एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण
काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिएको छ । सो कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले ग्लोबल आइएमई बैंकबाट ३० लाखसम्म ऋण पाउने भएका हुन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपाने र ग्लोबल आइएमई बैंकका नायव कार्यकारी निर्देशक सुमन पोखरेलले सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संगठनको जमानीमा ५ देखी ३० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्नेगरी ग्लोबल आइएमई बैंकसँग सम्झौता भएको डीआईजी कुमार न्यौपानेले बताए । उनले भने, ‘छोटो अवधिमा जागिर छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले यो कार्यक्रम ल्याएका हौँ ।’
सम्झौता अनुसार सशस्त्रका कर्मचारीले ३० वर्ष अवधिको लागि घर बनाउन ऋण पाउँछन् ।
गतवर्ष सशस्त्रले वाणिज्य बैंकसँग १५ लाखसम्म ऋण लिनेगरी सम्झौता गरेको थियो । वाणिज्य बैंकसँगको सम्झौता पनि निरन्तर रहेको डीआईजी न्यौपानेले जानकारी दिए ।