बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेट

भारत–पाकिस्तान जर्सी विवादमा आईसीसीको चेतावनी

बुधबार, ०९ माघ २०८१, ०९ : ५३
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने हरेक ठुला प्रतियोगिताअघि दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच विभिन्न विषयलाई लिएर विवाद हुने गर्छ । 

त्यसैले भारत र पाकिस्तानबिचको खेल विश्वभरका दर्शकको लागि पनि प्रतीक्षाको विषय बन्ने गर्छ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदै छ । 

यो प्रतियोगिताअघि पनि भारत र पाकिस्तानबिच चर्को विवाद देखिएको थियो । सुरक्षाको कारण देखाउँदै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि विवाद सुरु भएको थियो । 

विवाद बढ्दै गएपछि आईसीसीले यसमा हस्तक्षेप गर्नु परेको थियो । अहिले आएर यो विवाद समाधान भइसकेको छ । च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सम्पूर्ण खेल ‘न्यूट्रल भेन्यू’ दुबईमा खेल्नेछ । आगामी तीन वर्षसम्म पाकिस्तानले पनि भारतीय भूमिमा आईसीसीको कुनै प्रतियोगिता खेल्ने छैन ।

यो तनाव शान्त भएलगत्तै भारत र पाकिस्तानबिच अर्को विवाद सुरु भएको छ । च्याम्पियन्स ट्रफीमा सहभागी हुने भारतीय खेलाडीले आफ्नो जर्सीमा आयोजक राष्ट्र पाकिस्तानको नाम नराख्ने समाचार बाहिरिएपछि नयाँ विवाद सुरु भएको हो । 

यो विवादमा पनि आईसीसीले हस्तक्षेप गर्नु परेको छ । आईसीसीले च्याम्पियन्स ट्रफीमा सहभागी हरेक राष्ट्रले आफ्नो जर्सीमा आयोजक राष्ट्रको नाम राख्नै पर्ने निर्देशन जारी गरेको छ । यो नियमको उल्लंघन गर्ने टोलीलाई कारवाही गर्ने चेतावनी पनि आईसीसीले दिएको छ ।

‘हरेक टोलीले आफ्नो जर्सीमा आयोजक राष्ट्रको नाम राख्नै पर्छ । यो निमयको उल्लंघन गर्ने टोलीले कडा कारवाहीको भागिदार बन्नु पर्नेछ,’ आईसीसीको भनाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप