बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि प्रिन्सिपल कार्यालयमा लगाएको ताला डेढ महिनापछि खुल्यो

मङ्गलबार, ०८ माघ २०८१, १८ : १३
मङ्गलबार, ०८ माघ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय)मा लगाइएको ताला खुलेको छ । माओवादी निकट अखिल क्रान्तिकारीसहित पाँच विद्यार्थी संगठनहरूले गत मंसिर २५ गते लगाएको ताला मंगलबार खुलेको हो ।

पाँच विद्यार्थी संगठन र क्याम्पसबिच सहमति भएपछि ताला खुलेको हो । अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले सहमति भएसँगै ताला खुलेको बताए । विद्यार्थीहरूले उठाएका विषयमा छानबिन गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने सहमति भएको हो ।

विद्यार्थी संगठनहरूले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको विषयमा छानबिन गर्न माग राखेका थिए । उच्चस्तरीय समिति बनाएर छानबिन गर्ने सहमति भएपछि ताला खोलिएको अध्यक्ष ऐरले बताए ।

पुस ६ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको एनपीएलको उद्घाटन खेलमा स्ववियुको नाममा पार्किङ शुल्क उठाइएको थियो । उक्त शुल्क अपारदर्शी ढंगले उठाएको भन्दै पाँच विद्यार्थी संगठनहरूले त्यसको छानबिन गर्नुपर्ने माग राख्दै प्रिन्सिपल कार्यालय लगायतका विभिन्न निकायमा तालाबन्दी गरेको थियो । छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने, पार्किङ शुल्क मार्फत उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्नुपर्ने, उक्त कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने माग संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट राखिएको थियो । उनीहरूले प्रिन्सिपललाई विश्वविद्यालय प्रवेशमा समेत निषेध गरिएका थिए ।

अखिल क्रान्तिकारीसँग अनेरास्ववियू, अखिल छैटौँ, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियनले ताला लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप