आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादीमा तीन प्रदेश इन्चार्ज फेर्ने तयारी, पूर्वउपराष्ट्रपति पासाङको विषयमा भएन निर्णय

मङ्गलबार, ०८ माघ २०८१, २१ : ५६
मङ्गलबार, ०८ माघ २०८१

 काठमाडौँ । माओवादी केन्द्र तीन प्रदेशका इन्चार्ज फेर्ने तयारीमा देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बसेको पदाधिकारी बैठकमा सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशमा जिम्मेवारी फेरबदल गर्नेबारे छलफल चलेको हो ।

सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल, गण्डकीमा सचिव दीनानाथ शर्मा र मधेसमा अर्का सचिव लीलामणि पोखरेल इन्चार्ज छन् । गिरिराजमणिले मधेसमा जाने चाहना राखेको एक पदाधिकारीले बताए । ती नेताका अनुसार दीनानाथले आफ्नो ठाउँमा अर्को व्यक्ति आउन चाहेमा छाड्ने बताएका छन् । मधेसको जिम्मेवारी लिन उपमहासचिव मातृका यादवले पनि चाहना राखेका छन् ।

‘तीन प्रदेशको इन्चार्ज फेरबदलबारे बैठकमा कुरा उठेको छ । तर, निर्णय भएको छैन,’ ती नेताले भने, ‘अध्यक्षले पनि केही ठाउँमा फेरिन सकिन्छ भन्नुभएको छ । मधेस प्रदेशमा गिरिराजमणि आउन चाहनुभएको छ । दीनानाथजीले इन्चार्ज हुन नचाहेको बैठकमै राख्नुभएको थियो । यसबारे थप अध्ययन गरेर अर्को बैठकले निर्णय हुन्छ ।’

प्रचार विभाग प्रमुख फेरबदल गर्ने विषयमा पनि कुरा उठेको अर्का एक नेताले बताए । धेरैको सुझाव प्रवक्ता र प्रचार विभागको जिम्मेवारी पाएका व्यक्तिले भूगोलको जिम्मेवारी लिन नहुने तर्क गरेको जनाइएको छ । प्रचार विभाग प्रमुख उपाध्यक्ष अग्नि सापकोटा छन् ।

प्रदेशको जिम्मेवारी स्थायी कमिटी सदस्यलाई दिनुपर्ने माग

प्रदेशको इन्चार्ज स्थायी कमिटी सदस्यलाई दिने कि पदाधिकारीबाट बनाउने भन्ने विषयमा पनि छलफल भएको ती नेताले बताए । अध्यक्ष प्रचण्डले प्रदेशको जिम्मेवारी स्थायी समिति सदस्यलाई दिएर पदाधिकारीलाई केन्द्रीय विभागको जिम्मेवारी लिँदा प्रभावकारी हुने प्रस्ताव गरेका थिए । यस विषयमा पनि कुनै निर्णय नभएको बुझिएको छ ।

‘केहीले प्रदेशको इन्चार्ज स्थायी समिति सदस्यलाई दिँदा राम्रो हुन्छ भनेका छन् । केहीले पदाधिकारीबाट बनाउँदा राम्रो हुने मत छ । यस सम्बन्धमा कुनै निष्कर्षमा पुगेको छैन,’ ती नेताले भने ।

पासाङलाई तत्काल जिम्मेवारी नदिइने

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई तत्काल पार्टी जिम्मेवारी नदिइने भएको छ । उनी माओवादीको नियमित बैठकमा आमन्त्रित सदस्यका रूपमा कात्तिक आन्तिम सातादेखि सहभागी हुँदै आएका छन् । पार्टीभित्रै र बाहिर पनि आलोचना भएकाले परिस्थिति हेरेर निर्णय लिने बताइएको छ ।

केन्द्रीय समितिको पुस २१ देखि २३ सम्म बैठकमा पनि सहभागी भएका पासाङलाई पार्टीको जिम्मेवारी दिन नहुने अधिकांशको सुझाव थियो । पदाधिकारी बैठकमा पनि यस विषयमा पर्ख र हेरको अवस्थामा निर्णय गर्नुपर्नेमा सुझाव आएको उपमहासचिव हरिबोल गजुरेलले बताए । पासाङलाई जिम्मेवारी दिने विषयमा कुनै निर्णय नभएको दाबी उनले गरे ।

‘आज खासमा विद्यार्थीको विषयमा मात्र छलफल भयो । अन्य विषयमा केही निर्णय भएको छैन । सबै छलफलकै क्रममा रहेको छ । अध्यक्षले केही दिनमा बैठक बोलाउँछु भन्नुभएको छ । शुक्रबारसम्म बैठक बस्ला,’ उनले भने ।

सचिव शर्माले पनि बैठकले केही निर्णय नगरेको बताए । विद्यार्थीको निर्वाचनको विषयमा प्राविधिक विषयमा छलफल भए पनि हस्तक्षेप गर्ने नीति पार्टीको नभएको स्पष्ट पारेका उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप