१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ
नेकपा माओवादी केन्द्रले यतिबेला विपक्षी दलहरूको मोर्चा बनाएको छ । विपक्षी मोर्चामा खुलेर देखिएका दलहरूसँग जम्मा ८० सांसद छन् । विपक्षी दलहरूले ८९ सांसदसहित प्रतिनिधि सभाको ठुलो दल रहेको नेपाली कांग्रेसलाई साथ दिने हो भने सत्तारुढ समीकरण फेरिन सक्छ । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहजै विश्वास गर्ने आधार नदेखिएको विश्लेषक बताउँछन् ।
२. रविसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की जिल्ला अदालतबाट भएको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको हो । रविलाई जसरी पनि कारागार पठाउने योजना अनुसार उच्च अदालतमा निवेदन दर्ता गर्न लगाइएको बताइँदै छ ।
३. सुदूरपश्चिममा एमालेलाई धक्का
नेकपा एमालेलाई सुदूरपश्चिममा धक्का लागेको छ । पार्टीका ५९ नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिँदै भीम रावलको अभियानमा संलग्न हुने घोषणा गरेका छन् । रावललाई एमालेले केही अघि पार्टीबाट निष्काशन गरेको थियो ।
४. संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
५. अखिल क्रान्तिकारीमा नेतृत्वका लागि को-को छन् आकांक्षी ?
अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदैछ । भावी नेतृत्वका लागि ३२ वर्ष उमेर हद नलागेका निवर्तमान पदाधिकारी सबैले अध्यक्षको दाबेदार बन्न पाउने छन् । नयाँ निर्देशिका अनुसार अध्यक्ष पदको हकमा आयोजक समितिका पदाधिकारीले मात्र दाबी गर्न पाउने व्यवस्था छ ।
६. पूर्वडीआईजी जोशी धरौटीमा रिहा
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् ।
७. ढुंगा-गिटी र बालुवा उत्खननमा सर्वोच्चको कडाइ
सर्वोच्च अदालतले ढुङ्गा–गिटी र बालुवा उत्खनन सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सहित नेपाल सरकारका विभिन्न निकायलाई पाँच विषयमा परमादेश जारी गरेको छ । वातावरण कानुन समाज नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतले परमादेश जारी हुने फैसला सुनाएको हो ।
८. मूल दायित्वमै कमजोर देखियो कर्णाली प्रदेशसभा
कर्णाली प्रदेश सभा आफ्नो मूल दायित्वमै कमजोर देखिएको छ । कानुन निर्माण गर्ने गति निकै सुस्त हुने र बनाएका कानुन पनि विभिन्न त्रुटिका कारण कार्यान्वयन नहुँदै संशोधन गर्नुपर्ने अवस्था कर्णालीमा देखिएको छ । यस सम्बन्धमा रातोपाटीले विशेष समग्री तयार पारेको छ ।
९. चेकिङमा सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बित
सवारी साधन चेकिङका क्रममा सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित भएका छन् । चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत असई बुद्धिबहादुर भुजेल निलम्बित भएका हुन् ।
१०. प्रधानमन्त्रीलाई भेट्न खाली गाग्री बोकेर आए हर्क साम्पाङ
धरान नगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्रीलाई भेट्न खाली गाग्री बोकेर काठमाडौँ आएका छन् । सोमबार काठमाडौँ आइपुगेका उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार जाने जनाइएको छ ।
११. मधेसका मन्त्री सवार गाडी दुर्घटना
मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुघनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । जनकपुरको रामानन्द चोकमा खानेपानी डिभिजन कार्यालयको गाडी र स्वास्थ्य मन्त्री सिंह सवार गाडी ठोक्किँदा दुर्घटना भएको हो ।
१२. डोनाल्ड ट्रम्पले लिए शपथ
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा