अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मनोनयन सुरु, सहमतिको प्रयास जारी
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएकाे छ । बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्म चल्नेछ । २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।
अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापा अध्यक्षका बलिया दाबेदार देखिएका छन् ।
मनोनयन सुरु भए पनि नेताहरूबिच सहमतिमा नेतृत्व छान्ने प्रयास समेत जारी रहेको छ । सोमबार रातिसम्म सहमति जुटाउन फ्याक्शन इन्चार्ज हिमाल शर्मा, कार्यदलका संयोजक तथा पार्टी उपमहासचिव शक्ति बस्नेत, निवर्तमान अध्यक्ष पञ्च सिंह र अध्यक्षका दाबेदारहरूबिच पेरिसडाँडामा छलफल भएको थियो । सो छलफलमा दाबेदारहरूले आ आफ्नै अडान कायमै राखेकोले सहमति जुट्न नसकेको इन्चार्ज शर्माले बताए ।
उमेर हदका कारण ठुलो टिम बाहिरिएको र फेरि निर्वाचन गर्दा अर्को टिम बाहिरिने अवस्था आउने देखिएकोले सहमतिमा नेतृत्व चयनको प्रयास जारी रहने शर्माले बताए ।
विद्यार्थी नेताहरू माहौल आफ्नो पक्षमा पार्न पार्टीका शीर्ष नेताहरूलाई भेट्ने क्रम तीव्र पारेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत लगायत नेताहरूसँग भेटेर आफ्नो पक्षमा लबिङ गरिरहेका छन् ।
नयाँ विधान अनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १६२ केन्द्रीय सदस्यहरू गरी २४३ जनाको निर्वाचनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध उपर छानबिन गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
१० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने र सोही दिन दिउँसो २ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।