माघ १८ बाट ‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’, ४७ देशका ९८ फिल्म प्रदर्शन हुने
काठमाडौँ । विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । आयोजक नेपाल चलचित्र तथा संस्कृति केन्द्रले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवका विभिन्न पक्षहरूबारे जानकारी दिइयो ।
कार्यक्रममा महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रबाट ४७ देशका ९८ वटा चलचित्रहरू छानिएको आयोजकले जनाएको छ । ‘हामीलाई प्राप्त करिब ४०० वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्रहरू चयन गरेको छ’, संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले भने,‘महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् ।’ दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको सुवेदीको भनाइ छ ।
महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् । नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवं निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन छन् ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन् । यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र छानिएका छन् ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ । चलचित्रको उदघाटन समारोह काठमाडौंको दरबारमार्गस्थित क्युएफएक्स सिनेमा राईजिङ मल चलचित्र घरमा आयोजना गरिनेछ । उदघाटनपछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवं अन्तरक्रिया गरिनेछ ।
त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकारलगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ ।
कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक
-
नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
-
पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
-
निर्माण सामग्रीका मूल्यवृद्धिदेखि ठुला आयोजनामा भ्रष्टाचार सम्बन्धी उजुरी लेखा समितिमा
-
बाढी पीडितलाई क्षतिपूर्ति र किसानलाई मल दिन सांसदहरूको माग
-
प्रदेश खारेज नगरे देश अझै समस्यामा पर्नेछ : चित्रबहादुर केसी