ग्वार्को फ्लाइओभर चैतमा निर्माण सकिने, वैशाखभित्र सञ्चालनमा आउने
काठमाडौँ । ग्वार्को फ्लाइओभरको निर्माणको म्याद नाघेको एक महिना बितिसक्दासम्म पनि ८१ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ । अझै १९ प्रतिशत निर्माण कार्य बाँकी रहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक प्रभातकुमार झाले म्यादभित्र निर्माण कार्य नसकिएपछि हर्जाना तिराइँदै निर्माण कार्य भइरहेको बताए ।
‘अन्तिम म्याद पुस ८ गतेसम्म थियो । म्याद सकिएको भोलिपल्टदेखि नै निर्माण कम्पनीलाई हर्जाना तिराउन सुरु गरिएको छ,’ कुल ठेक्का रकमको दैनिक ०.०५ प्रतिशत हर्जानासहित अहिले निर्माण कार्य भइरहेको छ ।’
म्यादभित्र निर्माण सम्पन्न नहुनुमा निर्माण कम्पनीको समस्या प्रमुख कारण रहेकाले नियमअनुसार यस्तो हर्जाना तिराइएको निर्देशक झाको भनाइ छ ।
यस्तै निर्माण कार्यको प्रकृतिअनुसार हर्जाना रकम फरक–फरक रहने पनि उनले बताए ।
केन्द्रकाअनुसार ग्वार्को फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८.०१ रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का सम्झौता गरेको थियो । २०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ (२ वर्ष) को अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो ।
२०८१ पुस ८ गतेसम्म निर्माण सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले चैत मसान्तसम्मका लागि म्याद थप गर्न माग गरेको निर्देशक झा बताउँछन् । तर म्याद थप नगरी निर्माण कम्पनीलाई हर्जाना तिराइएको उनको भनाइ छ ।
निर्देशक झाकाअनुसार यो फ्लाइओभर निर्माण कार्य चैत मसान्तभित्र सम्पन्न हुने देखिएको छ । २०८२ वैशाखसम्म सञ्चालनमा आउने उनको भनाइ छ ।
हालसम्मको प्रगति कति?
ठेक्काअनुसार कम्पनीले निर्माण गर्नुपर्ने मुख्य काम ३० मिटर लम्बाई स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल निर्माण गर्नुपर्नेछ । यस्तै एमएसई वाल (मेकानिकल्ली स्टाब्लाइज्ड) भएको ५०० मिटर सडक कालोपत्रसहित अप्रोच सडक निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त सडकमा कालोपत्रे १२ सेमी अलकत्र हुनुपर्ने, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस हुनुपर्ने सम्झौता छ । साथै ट्राफिक लाइट जडान कार्य पनि कम्पनीले नै गर्नुपर्ने सम्झौता छ । जसमध्ये करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै वित्तीय प्रगति ४५.५४ प्रतिशत भएको छ ।
हालसम्म निर्माण कम्पनीलाई ७ करोड ७७ लाख ३३ हजार ५१५.५९ रुपैयाँ भुक्तानी गरेको केन्द्रले जनाएको छ ।
निर्माण सम्पन्न भएपछि भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएकाले हालसम्म करिब ४६ प्रतिशतमात्रै भुक्तानी गरिएको निर्देशक झा बताउँछन् ।
पुल निर्माणको काम दुई प्रतिशत बाँकी
पुल निर्माण हालसम्म ९८ प्रतिशत सम्पन्न भएको छ । कार्तिक महिनामै पुल निर्माण ९८ प्रतिशत रहेको थियो । जसअनुसार पुल निर्माण कार्य तीन महिना यता कुनै गति लिन सकेको देखिँदैन । पुलमा अब निर्माण गर्न बाँकी २ प्रतिशतमात्रै काम हो । जसमा रेलिङ पेभमेन्ट, रङरोगन आदी काम बाँकी हो । तर हालसम्म काम हुन सकेको देखिँदैन ।
यस्तै एमएसइ वाल भएको अप्रोच सडक निर्माण ८८ प्रतिशत सम्पन्न भएको छ । ५०० मिटर कुल लम्बाई रहेकोमा हालसम्म ४१५ मिटर एमएससी वाल भएको सडक निर्माण भएको छ । अझै ८५ मिटर सडक निर्माण गर्न बाँकी छ ।
हाल क्रंक्रिट प्यानल र ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्याम्प बनाउने कार्य भइरहेको छ । उक्त र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको करिब ४० मिटर र्याम्प झिकेर फेरि राखिँदै छ ।
यस्तै प्रिकास्टस कङ्क्रिट फेसिया प्यानल जडानका लागि शतप्रतिशत सडक तयार गरिएको छ । कोटेश्वरतर्फ ३२० मिटर सडकमा ९२ प्रतिशत प्रिकास्टस कङ्क्रिट फेसिया प्यानल जडान भएको छ । यस्तै सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटरमा अर्थात् ६६.७ प्रतिशत जडान सम्पन्न भएको छ । अब ६० मिटरमा जडान हुन बाँकी छ ।
हाल क्रंक्रिट प्यानल र ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्याम्प बनाउने कार्य भइरहेको छ । उक्त र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको करिब ४० मिटर र्याम्प झिकेर फेरि राखिँदै छ ।
ठेक्का सुरु भएको एक वर्षपछि डिजाइनमा समस्या आएपछि निर्माण कार्य रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअनुसार ठेक्का गरिएकाले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्ने हुन्छ । डिजाइन नमिलेपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले पुनः डिजाइन गरेका थिए । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम नसकिएको व्यवसायीले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतमणिको ‘अब हाँस्छ अनि नाच्छ' शो क्यानडामा
-
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
खेम सेन्चुरीलाई शिव परियारको सुझाव : अरू जस्तो बन्ने प्रयास नगर्नु
-
क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू
-
रित्तो गाग्री लिएर सिंहदरबार जाने हर्क राईको घोषणापछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु