बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म

बुधबार, ०९ माघ २०८१, ०० : ३९
बुधबार, ०९ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णय 
नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।  मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् ।

२. ट्रम्पको शपथ
डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकी संसद् क्यापिटल हिलमा ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । सत्ता सम्हाले लगत्तै ट्रम्पले राष्ट्रियदेखि विदेशसम्मका अमेरिकी नीतिहरूमा धेरै ठुला परिवर्तन ल्याउने कुरा गरे । 

३. रास्वपाले दियो बधाई 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ । रास्वपाले काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेका ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

४. हिउँदे अधिवेशन
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन माघ १८ गते बस्नेगरी आह्वान गरेका छन् । संसदको हिउँदे अधिवेशन आह्वान भएसँगै कानुन निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

५. लेखा समिति
सार्वजनिक लेखा समितिका हरेक बैठकमा सभापतिको कुर्सीलाई ‘दाउ’मा लगाएर झगडा पर्न थालेको छ । सत्तामा रहेको दल एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबिच तिक्तता बढाउने माध्यम यही पद बनिरहेको छ ।

६. घरजग्गा व्यवसाय
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ ले संस्थागत घरजग्गा (रियल स्टेट) व्यवसायलाई ‘सहज हुने बाटो’ खोलेको छ । भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन गर्दै यो अध्यादेशले घरजग्गा व्यवसायको हदबन्दी छुटसम्बन्धी विशेष व्यवस्था गरेको हो ।

७. सिंहदरबारमा हर्क साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताएका छन् । उनले फोन नउठेकै कारण समस्या भएको उनको भनाइ छ । 

८. कांग्रेसको विभाग
नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका छन् । गठन भएका विभागमध्ये पनि अधिकांशले पूर्णता पाइसकेका छैनन् । नेपाली कांग्रेसको विधानमा बढीमा ५१ जना सदस्य रहने गरी विभाग गठन गर्ने व्यवस्था छ । यसमध्ये धेरै विभाग गठन भएको नेपाली कांग्रेसको दाबी छ ।नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अन्य पनि गठन गर्ने तयारी भइरहेको छ । यसरी गठन भएका विभागले के काम गरिरहेका छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिएको छ ।

९. ढुलमुले वामदेव 
राष्ट्रिय राजनीतिमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अहिले ढुलमुले र अस्थिर नेताका रूपमा परिचित छन् । तत्कालीन एमालेभित्र ५० को दशकसम्म प्रभावशाली नेताको छवि बनाएका गौतम ६० को दशकपछि लोकप्रियता खस्किँदै गएको विश्लेषण हुने गरेको छ । 

१०. केन्द्रलाई धक्का दिएको कर्णाली
सोमबार कर्णाली प्रदेश सभाको बैठकमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही आक्रामक ढङ्गले प्रस्तुत भए । ०८० चैत अन्तिम साता वाइडबडी प्रकरणमा मुद्दा अघि बढेपछि निलम्बनमा परेका शाहीले उक्त मुद्दामा सफाइ पाएसँगै झण्डै १० महिनाको अवधिमा पहिलो पटक प्रदेश सभामा आफ्नो धारणा राखेका थिए ।

११. खेलबाड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दिपेन्द्ररमण सिंहको अध्यक्षतामा गठित विशेषज्ञ समितिले स्वास्थ्य परीक्षण क्षेत्रमा हुने विकृतिहरू उजागर गरेको हो । 

१२. नयाँ ऐन
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक संघीय संसदमा पेस गर्ने अवस्थामा पुगेको छ । माघ १८ मा संसद् सुरु हुनुअघि नै प्रहरी र सशस्त्र प्रहरीको ऐनसम्बन्धी विधेयक दर्ता गर्नेगरी काम भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप