बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
फिल्मी संवाद

सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि

बुधबार, ०९ माघ २०८१, ०६ : ३०
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । मिस नेपाल प्लेटफमबाट फिल्ममा होमिएकी हुन्, अभिनेत्री सृष्टि श्रेष्ठ । फिल्मी करियर सुरु भएको एक दशकको अवधिमा उनले करिब दर्जन हाराहारीको फिल्ममा अभिनय गरेकी छन् । अनमोल केसी अभिनीत ‘गाजलु’बाट फिल्म डेब्यु गरेकी उनलाई ‘पोइ पर्‍यो काले’, ‘द रेड सुटकेस’, ‘द सेक्रेट्स अफ राधा’, ‘माइकल अधिकारी’, ‘चिसो एस्ट्रे’, ‘बाँध मायाले’, ‘रोमियो एन्ड मुना’, ‘लालपुर्जा’ जस्ता फिल्मले चर्चा त दिलायो तर व्यावसायिक सफलता भने पाउन सकिनन् । 

पछिल्लो पटक उनको नयाँ फिल्म ‘मिसिङः केटी हराएको सूचना’ शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मबाट उनले व्यावसायिक सफलता र चर्चा दुवै पाउने आस गरेकी छन् र बेलाबेलामा अभिनेता सौगात मल्लसँगको प्रेम र ब्रेकअपको कारणले समेत चर्चामा छाउने अभिनेत्री सृष्टिलाई रातोपाटीले राखेको केही प्रश्न:

  • अहिले केमा व्यस्त हुनुहुन्छ ?

– मेरो अभिनय रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । त्यसैको प्रचार प्रसारमा छु । केही समयको अन्तरालपछि नयाँ फिल्म रिलिज हुँदैछ । एकदमै उत्साहित छु ।

  • ‘रेड सुटकेस’पछि धेरै ग्याप देखियो नि ? 

– ‘रेड सुटकेस’ गतवर्षको चैत्रमा प्रदर्शनमा आएको थियो । त्यसपछि आउन लागेको ‘मिसिङः केटी हराएको सूचना’ नै हो । रिलिजका हिसाबले लामो समयदेखि पनि यो वर्ष मैले धेरै फिल्ममा काम गरेको छु । फिल्म अब निरन्तर आउँछ । 

  • ‘मिसिङः केटी हराएको सूचना’ कस्तो फिल्म हो ?

– दुई पात्र जसले पहाडी र तराई मुलुकको प्रतिनिधित्व गरेको छ । उनीहरूको डेटिङ एप मार्फत भेट हुन्छ । कहिल्यै नचिनेको कोटा केटी डेटिङ जान्छन् । त्यसपछि उनीहरूको जीवनमा के–के घटना घट्ट । त्यो नै फिल्म हो ।

  • दर्शकले यो फिल्म किन हेर्ने त ?

– यो एकदमै रमाइलो फिल्म हो । यात्रा गर्दा गाह्रो पनि हुन्छ, रमाइलो पनि हुन्छ । एक्साइटमेन्ट पनि हुन्छ । यो फिल्म त्यस्तै हो । दुई दिनमा दुई जनाले सँगै यात्रा गरेको कथामा फिल्ममा छ । फिल्म एकदमै रमाइलो छ । 

  • किन अभिनय गर्न मन लाग्यो यो फिल्म ?

– पहिलो कुरो त यसका निर्देशक दीपेन्द्र गौचन हुनुहुन्छ । उहाँ एकदमै लिजेन्ट व्यक्ति, धेरै पहिले नेपालमा उजेली जस्तो सिरियल दिनु भएको थियो । त्यसको अलवा नेपालमा मुमिन पनि उहाँले ट्रान्सलेट गर्नु भएको हो । हामीले बच्चा बेलामा रमाइलो गर्ने मुमिनमा काम गर्ने व्यक्ति भएकोले पनि हो । उहाँ विदेशमा पनि फिल्म मेकिङको टिजर हुनुहुन्छ । उहाँसँग काम गर्न पाउनु एउटा भाग्य हो । अर्का कुरो फिल्मको कथा, कलाकार र टिम पनि मनपर्‍यो ।

  • बलिउडमा ‘लापता लेडिज’ आएपनि नेपालमा ‘केटी हराएको सूचना’ बन्यो भन्छन् नि ?

– हाम्रो फिल्मको नाम ‘केटी हराएको सूचना’ राखी बलिउडमा ‘लापत्ता लेडिज’ आएको हो । फिल्मको कुनैपनि विषयवस्तु उक्त फिल्मसँग मिल्दैन ।

  • अभिनेता नाजिर हुसेनसँग पहिलो पटक जोडीको रूपमा देखिँदै हुनुहुन्छ । अभिनय अनुभव कस्तो रह्यो ?

– फिल्ममा जोडी नाजिर भन्दैमा म एकदमै खुसी थिए । साथीको माध्यमबाट चिनेको भएपनि एकअर्कासँग नजिक थिएनौँ । म नाजिरको काम र अभिनय यात्रा सबै नोटिस गर्थेँ । उनीसँग काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । किनभने धेरैले रिलमा तिमीहरूको जोडी सुहाउँछ भन्थे । नाजिरको मन बच्चाको जस्तो छ । उसले जहिले पनि राम्रो कुरो गर्छ । आफ्नो कुरोले कसैलाई पिडा नहोस् भनेर धेरै ख्याल गर्छ । कलाकारको रूपमा पनि अब्बल कलाकार हो । मिहिनेती पनि छ । 

  • ‘गाजलु’पछि हिट फिल्म दिनसक्नु भएन भनिन्छ नि ?

– त्यो हो । ‘गाजलु’पछिका सबै फिल्म मैले कथा हेरेर आफ्नो दिल र दिमागले सोचेर रोजेका फिल्म हुन् । फिल्मले व्यवसाय नगरेपनि चर्चा भने हरेक फिल्मको छ । त्यसैले अभिनय गरेको फिल्मका कारण मलाई पछुतो छैन । किनभने मेरो हरेक फिल्मले मलाई मसँग नजिक गराएको छ । व्यावसायिक सफलता भन्दा ठुलो कुरो आत्मसन्तुष्टि हो । मैले राम्रो राम्रो प्रोजेट र राम्रो राम्रो टिमसँग काम गरिरहेको छु । त्यसबाट मेरो क्षमता पनि बढेको छ । फिल्म कर्मसियल सफल पनि होस् भन्ने लाग्छ । त्यो मेरो हातमा हुँदैन ।

473006131_1146047523548001_8091003794172982292_n

  • धेरै फिल्म असफल, तर पनि अभिनय यात्रा निरन्तर जारी छ । के कुरोले प्रेरित गरिरहेको छ ?

– म जीवनमा जे आउँछ । त्यो हृदयदेखि नै स्विकारेर गरेर विद्यार्थी जसरी अगाडि बढिरहेकी छु । मिस नेपालदेखि अभिनेत्रीसम्मको यात्रा मेरो जीवनमा त्यसरी नै आयो । अभिनय गर्न पनि पात्र आफूसँग कनेक्ट हुनुपर्छ । आफूसँग आफैलाई कसरी कनेक्ट गर्ने भनेर यो फिल्डले सिकायो । यो यात्रा मेरो लागि एकदमै महत्त्वपूर्ण यात्रा हो । जति जति काम गर्छु त्यति नै आफूमा परिवर्तन पाइरहेको छु । अभिनय मेरा लागि प्रार्थना जस्तो लाग्छ । 

  • अभिनयमा अब गर्न मन लागेको भूमिका पनि छ कि ?

– थियो, एउटा फिल्ममा त्यो भूमिका गर्दै छु । अहिले विस्तृत भन्न मिल्दैन ।

  • अभिनेता सौगात मल्लसँग कहिले प्रेम, कहिले ब्रेकअपको हल्ला चल्यो । एक–अर्कासँगै काम गरिरहनु भएको छ । ब्रेक अप भएकै हो र ?

– ब्रेक अप भएको हो । त्यो सबैलाई थाहा छ । अहिले हामी बिच केही छैन । त्यो गाह्रो समय थियो मेरा लागि । अहिले हामी एकदमै व्यावसायिक रूपमा काम गरिरहेका छौँ । उहाँलाई अझै पनि रेस्पेट गर्छु । उहाँको राम्रो होस् भन्ने छ । भविष्यका के हुन्छ थाहा छैन । तर कसैप्रति नराम्रो भावना छैन । मेरो पनि छैन, उहाँको पनि छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप