चार बैंकको निष्क्रिय कर्जाले ५ प्रतिशतको सीमा नाघ्यो
काठमाडौँ । चार वाणिज्य बैंकको निष्क्रिय कर्जाले सामान्य सीमालाई पार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) को वित्तीय विवरण अनुसार ती बैंकहरुको निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा माथि पुगेको हो ।
यी बैंकहरुमा कुमारी, नेपाल इनभेष्टमेन्ट, लक्ष्मी सनराइज र प्रभु बैंक रहेका छन् ।
यसैगरी ६ बैंकको निष्क्रिय कर्जा अनुपात पनि ५ प्रतिशत हाराहारीमै छ । नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक र कृषि विकास बैंकको यस्तो अनुपता ४.९० प्रतिशतभन्दा माथि छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत भन्दा माथि छ ।
एनएमबि बैंक, नेपाल एसबीआई बैंक, र सानिमा बैंकको निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा माथि हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक १.७१ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम निष्क्रिय कर्जा भएको दोस्रो बैंकको रुपमा रहेको छ ।
पाँच प्रतिशतसम्मको निष्क्रिय कर्जा अनुपातलाई बैंकिङ क्षेत्रमा सामान्य मानिन्छ । त्योभन्दा माथिको निष्क्रिय कर्जाको अवस्था हुँदा नियामक निकाय सतर्क हुने गर्छन् । नेपाल राष्ट्र बैंकले समेत सोभन्दा धेरै निष्क्रिय कर्जा भएका बैंकमा अफसाइट र अनसाइट सुपरभिजनलाई विशेष चासो दिएर हेर्ने गरेको थियो । अहिले भने समग्र क्षेत्रमै निष्क्रिय कर्जा बढेकोले राष्ट्र बैंक सतर्क भएको देखिन्छ ।
राष्ट्र बैंकको व्यवस्था अनुसार ऋणको नियमित किस्ता भुक्तानी नभएको तीन महिनाभन्दा बढी अवधि भएको कर्जालाई यो वर्गमा राख्नुपर्छ ।
- यस्तो छ निष्क्रिय कर्जाको तुलनात्मक अवस्था
गत वर्ष पुस तथा यही वर्षको असार मसान्तसम्म सबै वाणिज्य बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम थियो । यो वर्ष सञ्चालनमा रहेका बैंकमध्ये १९ बैंकको निष्क्रिय कर्जा अनुपात बढेपछि अहिलेको अवस्था देखिएको हो ।
अघिल्लो वर्षको पुस मसान्तको अवस्थालाई तुलना गरेर हेर्ने हो भने यो अवधिमा एनआईशी एशिया बैंकको निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै ३.४२ प्रतिशत विन्दुले बढेको देखिन्छ । त्यसबाहेक अन्य १० बैंकको निष्क्रिय कर्जा अनुपात १ प्रतिशत भन्दा धेरैले बढ्दा ८ बैंकको यस्तो कर्जा अनुपात १ प्रतिशत विन्दु भन्दा कमले बढेको देखिएको छ । निष्क्रिय कर्जा घटाउनेमा भने एभरेष्ट बैंक मात्रै रहको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाको रिकभरीमा देखिएको समस्या दुई किसिमबाट निर्देशित भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बताउँछन् । उनका अनुसार पहिलो बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न चलाइएको अराजक गतिविधिको कारण ऋणको सावाँ ब्याज नियमित रुपमा भुक्तानी गर्न सक्षम व्यक्तिले पनि त्यस्तो सावाँ तथा ब्याजको किस्ता नतिरिरहेको देखिन्छ ।
अर्कोतिर, कतिपय समस्या चाहिँ आर्थिक मन्दी र प्राकृतिक प्रकोपका कारणले समेत भएका छन् । असोजमा आएको वाढी पहिरो, त्यसअघिदेखि बजारमा देखिएको मन्दीका कारण अहिले धेरै साना तथा मझौला व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् भने मागमा आएको कमीका कारण निर्माण तथा उत्पादनमूलक क्षेत्रको ऋणमा समस्या आएको उनको भनाइ छ ।
कृषि विकास बैंकको वार्षिकोत्सव समारोहमा गभर्नर अधिकारीले अराजक गतिविधि गरेर ऋण नतिर्ने विषयमा सरकार राष्ट्र बैंक सजग रहेको बताए । यस्तो गतिविधिको अवस्था लामो नजाने उनको भनाइ छ ।
आर्थिक मन्दीका कारण स्वभाविक रुपमा असर परिरहेको क्षेत्रलाई भने राष्ट्र बैंकले आवश्यकता अनुसार सहुलियत दिएको उनको दाबी छ ।