बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ प्रदर्शनी

बुधबार, ०९ माघ २०८१, ०८ : ३०
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । तारागाउँ नेक्स्टले सराफ फाउन्डेसनको सहकार्यमा  तारागाँउ कल्चरल सेन्टरमा बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ । जनवरी २५ देखि सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना उत्कृष्ट महिला कलाकारले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् ।

डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचर : आर्ट, याक्टिभिजम र साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको भनाइ छ । दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैङ्गिक राजनीति जस्ता विषय समेत सम्बोधन गर्ने जनाइएको छ ।

प्रदर्शनीको औपचारिक उद्घाटनअघि जनवरी २३ मा ‘डिकोलोनाइजिङ द फेमिन : आर्ट, एजेन्सी एन्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा बृहत् छलफलको समेत आयोजना गरिएको छ ।

प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका १/१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनेछन् ।प्रदर्शनीमा राखिएका सिर्जना सर्वसाधारणले तीन महिना सम्म अवलोकन गर्न सक्नेछन् ।

त्यस्तै, नेपालका अश्मिना रञ्जित, विधाता केसी र उमा बिष्टासँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिनेछन् । सबै कलाकारहरूले पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्नेछन् ।

प्रदर्शनीले लिङ्ग र शक्ति जस्ता महत्त्वपूर्ण प्रश्नहरूसँग संवाद गर्नका लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्ने डा. लोखंडवालाको भनाइ छ । प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारहरूको लचिलोपन र शक्तिलाई उजागर गर्छ जसले गहिरो रूपमा बसेका पितृसत्तात्मक संरचनाहरूको विरोध गर्दै आफ्नो कलामार्फत सोचमा परिवर्तन ल्याउन बाध्य बनाएका छन्,’ उनले भनिन् । 

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ । ’प्रदर्शनी मार्फत हामीले भारत, पाकिस्तान, श्रीलङ्का, र बङ्गलादेशका महिलाहरूको सङ्घर्षसँगै नेपाली महिलाहरूका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौँ,’ उनले भनिन् ।

प्रदर्शनीले महिलाको सम्मानसँगै दमनका गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण गर्ने जनाइएको छ । यसले दक्षिण एसियाली महिला जीवनको बहुआयामिक दृश्य प्रस्तुत गर्दछ, जहाँ ऐतिहासिक रूपमा महिलालाई सम्मान गरिएको छ भने समकालीन अवस्थामा लिंगीय असमानता, हिंसा र सांस्कृतिक परंपराको कठोर वास्तविकता पनि देखिन्छ। शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनजस्ता विभिन्न कला माध्यममार्फत, प्रदर्शनीका कलाकारहरूले महिलाको जीवनका कहानीहरूलाई पुनः परिभाषित र पुनः आकार दिनेछन् ।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जनाहरू समेत समावेश छन् । पुष्पमाला एनको ’अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

अश्मिना रञ्जितको ‘सीता ! द आइडिएल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ’कन्यादान’ प्रथाको आलोचना गर्छ । त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दै छन् । उमा विष्टले छाउपडी प्रथा र कुमारी परम्पराको आलोचना गर्दै नेपाली महिलाका सङ्घर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।

विधाता केसीले महिलाहरूलाई आफ्ना आकाङ्क्षाहरू व्यक्त गर्न र समाजका अपेक्षाहरूलाई चुनौती दिनेछिन् । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कला मार्फत महिला सशक्तीकरण र स्वतन्त्रताका विषय उठान गर्नेछन् ।

प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने जनवरी २५ का दिन ३ बजे कलाकारहरूले दर्शकहरूलाई आफ्ना कार्य र सिर्जनात्मकताबारे अनुभव सुनाउने आयोजकको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप