बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

विज्ञ भन्छन्– आयात, निर्यात बढ्नु मात्रै अर्थतन्त्र सुधारको संकेत होइन

बुधबार, ०९ माघ २०८१, ०८ : ४१
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यही अवधिमा करिब ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भन्सार विभागका अनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आवको ६ महिनाको आयात ७ प्रतिशतले बढी र निर्यात ३१.७८ प्रतिशतले बढी हो । विभागका अनुसार गत आवको ६ महिनामा आयात ७ खर्ब ६८ अर्ब १६ करोड भएको थियो भने निर्यात ७४ अर्ब ९६ करोडको भएको थियो । 

निर्यात यति धेरै बढे पनि व्यापार घाटामा भने त्यसले खासै फरक पारेको देखिएको छैन । यो आवको ६ महिनाको अवधिमा मात्रै नेपाललाई ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । यो घाटा गत आवको यही अवधिको तुलनामा ४.३८ प्रतिशतले बढी हो । 

नेपालबाट निर्यात भएका अधिकांश वस्तु नेपाली उत्पादन छैनन् । निर्यातित वस्तुको सूची हेर्दा हाम्रो आन्तरिक उत्पादन वृद्धि भएको देखिँदैन । भन्सार विभागका अनुसार साउन–पुसको अवधिमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा आयात हुँदा भटमास तेलको कच्चा पदार्थ आयात हुने वस्तुको दोस्रो नम्बरमा छ । सँगै निर्यात हुने वस्तुको पहिलो नम्बरमा भटमासको तेल छ । यसले पुष्टि गर्छ की निर्यातको दर बढ्नुमा हाम्रो आन्तरिक उत्पादनको कुनै भूमिका छैन । 

आयात, निर्यात दुवै बढ्नुलाई अर्थतन्त्रमा देखिएको झिनो सुधारको आस मान्न सकिएला । त्यसमा पनि निर्यात बढ्नु अर्थतन्त्रका लागि सकारात्मक कुरा हो । तर कस्तो वस्तु निर्यात र कस्तो वस्तु आयात भइरहेको छ भन्ने चाहिँ महत्त्वपूर्ण हुने जानकारहरू बताउँछन् ।

जानकारहरूको अनुसार नेपालको उत्पादन क्षमता र वस्तुको गुणस्तरका कारण नभई भारतले दिएको सुविधाले निर्यात बढाएको हो । ‘अर्को देशले दिएको सुविधा उपयोग गरेर गरिएको निर्यात दिगो हुँदैन,’ अर्थशास्त्री डा. सुन्दर शर्मा भन्छन्, ‘निर्यातमा स्वदेशी उत्पादनको हिस्सा नबढ्दासम्म अर्थतन्त्र बलियो भएको मान्न सकिँदैन ।’

अहिले भटमासको तेलजस्तै गरी अघिल्लो वर्ष पाम आयल भारततर्फ ठुलो परिमाणमा निर्यात हुन्थ्यो । पछि भारतले भन्सार घटाएपछि नेपालबाट हुने निर्यात ठप्पजस्तै भयो । त्यसले गर्दा दिगो निर्यात हुने खालको वस्तुको उत्पादन बढाउनु आवश्यक रहेको शर्माको भनाइ छ । 

चालु आव पुसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन् । गत आवमा  १२ अर्ब ७३ करोड ३२ लाख मूल्य ईभी आएका थिए ।

चालु आवको ६ महिनामा आयात पनि बढेको छ । तर आयातित वस्तुको शीर्ष सूचीमा उपभोग्य वस्तु मात्रै छन् । यसमा पछिल्लो समय सवारी साधनको हिस्सा निकै बढेको छ । गत वर्षको तुलनामा यो आवमा ३२ प्रतिशतले गाडी आयात बढेको तथ्याङ्क छ । चालु आव ६ महिनामा ४७ अर्ब ९७ करोड रुपैयाँ बराबरको गाडी आयात भएको छ । गत आवको यही अवधिमा ३६ अर्ब ३२ करोड बराबरको गाडी आयात भएको भन्सारको तथ्याङ्क छ । 

कुल गाडी आयात बढ्दा विद्युतीय सवारीसाधनको पनि आयात बढेको देखिन्छ । चालु आव पुसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन् । गत आवमा  १२ अर्ब ७३ करोड ३२ लाख मूल्य ईभी आएका थिए ।

अर्थशास्त्री डा. शर्मा यी तथ्याङ्क केलाउँदा नेपालको अर्थतन्त्रमा ठुलो सुधारको खाँचो रहेको बताउँछन् । ‘आयात, निर्यात बढेर मात्रै अर्थतन्त्रमा सुधार आयो भन्न मिल्दैन । कस्तो वस्तु र के आयात, निर्यात भएको छ भन्ने ख्याल गर्नुपर्छ,’ उनले भने, ‘औद्योगिक कच्चा पदार्थको आयात र स्वदेशी उत्पादनको निर्यात नबढ्दासम्म अर्थतन्त्र सुधारिँदैन ।’ यसका लागि सरकारले नीतिगत र संस्थागत रुपमै पहल गर्नुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप