दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक ६ लेनमा विस्तार गर्न थालिएको दुई वर्ष बितिसक्दा पनि जम्मा ३५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । यो सडकखण्ड विस्तार तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।
हालसम्म यो सडकको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । ‘अहिले यो आयोजनाको पहिलो खण्डमा निर्माण कार्य भइरहेको छ । हालसम्म यसको ३५ प्रतिशत भौतिक प्रगति र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ,’ इन्जिनियर खनालले भने, ‘चालु वर्षमा मात्रै हेर्ने हो भने लक्ष्यको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।’
यो सडक बीपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने सवारीलगायत बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षित गरी विस्तार गर्न थालिएको हो । तर, सडक विस्तारमा भएको ढिलाइका कारण दैनिक स्थानीय तथा बीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौँ आउजाउ गर्ने यात्रुले हैरानी खेप्नु परेको गुनासो छ । यहाँ हिलो र धुलोका कारण ठुलो सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ ।
- आर्थिक र वित्तीय समस्याले निर्माणमा अवरोध
आयोजनाका इन्जिनियर खनालका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले सुस्त भएको छ । यस्तै सडक मापदण्डभित्र परेका केही स्थायी संरचना हटाउन अवरोध हुँदा पनि काममा ढिलाइ भएको छ ।
‘पुरातत्त्वको विषय समाधान भइरहे पनि अझै कहीँकतै समस्या छ । अझै ढल, खानेपानीका समस्या कायम छन् । मिलाउँदै काम गरिरहेका छौँ,’ इन्जिनियर खनालले भने, ‘अहिले सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने कार्य पूरा भइसकेको छ । नाली र कल्भर्ट निर्माणको काम भइरहेको छ । अब निर्माण अवधि १ वर्ष छ । अहिलेसम्म निर्धारित समयमै सक्छौँ भन्ने छ । नसकिए थोरै समय थप गर्छौँ ।’
इन्जिनियर खनालका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा ७३ वटा घरटहरा हटाउनुपर्ने छन् । अदालतले सडककै क्षेत्रमा परेका ती घरटहरा हटाउन क्षतिपूर्ति दिन नपर्ने फैसला गरेका कारण केही समस्या देखिएको उनको भनाइ छ । ती घरटहरा हटाउन जिल्लामा परामर्श गरिरहेको उनले बताए ।
७ महिना अघि बनेपा बजार क्षेत्रमा पुलको हाइटको विषयमा विवाद हुँदा पनि निर्माणमा अवरोध आएको खनालले बताए । यो विवाद अहिले समाधान भएर पुलको डिजाइन तयार भइरहेको उनले जानकारी दिए ।
२०७९ चैत १६ गतेदेखि निर्माण सुरु गरिएको यो खण्डका लागि करिब ८ अर्ब ५२ करोड लागतमा निर्माण सम्झौता भएको छ । यस सडक खण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गर्ने गरी सम्झौता भएको छ । तीन वर्षमा निर्माण सक्ने लक्ष्यसहित यो सडकमा २० मिटरको मुख्य र दायाँ–बायाँ ५/५ मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदल मार्ग निर्माण गर्ने गरी सम्झौता भएको छ ।
- पहिलो खण्डको तुलनामा दोस्रो खण्डको प्रगति बढी
सूर्यविनायक–धुलिखेल सडक खण्डलाई मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तार गर्न भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ । सोही अनुसार दुई निर्माण कम्पनीसँग २०७९ पुस २४ गते निर्माण सम्झौता भएको थियो ।
यसैगरी ७.५ किलोमिटर दूरी रहेको पहिलो खण्ड सूर्यविनायक–साँगा सडक विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको छ । यो खण्ड निर्माणका लागि आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का लिएको हो ।
यस्तै ८.३ किलोमिटर दूरीको साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो खण्ड निर्माणका लागि लामा कन्स्ट्रक्सन प्रालिले सम्झौता गरेको छ ।
सूर्यविनायक–साँगाको प्रगतिको तुलनामा साँगा–धुलिखेल सडक खण्डमा ३ प्रतिशत बढी भौतिक प्रगति भएको छ । साँगा–धुलिखेल सडक खण्डमा ४० प्रतिशतको हाराहारीमा छ । सूर्यविनायक –साँगा खण्डमा ३७ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
- ८० प्रतिशत सडकमा स्ट्रक्चर निर्माण कार्य सम्पन्न
इन्जिनियर खनालका अनुसार कुल १५.८ किलोमिटर सडकमध्ये ८० प्रतिशत सडकमा स्ट्रक्चर निर्माण कार्य सम्पन्न भएको छ । यसैगरी अब ग्राभेल गर्ने र कालोपत्रे गर्ने तयारी भइरहेको छ । हाल ग्राभेल भइरहेको उनले बताए । लगभग एक महिनामा उक्त सडक कालोपत्रे सुरु गरिने योजना छ । एक महिनाभित्र सिमेन्ट ट्रेटिड बेस निर्माण सकिने र त्यसमाथि कालोपत्र गरिने छ ।
- तीन वटा पुलमध्ये दुई वटा निर्माण सुरु
तीन वटा पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई २०७९ चैतमा ठेक्का सम्झौता गरिएको छ । यी तीन पुलको कुल लागत करिब १ अर्ब अनुमान गरिएको छ । तीन पुलमध्ये एउटा पुल डिजाइनको प्रोसेसमा छ । धुलिखेलको पुन्यमाता खोलामा बनाइने पुलको डिजाइनमा समस्या भएको थियो । यो पुलको डिजाइनको समस्या समाधानपछि निर्माण सुरु गरिने इन्जिनियर खनाल बताउँछन् ।
इन्जिनियर खनालकाअनुसार जगाती खोला र महादेव खोलामा पुल निर्माण सुरु भएको छ । उक्त पुल निर्माणका लागि ठेकेदारले फाउन्डेसन खनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा