बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सकारात्मक आहार प्रवृत्ति बढाउने केही उपायहरू

बुधबार, ०९ माघ २०८१, ०९ : ११
बुधबार, ०९ माघ २०८१

नाता, निम्तो तथा मेजमानीका लागि बोलाइएको ठाउँमा जानुको अर्थ भनेकै खानुपिउनुमा छ भन्ने सोच आम मानिसमा रहेको पाइन्छ । वास्तवमा यो पूर्णतः गलत अवधारणा हो ।

कुनै पनि भोज,भतेर,उत्सवको अन्तर्निहित अभिप्राय आत्मीयता, सामीप्यता, अपनत्वजस्ता शुभ भावनाको आदानप्रदान गर्नु हो । यसो नभएर अचेलका भोजभतेरहरू त रवाफ देखाउने गरगहना तथा लुगाफाटा प्रदर्शन गर्ने अति सक्दो खाने खुवाउने परिपाटिमा बदलिँदै छन् । वास्तवमा यस्तो प्रचलन हाम्रो सामाजिक सभ्यताभित्र फस्टाएको आडम्बरमा मात्र हो ।

यो सँगै खाना आधासरि मिल्काउने प्रवृत्ति पनि साधारण परिवारदेखि लिएर भोजभतेर हुने पार्टी प्यालेस, ब्याङक्वेट र तारे होटलसम्म भित्रिसकेको छ । खानेकुरा तथा अन्नपात फ्याँक्ने प्रवृत्ति धनाढ्य र आधुनिकताको होइन घोर असभ्यताको परिचायक हो ।

खाद्यवस्तु बरबादीका कारणहरूमध्ये पहिलो कारण मान्छेमा खाने पिउने सकारात्मक प्रवृत्तिको कमी र धनको अभिमान हो ।

अन्य कारणहरूमा आजभोलिको सपिङ कल्चर, फास्टफूड एडिक्सन, ओभर बिजी लाइफ, विभिन्न बहानामा आयोजना गरिने भोजभतेर, चाडपर्व, विवाह, व्रतबन्ध तथा अन्य पार्टीमा खाने प्रचलनले पनि यस प्रवृत्तिलाई हौस्याएको पाइन्छ ।

तसर्थ खानेकुराको निर्दयतापूर्वक बर्बादीलाई रोक्न सर्वप्रथम सकारात्मक आहार प्रवृत्ति 'पोजेटिभ इटिङ एटिच्युड'को विकास हुनुपर्दछ ।

सकारात्मक आहार प्रवृत्ति बढाउने केही उपायहरू

-खानेकुरा ग्रहण गर्दा निर्धारित समयमा प्रसन्न मनोभावले खाने गरेमा खानेकुराप्रति सचेतना जाग्दछ र खाद्यवस्तु नाश गर्ने प्रवृत्तिबाट मुक्त हुन सहयोग पुग्दछ ।

-पेटमा भोक त छैन तर हजुरजस्तो प्रियजनले यत्तिको कर गर्नुभयो, त्यसैले खाइदिऊँ न त भनी Emotional Eating गर्दै हुनुहुन्छ भने निश्चितरुपमा अब केही खानेकुरा बरबाद  हुनेवाला छ । Emotional Eating बाट बच्ने प्रयास गरौँ ।

-खानेकुरा पस्किएको थाल वा प्लेटलाई स्वीकार गर्नुअगाडि त्यसमा भएको खानेकुराको मात्रामाथि ध्यान पुर्‍याउनु अत्यन्त आवश्यक हुन्छ ।

-इच्छा वा रुचिविपरित यदि कुनै सत्कार या मेजमानको दबाब रहेको खण्डमा विनम्रतापूर्वक आफ्नो स्थितिलाई व्यक्त गर्ने बानी बसालौँ  । साथै, आफ्नामा आउने कुनै अतिथिलाई सोहीअनुरूप व्यवहार गरौँ ।

-केटाकेटी र बूढाबूढीलाई खानेकुरा थोरै थोरै दिने र पटक पटक थपेर खुवाउने गरौँ।

-नयाँ परिकार, नौलो स्वाद तथा अनौठो खाद्य सामाग्री खानुपर्दा सुरुसुरुमा थोरै थोरै भाग लगाउने या लिने गर्नुपर्छ ।

-पाहुना बनेर जाँदा होस् या तिनलाई खाना खुवाउँदा होस, बिना सङ्कोच आफ्नो रुचि, बानी तथा खाने मात्राको जानकारी दिनुपर्दछ । शिष्टाचारको नाममा यस विषयमा नबोल्दा

 अमूल्य खाद्यवस्तु खेर जाने डर हुन्छ ।

-भोज, भतेर, पार्टी, प्रीतिभोजको बेलामा आयोजक र फुड सप्लाएर दुवैले खानेकुरा नष्ट नहुने गरी योजना बनाउने, परस्परमा चर्चा गर्ने, कम भेराइटिका खानेकुरा राख्ने, तातो र ताजा

 खुवाउने, पार्टी हलको भित्ता वा कुनामा खानेकुरा नाश गर्नु महाभुल हो भन्ने सन्देश दिने मर्मस्पर्शी उद्गारहरू टाँस्ने गर्नुपर्दछ ।

-सुँगुर, बँङ्गुर, कुकुर या गाइबाख्राले खाइहाल्छन् नि भनेर खाना छोड्नु एक प्रकारको मूर्खता हो । कुनै पनि पशुपन्छी लाई जुठो खान दिनु स्वास्थ्य, सम्बन्ध र मानवीय दृष्टिले अनुपयुक्त

 मानिन्छ ।

-फ्रिज या अरू कुनै साँचेर राख्ने उपकरण छ भने जथाभाबी खाना धेरै पकाउने, बजारबाट एकै चोटि ल्याउने र अभिमानपूर्वक सञ्चय गर्ने गर्दा अन्ततः केही अंश खानेकुरा फ्याँकिने र त्यस्ता

 बासी खानेकुराहरू खाइहाले पनि विभिन्न प्रकारका रोगव्याधि उब्जने भय पनि त्यतिकै रहन्छ ।

-अति व्यस्तता जीवनशैलीले गर्दा महानगरमा बस्नेहरू अचेल २/४ दिनका लागि एकै पटक पकाएर राख्ने गर्छन्, तर १ /२ छाकपछाडि त्यो एउटै स्वादको खानेकुरा मन पर्न छोड्छ र अन्ततः फ्याँकिन पुग्छ । विचार गर्नुहोस् तपाई सँग १ दिन मा २४ घण्टा हुन्छ। सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति स्वास्थ्य र त्यसको आधारशिला तपाईँको खानपानको लागि आधा घण्टा समय निकाल्ने फुर्सद छैन?

-आफ्नो खाँचो तथा आवश्यकताको जानकारी नै नराखी बजार जाने अनि अरूको लहैलहैमा खाद्यवस्तु किन्ने राम्रो होइन । हेरेर, विचार पुर्‍याएर र खानेकुराको मूल्य बुझेर मात्र खाद्यवस्तु किन्ने र

 बजार मनोविज्ञान बुझ्ने गरौँ ।

-दुध फाटे पनिर या रसबरी बनाउने, भात धेर भए जाँड बनाउने, पिठो धेर भए पकौडा खाने, मासु धेर भए सुकुटी बनाउनेजस्ता मानसिकता छोड्नुपर्छ । यसो गर्दा रोग बिमारी आउने त  छदै छ, मानसिकता पनि बासी र निराशावादी हुन्छ ।

-घरको अभिभावक वा मान्नेगुन्नेले परिवारका अरू सदस्यलाई खाना मिल्काउने प्रवृत्ति अमानवीय र अविवेकपूर्ण हो भनी सिकाउने गरौँ र आफू पनि त्यस्तो नगर्नेप्रति सचेत बनौँ।

-केही न केही शारीरिक श्रम गर्ने, बिहानीपख योग व्यायाम गर्ने, दौडने, पसिना बगाउने गर्नाले पेटको क्षमता र वास्तविक भोक मा वृद्धि हुने हुँदा दुई चार गाँस बढी भए पनि पचाउन सकिन्छ ।

 यसबाट पनि खाद्यवस्तु खेर जान बाट बचाउन सकिन्छ ।

-होटल, रेस्टुरेन्ट, फुडमार्ट, फुडक्याफे, फास्ट फुडक्याफे जस्ता ठाउँमा गएर खानेकुरा खाँदा अत्यन्त संवेदनशील बनौँ । पैसा तिरेको त हो नि भनेर हचुवामा खानेकुरा छोड्ने मूर्खता गर्नु  राम्रो होइन ।

सभ्यताको प्रदर्शन

-पेट र स्वास्थ्य माथि नै गम्भीर असर पर्ने देखिएको खण्डमा क्षमा याचना गर्दै केही खाना छोड्नु अमानवीयता प्रदर्शन गर्नु होइन ।

-रुचिविपरित, पटक्कै मन नपर्ने किसिमको र तपाईँको रोग बिमारीलाई कुप्रभावित गर्ने खालको खाद्यवस्तु भए खान आग्रह गर्ने मानिसलाई विनम्रतापूर्वक निवेदन गर्दै अर्काेपल्टको लागि जानकारी  हुने गरी खानेकुरा त्याग गर्नु शिष्टताको परिचायक हो । 

-दुर्गन्ध आइरहेको, रूप बिग्रिएको, बासी तथा सडेगलेको, फोहोरी, किरा र कपाल या रौँ परेका, नाश हुन्छ भनी स्वार्थवश खान दिइएको भए त्यस्ता खानेकुरा कसैलाई चोट नपुग्ने गरी मिठो

 शब्दले अस्वीकार गर्नु बुद्धिमानीको काम हो ।

-दुषित भावनाले, अश्रद्धापूर्वक तथा दुत्कारसहित तर बाध्यतावश, कसैले खानेकुरा दिइरहेको छ भने त्यस्तो भोजन ग्रहण नगर्ने सल्लाह आयुर्वेदोक्त ग्रन्थ र सूक्ष्म द्रष्टा ऋषिमुनिहरुले दिएका छन्

-भोजन दिने मानिस यदि  रिस, हिंसा या कामनावासानाले व्यग्र देखिन्छ भने उसले दिइएको खानेकुरा स्वीकार नगर्नु राम्रो हुन्छ । खाना दिने मानिस को मनोवैज्ञानिक प्रभाव खाना खाने मानिसमा प्रत्यक्षरुपमा प्रवेश गर्दछ ।

-अत्यन्त थकित, मलमूत्रको वेगले ग्रसित, निद्राले व्यग्र, पसिनाले निथ्रुक्क भिजेको शारीरिक सम्बन्ध लगत्तै, लामो यात्राबाट आइपुग्ने बित्तिकै, बिहान उठेर आँखा उघार्ने बित्तिकै, कुनै खेल खेल्ने बित्तिकै कहिल्यै पनि अति चिसो र अति तातो खानेकुरा खान नहुने सुझाव आयुर्वेद ग्रन्थहरूमा छ । यसबाट पनि खानेकुराको सम्भावित अपव्ययलाई रोक्न सकिन्छ ।

   स्रोत : डा राजु अधिकारी (आर्ट अफ इटिङ) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पूजा सुनार
पूजा सुनार
लेखकबाट थप