मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

ढुलमुले वामदेव : माधवलाई एकताको आश्वासन, ओलीसँग बार्गेनिङ

मङ्गलबार, ०८ माघ २०८१, १२ : ००
मङ्गलबार, ०८ माघ २०८१

काठमाडौँ । राष्ट्रिय राजनीतिमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अहिले ढुलमुले र अस्थिर नेताका रूपमा परिचित छन् । तत्कालीन एमालेभित्र ५० को दशकसम्म प्रभावशाली नेताको छवि बनाएका गौतम ६० को दशकपछि लोकप्रियता खस्किँदै गएको विश्लेषण हुने गरेको छ । 

स्वभावले हक्की भए पनि उनी बोलीका कुनै ठेगान नभएको नेताकारूपमा आलोचित छन् । पछिल्लो एक महिनाको गतिविधिलाई निहाल्दा गौतममाथि लागेको आरोपलाई पुष्टि गर्ने आधार पर्याप्त छन् ।  

नेकपा (एकीकृत समाजवादी) प्रवेशको तयारीमा रहेका गौतम शीर्ष नेताहरूसँग निरन्तर संवादमा थिए । पुस २ गते बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकमा अध्यक्ष माधव नेपालले गौतमलाई पार्टीमा ल्याउनेबारे छलफल भइरहेको ब्रिफिङ गरेका थिए । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले गौतम पार्टी प्रवेश गर्नेमा सकारात्मक भएको जानकारी सञ्चारमाध्यमलाई गराए । गौतम एकीकृत समाजवादी प्रवेश गर्ने खतिवडाको सूचना मिडियामा राम्रै कभर भयो ।

गौतमलाई तेस्रो तहमा रहने गरी वरिष्ठ तथा सम्मानित नेतामध्ये एक पद दिन अध्यक्ष नेपाल सहमत भएका थिए । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष समेत रहेका गौतमले एकतालाई मूर्तरुप दिन पुस ९ गते महासचिव डिबी कार्कीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन पनि गरे ।

त्यस्तै, एकीकृत समाजवादीबाट नेपालको नेतृत्वमा वरिष्ठ नेता प्रमेश हमाल र बलराम बास्कोटा रहेको तीन सदस्यीय टोली गठन भयो । आन्तरिक गृहकार्यपछि पुस १७ गते नेपाल र गौतमबिच एकीकृत समाजवादीको  केन्द्रीय कार्यालय आलोकनगरमा घनिभूत छलफल भएको थियो । छलफलबाट उत्साहित हुँदै गौतमले १५ दिनभित्र पार्टी एकता हुने सञ्चारकर्मीलाई बताएका थिए ।

गौतमको भनाईलाई थप प्रष्ट पार्दै प्रवक्ता खतिवडाले विचारको विश्लेषण गर्ने, राम्रा नराम्रा पक्षमा बहस जारी राख्ने सहमति भएको र केही दिनमै एकता सम्पन्न हुने दाबी गरेका थिए । तर गौतमले दाबी गरेको १५ दिन पूरा नहुँदै पार्टी एकतामा ‘ब्रेक’ लाग्यो । 

उनी नाटकीय ढंगले १८० डिग्रीमा फर्किए । पूर्वनिर्णयबाट पछि हटेका गौतमले पुरानै पार्टी एमालेमा प्रवेश गर्न लागेको सूचना चुहाए । 

आफूसहित १२ भन्दा बढी नेतालाई केन्द्रीय समिति सदस्य बनाउनुपर्ने उनको प्रस्ताव नेपालले अस्वीकार गरेपछि एकता भाँडिएको बुझिएको छ । माघ ३ गते अध्यक्ष नेपाल र गौतम नेतृत्वको अभियानका वार्ता टोलीका संयोजक कार्कीबिच भएको संवादमा गौतमसहित तीन जना नेतालाई मात्र केन्द्रीय सदस्य बनाउन सकिने नेपालले सन्देश पठाएका थिए ।

यद्यपि एकताबाट नेपाल नै पछि हटेको गौतमले यसअघि रातोपाटीलाई बताएका थिए । ‘माधवजीले महासचिव डिबी कार्कीलाई फोन गरेर तपाईं (डिबी कार्की), वामदेवजी र तुलसी थापालाई केन्द्रीय सदस्य हुने भयो । अन्य नेताहरूको हकमा एकता भइसकेपछि क–कसलाई कहाँ राख्ने भन्ने छलफल हुनसक्छ । त्योभन्दा अर्को हुन सक्दैन भन्नुभएछ,’ रातोपाटीसँग कुरा गर्दै गौतमले भनेका थिए ।

एकीकृत समाजवादीमा प्रवेश गर्ने योजना असफल भएपछि गौतमले माघ ४ गते प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेटावर्ता गरेका थिए । सोही भेटमा आफू एमाले फर्किन तयार भएको गौतमले ओलीलाई बताएका थिए । महासचिव कार्कीका अनुसार एमालेमा गौतमलाई संरक्षक वा वरिष्ठ नेतामध्ये एक पद दिन ओली सकारात्मक देखिएका छन् । एमाले छोड्दा गौतम उपाध्यक्ष थिए । उनीसहित अन्य नेताहरूको व्यवस्थापनको विषयमा माघ ६ गते पनि ओली र गौतमबिच सकारात्मक टेलिफोन वार्ता भएको कार्कीले बताएका छन् ।

  • ढुलमुले चरित्र

प्राध्यापक कृष्ण पोखरेल वामदेव गौतमको चरित्रलाई ढुलमुलेको पराकाष्ठा भएको बताउँछन् । उनी कुशल संगठक भएर पनि अस्थिर चरित्रका कारण राजनीति खस्किँदै गएको पोखरेलको विश्लेषण छ ।

‘ढुलमुलेको पनि यो पराकाष्टा हो । उनी कुशल संगठक हुन् । मनमा लागेका कुरा गरेरै छाड्ने नेता पनि हुन् । २०५१ सालमा पहिलोपटक एमाले सरकारमा गयो । त्यतिबेला उनी उपमहासचिवको रुपमा पार्टी सञ्चालनको अनुभव पनि लिए । २०५४ सालमा पार्टी विभाजन गरेर माले बनाए तर लामो समय अडिएनन् । फेरि एमाले फर्किए,’ उनले भने, ‘गौतममा क्षमता भएर पनि ६० को दशपछि कमजोर बन्दै जानुको पछाडि उनले लिएको ढुलमुले नीति हो । आफूले गरेको कामबाट पछिसम्म कस्तो असर पर्छ भनेर सोच्न नसक्नु उनको कमजोरी हो । ओली नेतृत्वमा आएपछि गौतम प्रयोग हुन थाले । ओलीले प्रधानमन्त्री बनाउँछु भनेर आश्वासन दिए, तर २०७४ को निर्वाचनमा हराइदिए ।’

अहिले पनि ओलीको प्रयोगका कारण एकीकृत समाजवादी प्रवेश रोकिएको हुनसक्ने पोखरेलको विश्लेषण छ । ‘गौतम एकीकृत समाजवादीमा जाने कुराले राष्ट्रिय राजनीतिमा ठुलै अर्थ राख्ने हुँदा ओलीले  आश्वासन दिएर रोकेको हुनसक्छ,’ उनले भने ।  

प्राध्यापक पोखरेलले भनेजस्तै गौतमको लोकप्रियता घटे पनि एमालेको ९ औँ महाधिवेशनसम्म आइपुग्दासम्म पार्टीभित्र उनी जता फर्कियो उही समूह शक्तिशाली हुने वातावरण बन्यो ।

बुटवलमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनमा झलनाथ खनालसँग मिलेर केपी ओलीलाई हराउन भूमिका खेलेका उनी काठमाडौँमा भएको ९ औँ महाधिवेशनमा ओलीसँग मिलेर नेपाललाई हराउन भूमिका खेले । एमालेमा रहँदा कहिले माधव नेपाल समूह त कहिले केपी ओली समूहमा लागेर गौतमले धेरैपटक राजकीय पद प्राप्त गरे ।

२०७५ जेठ ३ गते एमाले र माओवादीबिच एकता भएर नेकपा बनेपछि उनी सचिवालय सदस्य थिए । तर नेकपाभित्र ओली र प्रचण्डबिच अन्तर्विरोध चर्किँदै गएपछि गौतम कहिले ओली समूह कहिले प्रचण्ड–माधवमा लागेर एक अर्कालाई उचाल्ने काम गरेको आरोप लाग्यो । 

२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतद्वारा नेकपा विघटन गरी एमाले र माओवादी साबिक पार्टीमा फर्किए । तर गौतम कुनै समूहमा नलागी नेकपा एकता अभियानमा लागे । अन्ततः २०७८ साल भदौ १८ गते एमाले परित्याग गरी आफ्नै नेतृत्वमा पार्टी गठन गरे । त्यसयता पनि नेकपा ब्युँताउने नाममा कहिले प्रचण्ड कहिले ओली र कहिले नेपाल निवास धाए तर सफल भएनन् । यो पटक एमाले प्रवेश गर्ने गौतमको योजना पनि सफल हुनेमा प्राध्यापक पोखरेलले आशङ्का व्यक्त गरेका छन् ।

वामपन्थी राजनीतिका पुराना र अनुभवी नेता गौतम २०४८, २०५१ को निर्वाचनमा बर्दिया–१ र २०७० सालको संविधानसभा निर्वाचनमा प्युठान–१ बाट निर्वाचित भएका थिए । २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । २०७९ को निर्वाचनमा भाग नै लिएनन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन् । 

२०५३ सालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका उनी २०६५ र २०७० मा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप