सकिएन भने रगत रोकिन गाह्रो हुन्छ । ‘डाइभर्टीकुली’मा पनि रगत बग्ने सम्भावना छ भने उपचार गर्न सकिन्छ । 

रक्तस्राव हुने घाउहरूमा हेमोस्थेटिक क्लिप्सहरू लगाउन सकिन्छ । क्यान्सर नै देखियो भने शल्यक्रिया या केमोथेरापीका माध्यमबाट उपचार गर्न सकिन्छ । त्यसैले दिसामा रगत आयो भन्दैमा पायल्स भनेर घरेलु या आयुर्वेदिक उपचार गरेर बस्नुहुन्न । ४५ वर्षको उमेरपछि क्यान्सरको लक्षण देखिने भएकाले तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।

(डा. कुँवर नर्भिक इन्टरनेसनल अस्पतालका कन्सल्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा विभागीय प्रमुख हुन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सन्दीपराज कुँवर
डा. सन्दीपराज कुँवर
लेखकबाट थप