मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी सम्झना

मङ्गलबार, ०८ माघ २०८१, ११ : ३१
मङ्गलबार, ०८ माघ २०८१

पशुपति क्याम्पसको हातामा सम्झना नाछिरिङ राई विद्यार्थी साथीहरुसँग छलफल गरिरहेको अवस्थामा भेटिनु नौलो होइन । सोलुखुम्बु, सोताङको पावे घर भएकी सम्झना विद्यार्थीबिचमा निकै लोकप्रिय मानिन्छिन् ।

आफ्नी आमाको विद्रोही चेत र गाउँमा एक दलित परिवारमाथि समाजले गर्ने व्यवहार देखेरै राजनीतिमा सम्झनाको रुचि बढेको हो । 

सम्झनाको गाउँमा एउटा मात्र दलित घर छ । सम्झनाले बाल्यकालमा त्यस दलित परिवारले भोगेका विभेदलाई नजिकबाट नियालिन् । कमजोर आर्थिक अवस्थाको त्यस परिवारले समाजका अनेक विभेद र शोषण सहेको थियो । गाउँमा कोही बिरामी पर्‍यो भने बोक्सी लागेको आरोप त्यही परिवारमाथि जान्थ्यो । हेला–होँचो वा फोहोरसम्बन्धी काम त्यही परिवारको भागमा पथ्र्यो । त्यस परिवारको अवस्थाप्रति उनकी आमा दुःखी हुन्थिन् । यही बेला माओवादी जनयुद्ध चलिरहेको थियो । जनयुद्ध चलिरहँदा त्यो परिवारले केही राहत महसुस गरेको थियो । जुन कुरा सम्झनाले आमाबाट सुनिरहिन्थिन् । यसरी सम्झनाको मनमा परिवर्तनका झिल्काहरु घुसेका थिए । ‘हुन त हाम्रो परिवारबाट बाबा, आमा, काकाकाकी कोही पनि राजनीतिमा लाग्नुभएको थिएन । तर घरमा कुरा हुँदा माओवादीले ठिकै गरेको चर्चा हुन्थ्यो,’ सम्झना भन्छिन्, ‘बिस्तारै मैले पनि बुझ्दै आएँ, माओवादी आन्दोलन र पार्टी मलाई ठिक लाग्यो । अहिले दलित हक, महिला हक जस्ता मौलिक हक संविधानमा लेखिनुमा पनि माओवादी आन्दोलनकै भूमिका छ ।’  

उनकी आमाको विवाह १३ वर्षको उमेरमा भएको थियो । सम्झनाले गाउँघरमा महिलाहरुको अवस्था पनि दयनीय देख्थिन् । समाजमा छोरीलाई पढाउनु हुँदैन, छोरीले घरभित्र र मेलापातको काम मात्रै गर्नुपर्छ भन्ने भाष्य समाजमा स्थापित थियो । त्यस्ता मूल्य–मान्यता अहिले केही परिवर्तन भएको तर महिला लगायत उत्पीडित वर्गले अझै संघर्ष गर्नुपर्ने सम्झनाको बुझाइ छ । samjhana rai

‘देश जनयुद्धमा होमिइरहेका बेला मलाई लाग्थ्यो, यो देशमा बेकार युद्ध भइरहेको छ तर राजनीतिक चेत बढ्दै जाँदा लाग्यो— यो देशमा योभन्दा अझै भीषण युद्धको खाँचो छ,’ सम्झना भन्छिन्, ‘अहिले पनि जातीय भेदभाव तथा छुवाछुत, आर्थिक असमानता समाजमा निर्मूल भएकै छैन नि ! भ्रष्टाचार गरेर अकुत कमाउनेहरूको रवाफले समाजमा नयाँ वर्गको जन्म भएको छ ।’

परिश्रम गर्ने वर्गभन्दा कानुनको केस्रा देखाएर दुःख दिनेहरूको रजगजले सायद विद्रोहको नयाँ ढाँचा खोजिरहेको उनलाई लाग्छ । 

‘विकेन्द्रीकरण वा संघीयताको अभ्यासमा हाम्रो शासन व्यवस्था चुक्दा भएका उपलब्धि पनि अहिले गुम्ने डर छ,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा होस् वा चियापसलमा होस्, असन्तुष्टि स्वर सुनिन्छन् । तिनले विद्रोहतर्फ नै संकेत गरेका छन् ।’ 

सोलुखुम्बुको विकट बस्तीदेखि संघीय राजधानी काठमाडौँ आएपछि उनले संसार फरक पाइन् र स्वअध्ययन समेत बढाइन् । माइक्रो कुर्दाको समय पनि अध्ययनमै भेटिने सम्झना भन्छिन्, ‘सबै गल्ती आफैँ गर्न थालियो भने एक बारको जिन्दगी कम हुन्छ, त्यसैले अरु सफलता वा विफलताबाट सिक्न अध्ययन जरुरी हुन्छ ।’

पछिल्ला वर्ष नेपालको राष्ट्रिय राजनीतिमा विभिन्न बहसहरु चलिरहेको र ती बहसले समाजलाई सकारात्मक मार्गतर्फ लैजाने सम्झनाको बुझाइ छ । यतिखेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को शुभेच्छुक संगठन अखिल क्रान्तिकारीले विद्यार्थी नेताको उमेर तोक्दै ३२ वर्ष राखेपछि यसले युवामा नयाँ बहस सिर्जना गरेको छ । यसले नेपालमा राजनीतिक चेतना र सामाजिक व्यवहारमा पनि केही महत्त्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ । ‘नेपाली राजनीतिमा समाजको चेतनास्तरमा प्रगति भइरहेको छ । जनताले आफूहरूको अधिकार र कर्तव्यलाई बुझ्न थालेका छन्, जसका कारण चुनावमा भाग लिने प्रतिस्पर्धा बढेको छ,’ सम्झना भन्छिन्, ‘स्वतन्त्र उम्मेदवार नै सुशासनको नारा दिएर आउने क्रम बढेको छ । सूचना र प्रविधिको विकासले जनचेतनालाई अघि बढाएको छ ।’ 

बेरोजगारी, सामाजिक असमानता, भ्रष्टाचार र अस्थिर राजनीतिक प्रणालीले युवाहरूमा निराशा बढेको र यी समस्याको समाधान पनि युवाकै नेतृत्वमा हुनुपर्ने उनको बुझाइ छ ।
अखिल क्रान्तिकारीको आउँदै गरेको अधिवेशनमा सचिव उठ्ने हल्ला छ नि भन्ने जिज्ञासामा आशावादी हुँदै सम्झना भन्छिन्, ‘परिआएको खण्डमा पछि पर्ने कुरा त हुँदैन !’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय तामाङ
विजय तामाङ
लेखकबाट थप