मधेस प्रदेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो कोशी प्रदेश

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ४७ रनले हराएको हो ।
समूह ‘बी’ मा रहेको कोशी प्रदेशले जारी प्रतियोगितामा हासिल गरेको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले हराएको थियो । मधेश प्रदेशको भने यो लगातार दोस्रो हार हो ।
यसअघि, आफ्नो पहिलो खेलमा मधेश प्रदेशको टोली त्रिभुवन आर्मी क्लबसँग १० विकेटले पराजित भएको थियो । जितसँगै दुई खेल खेलेको कोशी प्रदेश चार अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दुई खेल खेलेको आर्मी क्लब दुई अंकसहित दोस्रो र समान खेल खेलेको बागमती प्रदेश पनि दुई अंकसहित तेस्रो स्थानमा आसिन छन् । दुई खेल खेलेको मधेश प्रदेशले भने हालसम्म अंक जोड्न सकेको छैन ।
सोमबारको खेलमा टस जिती पहिले ब्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ५९ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले अर्धशतकीय पाली खेलिन् । ओपनर रुविनाले ५७ रन बनाइन् । उनले ५३ बलको सामना गरी सात चौका पनि हिर्काइन् । टिका शाहले पनि टोलीको खातामा २१ रन थपिन् । उनले १९ बलमा तीन चौका प्रहार गरिन् ।
मधेश प्रदेशकी बलर प्रतिमा शाहले दुई विकेट लिइन् । जवाफी ब्याटिङ गरेको मधेश प्रदेशका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । प्रतिमा शाहले सर्वाधिक १७ रन बनाइन् । उनले ३१ बलमा दुई चौका हिर्काइन् ।
मधेश प्रदेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १४ रन पायो । कोशी प्रदेशका बलर रुविना क्षेत्रीले तीन तथा ज्योति दनवार र एलिसा खडियाले दुई–दुई विकेट हात पारे । रुविना क्षेत्री प्लेयर अफ दि म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने
-
आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा