बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कोशी प्रदेशसभा बैठक

बाढी पीडितलाई क्षतिपूर्ति र किसानलाई मल दिन सांसदहरूको माग

बलात्कार आरोपीलाई किन अस्पतालमा राखियो ? : सांसद सविना बजगाई
मङ्गलबार, ०८ माघ २०८१, १८ : ४२
मङ्गलबार, ०८ माघ २०८१

विराटनगर । कोशी प्रदेशसभाका सांसदहरूले गत असोजमा आएको बाढीबाट पीडित बनेको जनतालाई राहत र क्षतिपूर्ति अझै नदिएको, भौतिक संरचनाको पुनर्निर्माण अगाडि नबढाएको भन्दै सरकारको आलोचना गरेका छन् । केही सांसदहरूले भने झापा, मोरङ र सुनसरीमा देखिएको हात्ती आतङ्क रोक्न पनि माग गरेका छन् । 

कोशी प्रदेशसभाको मंगलबार बसेको प्रदेशसभा बैठकमा शून्य समय लिएर बोल्दै सांसद मैया श्रेष्ठले पाँचथरमा बाढी पहिरोका कारण भएको भौतिक क्षतिको पुनर्निर्माणको काम नभएको बताइन् । ‘पाँचथरमा धेरै नागरिकहरू पीडामा छन् । राहतको पर्खाइमा बसेका नागरिकहरू अहिले पनि चिसोमा बस्न बाध्य छन् । दुःख पीडाको बेलामा नै सरकार चाहिने हो । अब ढिला नगरी नागरिकलाई सुरक्षित स्थानमा वासस्थानको व्यवस्था होस्,’ उनले भनिन् । 

यस्तै सांसद कमलप्रसाद जबेगूले बाढीले पाँचथरमा ५ वटा पुल बगाएको भए पनि पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताए । ‘विपद् राहत कोषमा रकम सङ्कलन भएको जानकारी पाएका थियौँ । सङ्कलन भएको रकम के कति पाँचथरमा पठाइयो ? त्यो कुन कार्यमा खर्च गर्ने हो ? जवाफ माग गर्दछु,’ उनले भने, ‘वर्षाको समय सुरु हुन लाग्यो । पुनः निर्माण, राहत र क्षतिपूर्तिबारे कहिले निर्णय हुन्छ ? कहिले निर्माण हुन्छ ?’

सांसद प्रेमराज थाम्सुहाङले पनि बाढी, पहिरोको कारण क्षतविक्षत बनेको पूर्वाधारको पुनः निर्माण कहिले हुन्छ भन्दै प्रश्न गरे । ‘क्षतविक्षत भएको पूर्वाधारको निर्माण कहिले सुरु गर्ने ? निजी घरहरू ध्वस्त भएको छ । यी घरहरू सरकारले निर्माण गर्छ कि गर्दैन ? किसानले खेती गर्ने खेतहरूको नामोनिसाना छैन । खेतहरू बगर भएको छ । त्यस्तो अवस्था भोगेका किसानले राहत पाउँथ्यो कि पाउँदैन ?,’ उनले भने । 

सांसद सविना बजगाईले भने बलात्कार मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका झापा बिर्तामोडका पूर्वप्रमुख ध्रुवकुमार सिवाकोटीलाई अस्पतालमा राखिएको भन्दै विरोध गरिन् । ‘बलात्कारको कसुरजन्य आरोपमा पुर्पक्षमा थुनामा पठाइएका व्यक्तिलाई किन अस्पतालमा राखिएको छ ? जिल्ला अदालतबाट आएको आदेशहरूलाई यसरी नै पालना नगर्ने हो ? सानालाई ऐन ठुलालाई चैन हो ?,’ बजगाईले प्रश्न गरिन् । 

यस्तै सांसद शोभा चेम्जोङले मोरङमा हात्ती आतङ्कले बस्तीहरू त्रसित भएको बताइन् । ‘मोरङमा एक महिनामै तीन जनाको मृत्यु भएको छ । हात्ती धपाउन स्थानीयहरू रातभर जाग्राम बसेका छन् । तर, पनि हात्ती धपाउन सकेको अवस्था छैन,’ चेम्जोङले भनिन्, ‘हात्तीले गरेको क्षतिको क्षतिपूर्ति, राहत दिनका लागि बिमा लगायतका कार्यक्रम ल्याउन माग गर्दछु । राहतमा एकरूपता कायम गर्न स्थानीयले माग गरेका छन् । स्थायी रूपमा हात्ती धपाउन सुरक्षा दस्ता निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

सांसद तिलचन पाठकले पनि झापा, मोरङ र सुनसरीमा हात्ती आतङ्क रहेको बताए । ‘हात्ती आतङ्कले सर्वसाधारण त्रसित छन् । हात्ती खेदाउने नाममा चोरीका घटना बढेका छन् । बिहानी कक्षामा पढ्ने विद्यार्थी भयभीत छन् । उचित समयमै नियन्त्रणको उपाय खोज्न र पीडितलाई राहत र क्षतिपूर्तिको माग गर्दछु,’ उनले भने । 

सांसद भीम पराजुली मल अभाव सुरु भएको बताए । सांसद रामदेव यादवले सुनसरी, मोरङ र झापामा मकै खेती बढिरहेको भएपनि सिजनमा मल नभएको गुनासो गरे । ‘मलको अभाव छ । किसानलाई मल पुगेको छैन । कृषि ज्ञान केन्द्र, कृषि सामाग्री कम्पनीमा पनि मल छैन । डिएपी आउँदा युरिया छैन । युरिया आउँदा डीएपी हुँदैन,’ यादवले भने, ‘हामी लगानी सम्मेलन गर्ने भन्छौँ । तर, मलको व्यवस्थापन गर्न सकिरहेका छैनौँ ।’

सांसद गोम्बु शेर्पाले प्रदेश सरकारले उपलब्ध गराउने भनेको प्राणघातक रोगहरूको स्वास्थ्य सहायता जनताले सात महिनासम्म नपाएको बताए । ‘बजेटमा भएको व्यवस्था अनुसार कार्यविधि नबन्दा उनीहरूले सहुलियत पाउन सकेका छैनन् । सात महिनासम्ममा पनि किन कार्यविधि नबनेको हो । धेरै नागरिकहरू उपचार सहायता नपाएर ज्यान गुमाउन बाध्य छन् । यसको जिम्मेवार को हो ? प्रदेश सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ?,’ उनले प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप