बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिले मात्र जनताका अधिकार स्थापित गर्न सकिन्छ : बाबुराम भट्टराई

मङ्गलबार, ०८ माघ २०८१, २१ : ०९
मङ्गलबार, ०८ माघ २०८१

गोरखा । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको टिप्पणी गरे।

“राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भने, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भने, “२००७ साल, ०४७ साल, ०६२/०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”

सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उनको भनाइ छ । “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप