मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा

मङ्गलबार, ०८ माघ २०८१, १६ : २२
मङ्गलबार, ०८ माघ २०८१

काठमाडौँ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ समीकरण पुरा भएको छ । मंगलबार सम्पन्न बागमती प्रदेश र मधेस प्रदेशबिचको खेलसँगै समूहगत चरण सकिएको हो । 

उक्त खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई सात विकेटले हरायो । टस हारी ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले १५.५ ओभरमा अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो । जवाफमा बागमती प्रदेशले ६.४ ओभरमै केवल तीन विकेट गुमाएर ४४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । 

समूह ‘ए’ बाट एपीएफ क्लब सात अंकसहित पहिलो र सुदूरपश्चिम प्रदेश ६ अंकसहित दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुग्न सफल भए । पाँच अंकसहित तेस्रो भएको लुम्बिनी प्रदेश, एक अंकसहित चौथो भएको गण्डकी प्रदेश र एक अंकसहित पाँचौँ भएको कर्णाली प्रदेश भने उपाधि होडबाट बाहिरिए ।

यसैगरी, समूह ‘बी’ को समीकरण भने निकै रोचक रह्यो । तीनवटा टोलीले चार–चार अंक हात पारे । तर, नेट रन रेटका आधारमा त्रिभुवन आर्मी क्लब पहिलो र बागमती प्रदेश दोस्रो हुँदै ‘सुपर–४’ चरणमा प्रवेश गरे । 

समान चार अंक बटुले पनि कोशी प्रदेश नेट रन रेटमा पछि परेका कारण तेस्रो बन्यो । बागमती प्रदेशको नेट रन रेट १.५९३ र कोशी प्रदेशको नेट रन रेट १.२६१ रह्यो । तीनवटै खेलमा पराजित भएको मधेस प्रदेश तालिकामा चौथो भयो । 

प्रतियोगिताको ‘सुपर–४’ चरणमा बिहीबार एपीएफ क्लबले बागमती प्रदेशको र सुदूरपश्चिम प्रदेशले आर्मी क्लबको सामना गर्नेछन् । ‘सुपर–४’ चरणमै शुक्रबार एपीएफ क्लब र आर्मी क्लब तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबिच खेल हुनेछ । 

त्यसपछि अंक तालिकाको सबैभन्दा माथि रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल शनिबार खेलाइने छ । प्रतियोगिता अन्तर्गत बुधबार कोशी प्रदेश र मधेस प्रदेशबिच प्लेअफ चरणको खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप