एमाले कोशी प्रदेशले अघि सार्यो सहरी विकासको अवधारणा
विराटनगर । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको सुरुवात गरेको छ । विभागले मंगलबार विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठी गर्दै अभियान सुरु भएको जनाएको हो ।
‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ सहरहरूको पहिचान, सहरी पूर्वाधारहरूको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवश्यक रहेको विभागका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर प्रविन ढकालले बताए ।
हरियाली सडक, अत्याधुनिक बसपार्क निर्माण, भवन रेट्रोफिटिङ तथा पुनर्स्थापना, बहुतले पार्किङ, खुल्ला क्षेत्र, शौचालयहरूको निर्माण सहरी विकासका लागि गर्नुपर्ने कार्य औंल्याईएको छ ।
इन्जिनियर ढकालले फोहोरको समुचित व्यवस्थापन, जलवायु परिवर्तन तथा यसले पारेको प्रभावको अध्ययन, एक सहर, एक न्यूनतम सफा र सुन्दर पोखरी निर्माण अभियान, साना, घरेलु तथा मझौला र ठुला उद्योगहरूको स्थापना गरी रोजगारीको सृजना, व्यवस्थित खानेपानी र सरसफाइको व्यवस्थापन, गाउँको सहरीकरण सहरी विकासका लागि गर्नुपर्ने काम भएको बताए । उनले प्रस्तुत गरेको कार्यपत्र अनुसार ठुला, मध्यम तथा साना सहरको श्रृखंला निर्माण गरी बस्ती प्रणाली अपनाउनुपर्ने, विपद् मैत्री मानव विकास, भोलिको सुरक्षित सहरका लागि आजै विपद्को पूर्व अनुमान अनुसारको योजना र नीति, सहरीकरण स्थानीय तहलाई दिनुपर्ने उल्लेख छ ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको समृद्धिको खाका नेकपा (एमाले)सँग मात्रै रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने नेकपा (एमाले)को नेतृत्वमा बनेका प्रदेश सरकारले सुरु गरेका महत्त्वपूर्ण विकासका योजनाहरू अवस्था, सम्पन्न नभएको योजनाहरू चाडै सम्पन्न गर्दै प्रदेशलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार र एमाले लागिपर्ने बताए ।
कोशी प्रदेशका १४ वटै जिल्लामा सहरी विकासको अवधारणाबारे गोष्ठी गरिने विभागका प्रमुख लोकेश निरौलाले बताए । व्यवस्थित सहरका लागि सहरी नीति आवश्यक रहेको उनको भनाइ छ ।
विभागका सचिव सागर थापाले विराटनगरबाट अभियानको थालनी भएको बताए । विभागले अघि सारेको अवधारणामा आएका सुझावहरूलाई समेटेर संघीय सरकार र कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने सचिव थापाको भनाइ छ । विभागले चाँडै प्रदेशभर कार्यक्रम गरी विभागको सहरी विकासबारेको अवधारणा तय गर्ने सचिव थापाले जानकारी दिए ।