मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
अमेरिकी नीति

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश के हो ?

मङ्गलबार, ०८ माघ २०८१, १२ : २९
मङ्गलबार, ०८ माघ २०८१

वासिङ्टन डीसी । सरकारी नीतिमा आफ्नो छाप छोड्न चाहने कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा महत्त्वपूर्ण अस्त्र हो । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प यसका लागि  समय खेर फाल्न चाहँदैनन् । 

राष्ट्रपति बनेयता उनले लगभग २०० कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसमा कानुनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतया बाध्यकारी नभएका केही घोषणाहरू समावेश छन् ।

शपथ लिनुअघि नै ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित कार्यक्रमलाई प्रवर्द्धन गर्ने, सरकारी दक्षता विभाग गठन गर्ने, सन् १९६३ मा जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित रेकर्डहरू सार्वजनिक गर्ने र आइरन डोम मिसाइलहरू दिने वाचा गरेका थिए । यो बाहेक पनि सेनालाई डिफेन्स शिल्ड सिर्जना गर्ने आदेश दिने र सेनाबाट विविधता, समानता र समावेशीकरण (डीआई) नीति हटाउने भनेका थिए ।

आफ्नो प्रारम्भिक कार्यकारी आदेशमा ट्रम्पले आप्रवासन, टिकटक र घरबाट काम गर्ने (वर्क फ्रम होम) सम्बन्धमा प्रमुख निर्णयहरू लिएका छन् । आफ्नो अघिल्लो कार्यकालमा ट्रम्पले लगभग २२० कार्यकारी आदेशहरू जारी गरेका थिए । यीमध्ये केहीलाई अदालतमा चुनौती दिइएको थियो ।

  • के हो कार्यकारी आदेश ?

राष्ट्रपतिले सङ्घीय सरकारलाई जारी गरेको लिखित आदेशलाई कार्यकारी आदेश भनिन्छ । यसलाई कांग्रेसको स्वीकृतिको आवश्यकता पर्दैन । यी आदेशहरू नीति उल्टाउनेदेखि लिएर कुनै पनि साधारण सरकारी कामसम्म हुन सक्छन् ।

सन् २०१७ मा दुई विवादास्पद तेल पाइपलाइन निर्माणको लागि ट्रम्पको स्वीकृति र त्यसभन्दा पहिले सन् २०१५ मा क्रिसमसको पूर्वसन्ध्यामा सरकारी विभागहरूका लागि आधा दिनको बिदाका लागि बराक ओबामाको निर्देशन यसका केही उदाहरण हुन् । कार्यकारी आदेश जारी गर्ने अधिकार अमेरिकी संविधानको धारा २ मा दिइएको छ । ‘कार्यकारी शक्ति राष्ट्रपतिमा निहित हुनेछ,’ यस धारामा भनिएको छ ।

  • किन कार्यकारी आदेश जारी गर्छन् राष्ट्रपति ?

कहिलेकाहीँ यी आदेशहरू युद्धको समयमा वा घरेलु स्तरमा सङ्कटबाट बच्न दिइन्छ । सन् १९४२ को फेब्रुअरीमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टले लगभग १ लाख २० हजार जापानी–अमेरिकीहरूका लागि हिरासत केन्द्रहरू सिर्जना गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

सन् १९५२ मा राष्ट्रपति ह्यारी ट्रूम्यानले हडतालबाट बच्न स्टील उद्योगलाई सरकारी नियन्त्रणमा ल्याउने आदेश जारी गरेका थिए ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले औपचारिक रूपमा अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग्याएका थिए । सन् २०२१ को जनवरी २० मा राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दिनमा बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने प्रक्रिया सुरु गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

  • कार्यकारी आदेशलाई उल्टाउन सकिन्छ ?

कार्यकारी आदेशले पनि कानुनको दायराभित्र काम गर्नुपर्छ । सिद्धान्ततः प्रत्येक त्यस्तो आदेशको वैधता र ढाँचा कानुनी सल्लाह कार्यालयद्वारा समीक्षा गरिन्छ । तर, सधैँ यस्तो हुँदैन ।

कुनै आदेश स्वीकार्य सीमाभन्दा बाहिर रहेको ठानियो भने यो कानुनी समीक्षाको विषय हुन सक्छ । अमेरिकी कंग्रेसले कार्यकारी आदेश खारेज गर्न कानुन पनि पारित गर्न सक्छ । तर राष्ट्रपतिसँग यो कानुनमाथि भिटो लगाउने पनि अधिकार हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप